चैत्र कृष्ण चतुर्दशी : पाहाँचह्रे मनाइँदै, जात्रालाई अवरोध हुने गरी प्रदर्शन नगर्न आग्रह

 चैत १५, २०८१ शुक्रबार १०:१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकाका नेवार समुदायले दशैँपछिको ठूलो पर्वका रूपमा मनाउने पाहाँचह्रे पर्व आज मनाउँदै छन् । यसलाई पासाचह्रे पनि भन्दछन् । नेवार भाषामा पाहाँको अर्थ पाहुना हो भने पासाको अर्थ साथी । चह्रे चन्द्रमासको भित्तेपात्रोअनुसार चौधौँ दिनलाई भनिन्छ ।

यस चाडका दिन खाइने मुख्य खाद्यवस्तु लसुन भएकाले कसैकसैले यसलाई ‘लसुने चाड’ पनि भन्ने गरेको संस्कृतिविद्को भनाइ छ । यो चाडलाई काठमाण्डौमा नेवार समुदायले दशैँ र तिहारजस्तै मनाउँदै आएका छन ।

यस दिन बालबालिका, युवायुवती, वृद्धवृद्धा बिहानै सूर्योदयभन्दा अघि उठी मध्याह्नसम्म हर्षोल्लासका साथ भद्रकाली, रक्तकाली, श्वेतकाली, कङ्केश्वरी आदि पीठका देवी, भैरव, गणेश आदि देवताको दर्शन तथा पूजा गर्छन् । दिउँसोदेखि बेलुकीसम्म आआफ्ना घरमा परिवारसँग बसी विविध प्रकारका खानेकुरा खाने गरिन्छ ।

पाँहाचह्रेका दिन मुख्यतया समयबजी खाइन्छ । यसमा चिउरा, बोडी, अन्डा, बारा, साग, अचार, आलु, माछा, भटमासलगायत परिकार खाइन्छ । पाहाँचह्रे पर्वको दोस्रो दिन अर्थात् घोडेजात्राका दिन दुई वर्षसम्मका बालबालिकालाई मरःजा खुवाइन्छ ।

चौरासी व्यञ्जनसहितको परिकार खुवाउँदा बालबालिका निरोगी हुने र भूतप्रेतले नसताउने जनविश्वास छ । पाहाँचह्रेको अन्तिम दिन पर्सि आइतवार दिउँसो असनमा देवीको खट जुधाउने जात्रा गरिन्छ ।

रातो, नीलो र पहेँलो गरी तीनवटा रङका टोपी र टिसर्ट लगाएकाहरू असनको मुख्य चोकमा भेला हुन्छन् । भद्रकाली (लुँमरी अजिमा) र कङ्केश्वरी (चामुण्डार कङ्ग अजिमा)को खट बोक्नेहरूले चिराग साट्ने गर्छन् । यसलाई स्थानीय भाषामा ‘द्य ल्वाकेगु’ भनिन्छ ।

पहिले असनमा सात खट जात्रा गरी ‘द्य ल्वाकेगु’ जात्रा हुने गरे पनि पछिल्लो समय दुई देवीको मात्र जात्रा हुने गरेको छ । खट तीनवटा भए पनि दुईवटा खट भद्रकाली (लुँमरी अजिमा) र एउटा खट कङ्केश्वरी (चामुण्डार कङ्ग अजिमा) को हुन्छ । रातो, नीलो र पहेँलो गरी तीनवटा रङका टोपी र टिसर्ट लगाएकाहरू असनको मुख्य चोकमा भेला हुन्छन् ।

यसैबीच काठमाण्डौ महानगरपालिकाले आज काठमाण्डौमा मनाइने महत्त्वपूर्ण जात्रा पाहाँचह्रेलाई अवरोध हुनेगरी कुनै पनि सभा र सम्मेलन जस्ता कार्यक्रम नगर्न अनुरोध गरेको छ । महानगर प्रहरी बलले विज्ञप्ति निकालेर जात्रालाई प्रभावित हुने कार्यक्रमहरू नगर्न अनुरोध गरेको हो ।  

अन्तिम अपडेट: चैत १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया