नेपालमा पर्यटन पूर्वाधारमा लगानी बढाउन जरुरी छ
बैशाख १, २०८२ सोमबार
वर्षान्तको दिन बिहानैदेखि नेताहरूले सुख, शान्ति र समृद्धिको भाषण शुरू गरे । उसले पनि साँझ नपर्दै घ्याम्पै रित्याउने गरी रक्सी पिउन थाल्यो । नेताहरू सपना देखाउँदै गए । उस्ले रक्सी थप्दै गयो । नेताको भाषणजस्तै आज पनि उसले कसम खायो, ‘भोलि नयाँ वर्षदेखि जाँड–रक्सी हेर्दा पनि हेर्दिनँ ।’
नयाँ वर्षदेखि रक्सी चटक्कै छोड्छु भनेर सुतेको ऊ भोलिपल्ट घाम उदाएपछि मात्रै बिउँझियो । आँखा मिच्दै उठ्यो । जीउ तन्कायो । मोबाइल हेर्याे । ओहो ! आज त नयाँ वर्षको पहिलो दिन । साथीहरूले घुम्न जाउँ भनेका थिए, ढिलो भइसक्यो । हतारहतार नित्यकर्म सकेर बाटो लाग्यो । साथीहरूको जमघट शुरू भइसकेको रहेछ । नयाँ वर्षको खुशीयालीमा रमाइलो त गर्नुपर्याे । साथीहरूले पिउन कर गरे । उसले पिउँदिन भनेर कसम खाएको कुरा सुनायो । साथीहरू गललल हाँसे ।
‘पिउन छोडेको उपलक्ष्यमा पनि पिउनुपर्छ’, एक जनाले भन्यो ।
‘हैन हैन पिउँदै पिउँदिन भनेर कसम खाएको उपलक्ष्यमा चाहिँ पिउनुपर्छ’, अर्कोले थप्यो ।
‘मैले छोड्छु भनेर नयाँ वर्षकै दिन वाचा गरेको पनि १० वर्ष भइसक्यो र त पिइरहेको छु’, अघिदेखि नै पिइरहेको अनुभवी बोल्यो ।
पिउने मामिलामा ‘वाचा, कसम, प्रतिबद्धता, प्रण भन्ने कुरा भन्नैलाई मात्रै हो, व्यवहारमा लागू गर्न सुहाउँदैन साथीहरू’, अर्को पियक्कडले दर्शन छाँट्यो ।
त्यसपछि उसले पिउन छाड्छु भनेर एक शायरले कसम खाँदा खाँदा कतिपल्ट कसम खाएँ भन्ने कुरा नै बिर्सेको एउटा कहावत सम्झ्यो । साथीहरूले सद्भावको भेल नै बगाएपछि उसलाई पनि यो वर्ष पिउँदिन भनेर वाचा गरेको खुशीयालीमा पिउनुपर्याे जस्तो लाग्यो । त्यसपछि लु त लु एकपल्टलाई भनेर पिउन अघि सर्याे । अब पिउँदिन भनेर पनि मान्छेले किन पिउन छाड्दैनन् भन्ने विषयमा पियक्कडहरूबीच छलफल शुरू भयो ।
हेर साथी हो, यो वर्षदेखि पिउँदिन भनेर सबैजसोले कसम खान्छन् । कसम खाएजस्तै सबैले नपिउने हो भने हाम्रो समाज, हाम्रो देश, हाम्रो संस्कार, रीतिरिवाज र संस्कृति के होला विचार गर त ।
सबैभन्दा पहिलो कुरा बजार सुनसान हुन्छ । अर्थतन्त्र डामाडोल हुन्छ । बजारमा चामल, दाल र तरकारी बेच्नेहरू धेरैपल्ट गालामा हात लगाएर बस्छन् । तर रक्सी बेच्नेको एकछिन हात खाली हुँदैन । कतिको घरमा पकाउने कुरा नभएर भान्सा सुनसान हुन्छ तर भट्टीमा सधैँ चहलपहल छ । मध्यरातमा पनि सडक सुनसान हुन पाउँदैन । मान्छे लरबरिँदै, हल्लँदै हिँडिरहन्छन् । कुकुर भुकिरहन्छन् । हामीजस्ता पेय प्रेमीहरूकै कारण बजारमा चहलपहल बढेको छ । भोज, भतेर र पाटी प्यालेसमा रमझम छ । मापसे जाँच भन्दै ट्राफिक प्रहरीले पैसा उठाउन पाएका छन् । सरकारको राजश्व बढेको छ । पास्नी, न्वारन, जन्मदिन, व्रतबन्ध, विवाहलगायतका काजकर्ममा छुट्टै रौनक र उत्साह थपिएको छ ।
मैले पनि नपिउने, तैँले पनि नपिउने, सबैले नपिउने हो भने के होला ? मदिरा उद्योगको हालत के होला ? गाउँ–शहरका भट्टी र रक्सी पसल कसरी बाँच्लान् ? पानी पिएर र दालभातका भरमा सुखदुःख, उत्सव, समारोह, काजकर्म चल्छ ? त्यसैले साथी हो पिउँदिन भनेर कसम खानु र कसम खाएर पनि पिउन नछोड्नु हाम्रो मौलिक संस्कार हो । यो संस्कारलाई पालना गर्नु हाम्रो कर्तव्य हो ।
पिउँदिन भन्नेले नपिउने, झुटो बोल्दिन भन्नेले साँचो मात्रै बोल्ने, कुलत छोड्छु भन्नेले सही बाटो मात्रै हिँड्ने हो भने त देशमा सज्जन मात्रै हुने भए । सज्जन मात्रै भए पछि चारी हुँदैन, डकैती हुँदैन, लुटपाट हुँदैन, तस्करी र घुसखोरी हुँदैन । चोर, डाँका, लुटाहा, फटाहा, तस्कर र भ्रष्टाचारी नहुने हो भने यति धेरै प्रहरीले के काम गरेर बस्ने ? जागिर खाइरहेका प्रहरी समेत बेरोजगार हुन्छन् । प्रहरीमा जागिर खान खोजेकाहरू विदेशिन्छन् । हरिवंश आचार्यले टेलिसिरियलमा भनेजस्तो चोर नहुने हो भने प्रहरीको पनि काम नहुने भयो । बलिया घर नबन्ने भए । बलिया घर नबन्दा सिमेन्ट, छड, इँटाको उत्पादन हुन छोड्ने भयो । ती क्षेत्रमा काम गर्ने हजारौं मजदूरको रोजगारी गुम्ने भयो । उद्योगधन्दा चौपट हुने भयो । त्यसैले नयाँ वर्षदेखि चोरी, डकैती गर्दिनँ भन्नेले पनि वाचा तोड्नैपर्छ ।
नयाँ वर्षमा शुभकामना दिँदा नेताहरूले पनि विकास, सुशासन र समृद्धिको वाचा गर्छन् । भ्रष्टाचार र ढिलासुस्ती हटाउने प्रण गर्छन् । तर साँच्चै भ्रष्टाचार गर्न छोड्ने हो भने अख्तियारले के गरेर दिन काट्ने ? पत्रकारले के समाचार लेख्ने ? कसम खाएझैं नेताहरूले विकास र समृद्धिको काम अहिल्यै गर्न थाले भोलिपर्सि के का लागि राजनीति गर्ने ? के भनेर भोट माग्ने ?
सबैभन्दा महत्त्वपूर्ण कुरा त कसम खानेबित्तिकै कुलत छाडिहाल्ने हो भने अर्को नयाँ वर्षमा के छोड्छु भनेर कसम खाने ? के भनेर शुभकामना दिने ?
पियक्कडहरूले दर्शन छाँटिरहँदा रेडियोमा प्रधानमन्त्री र नेताहरूको शुभकामना सन्देश आयो, ‘यो नयाँ वर्ष सुख, शान्ति र समृद्धिको वर्ष हुनेछ ।’
सुनेर पियक्कडहरूको जमघटमा हाँसोको फोहोरा छुट्यो ।
लौ साथी हो, नेताहरूले देश बनाउने गफ छाँटे । हामी पनि रक्सी छोड्ने कसम खाऔँ । कसम खानुअघि अर्को पेग थप साथी हो ! रक्सी नखाने कसम खान ग्लास ठोक्काएर चियर्स गरौँ !
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।