आजदेखि नेपाल साहित्य महोत्सव : पहिलो दिन मनिषाको पुस्तक विमोचनदेखि ‘ठाडै ठट्टा’सम्म

 पुस ७, २०७५ शनिबार ७:५४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – बुकवर्म फाउन्डेसनको आयोजना रहेको सातौं नेपाल साहित्य महोत्सव शनिबारदेखि पोखरामा सुरु हुँदैछ । 

‘सौन्दर्यको सहरमा शब्दहरुको संकथन’ ट्यागलाइन दिइएको महोत्सवमा विभिन्न देशका ख्यातिप्राप्त लेखक साहित्यकार वक्ताका रुपमा सहभागी हुँदैछन् । महोत्सवमा सहभागी हुने अन्तर्राष्ट्रिय लेखकहरुमा चर्चित पाकिस्तानी लेखक मोहम्मद हनिफ, नेपाली मूलका भारतीय लेखक प्रज्ज्वल पराजुली, बेलायती ग्राफिक नोभलिस्ट डाक्टर निकोला स्ट्रिटेन र भारतीय पत्रकार हरिश नाम्बियरलगायत रहेका छन् ।

वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौलाले नेपाल साहित्य महोत्सव भेटघाट, मनोरञ्जन र विचारको उत्सवको थलो रहेको बताउँछन् । लेखकले पाठक भेट्ने र पाठकले आफ्नो मनपर्ने लेखक भेट्ने अवसर पनि सम्मेलन रहेको उनले बताए । सामाजिक सञ्जालले पुस्तक पढ्ने बानी कम गराइदिएको र यस्तो प्रवृत्तिबाट जोगाउने माध्यम भनेकै पुस्तक रहेको उनको धारणा छ । 

महोत्सवकाका निर्देशक अजित बरालले उमेरको हिसाबसँगै फेस्टिभलले आफ्नो उचाइ मात्र नभई विश्वास पनि बढाएको बताए । नेपाली र अन्य भाषा र भूगोलका साहित्यलाई एउटै मञ्चमा ल्याएर मन्थन गर्ने, स्रष्टा र पाठकबीचको दूरी कम गर्ने र फरक विचारहरूलाई उत्तिकै सम्मानका साथ स्थान दिने जस्ता लोकतान्त्रिक अभ्यास मजबुत बनाउने काममा फेस्टिभल उत्प्रेरक बनेको उनको भनाई छ । 

महोत्सवको उद्घाटनका प्रमुख अतिथि नेपालको शिक्षा क्षेत्रको विकासका लागि योगदान पुर्याएका जर्ज जोन र एलियाम्मा जाने रहेका छन् । महोत्सवको उद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी पनि सहभागी हुनुहुनेछ ।

महोत्सवको उद्घाटनमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले विद्वत प्रवचन दिनुहुनेछ भने पत्रकार तथा लेखक हरिबहादुर थापाले परिचयात्मक मन्तव्य दिनुहुनेछ । 

महोत्सवको पहिलो दिन बलिउड अभिनेत्री मनिषा कोइरालाको आत्मकथा ‘हिल्ड’ सार्वजनिक गरिँदैछ । मनिषाले क्यान्सरसँग जुध्दा गरेको अनुभव समेटिएको आत्मकथा सार्वजनिक कार्यक्रमसँगै पुस्तकमाथि छलफल कार्यक्रम पनि रहेको छ । जसलाई संयोजन गर्नेछन् नेपाली चलचित्रका महानायक राजेश हमालले ।

त्यस्तै शनिबार नै वरिष्ठ नेपाली साहित्यकार इन्द्रबहादुर राईको सम्झनामा ‘अझै रमिता छ’ नामको सत्र राखिएको छ । यस कार्यक्रममा मञ्जुश्री थापा र कृष्ण धरावसी वक्ता रहेका छन् भने केदार शर्मा प्रस्तोता रहेका छन् । क्यानडामा बसेर विश्व साहित्यमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी थापाले स्वर्गीय इन्द्रबहादुर राईको बहुचर्चित पुस्तक ‘आज रमिता छ’ को अंग्रेजी अनुवाद(दियर इज अ कार्निभल टुडे) गरेकी छिन् । 

त्यस्तै शनिबार नै पोखरेली साहित्यकारहरु सरुभक्त, गनेस पौडेल र तीर्थ गुरुङसँग समालोचक कुमारी लामाले ‘पागल बस्ती पछिको पोखरेली आख्यान’ का बारेमा छलफल चलाउँदैछिन् ।
 
त्यस्तै महोत्सवको पहिलो दिन वरिष्ठ पत्रकार नारायण वाग्ले र स्तम्भकार तथा लेखक खगेन्द्र संग्रौलाबीचमा सम्पादक र स्तम्भकारका विषयमा चर्चा परिचर्चा हुनेछ । त्यसै समयमा अर्कातर्फ कुन्द दीक्षितले ‘रेड बर्ड्स’ नाम दिइएको सत्रमा पाकिस्तानी लेखक मोहम्मद हनिफसँग अन्तरक्रिया गर्नेछन् । 

शनिबारको अन्तिम कार्यक्रम रहेको छ ‘ठाडै ठट्टा’ अर्थात स्ट्याण्ड अप कमेडी । जसमा सीमा गोल्छा, शैली बस्नेत र आयुष श्रेष्ठले ठाडै ठट्टा गरेर सहभागीहरुलाई मनोरञ्जन दिनेछन् । 

पोखराको लेकसाइडमा रहेको तालवाराही चोकमा हुने महोत्सव भूपी कक्ष र अलि मियाँ कक्ष गरी दुई ठाउँमा हुनेछ ।

फेस्टिभलमा सहभागी अतिथि विदेशी लेखक

मोहम्मद हनिफ (पाकिस्तान)

कमनवेल्थ प्राइज फर बेस्ट बुकजस्तो प्रतिष्ठित पुरस्कार पाइसकेका, बुकर प्राइजको लङलिस्टमा छानिएका मोहम्मद हनिफको चौथो पुस्तक रेड बड्र्स हालै मात्र प्रकाशित भएको छ । कराँचीमा बसेर द न्यूयोर्क टाइम्स, न्युयोर्कर र विभिन्न पत्रिकाहरूका नियमित स्तम्भकार उनी राजनीतिकेन्द्रित गम्भीर प्रकृतिका आख्यानका लागि पाठकमाझ चिनिन्छन् ।  

डा. निकोला स्ट्रिटेन (बेलायत)

मानवशास्त्री हुँदै इलुस्ट्रेटर र ग्राफिक उपन्यासकार बनेकी निकोलाले नारीवादी कार्टुन र कमिक्सबारे विद्यावारिधि गरेकी हुन् । बिल्ली, यू एन्ड मी ९सन् २०११० ग्राफिक संस्मरणमार्फत पुरस्कारसमेत जितेकी निकोला आट्र्स काउन्सिल इंग्ल्याण्ड एन्ड ब्रिटिस काउन्सिल इन्टरनेसनल डेभलपमेन्ट फन्डसमेत प्राप्त गरेकी छन् । संस्कृति, सञ्चार र कलाको इतिहासबारे प्राध्यापनसमेत गरिरहेकी निकोलाले नेपाल लिटरेचर फेस्टिभलमा ग्राफिक उपन्यासबारे ‘मास्टर क्लास’ पनि दिनेछिन् । 

मञ्जुश्री थापा (क्यानडा)

गैरआख्यानबाट साहित्यमा प्रवेश गरेकी मञ्जुश्री थापा अङ्ग्रेजी संसारमा नेपाली मूलको प्रतिनिधित्व गर्ने सफल लेखकको सूचीमा पर्छिन् । दुई वर्षअघि अल अफ अस इन आवर वन लिभ्स उपन्यास प्रकाशन गरेकी उनी त्यसअघि तीन उपन्यास, चार गैरआख्यान र एक अनुवाद कृतिकी स्रष्टा हुन् । केही वर्षअघि मात्र क्यानडामा बसाइँ सरेकी थापा नेपालको राजनीतिक र सामाजिक मुद्दाको खरो टिप्पणीकारका रूपमा समेत परिचित छिन् ।  

प्रज्ज्वल पराजुली (भारत)

‘द गुर्खाज डटर’ कथासंग्रहमार्फत विश्व साहित्यमा आफ्नो प्रभाव छाडेका नेपाली मूलका भारतीय लेखक प्रज्ज्वल पराजुलीको दोस्रो आख्यान ‘ल्यान्ड ह्वेयर आई फ्ली’ले पनि नेपाली भाषीकै जीवन उधिनेको छ । अङ्ग्रेजी भाषाको पकड र बेजोड कल्पनाशीलता भएका पछिल्लो पुस्ताका प्रतिभावान् लेखकका रूपमा उनी चिनिन्छन् ।

हरिश नाम्बियर (भारत)

इन्डियन एक्सप्रेस, रोयटर्सलगायत विभिन्न टेलिभिजन र इन्टरनेट पोर्टलमा पत्रकारिताको अनुभव सँगालेका हरिश नाम्बियरले सन् २००२ को गुजरात दङ्गाका बेला मोटरसाइकलमा तीन साता लामोसात राज्यको भ्रमण गरे । ‘डिफ्य्राग्रमेन्टी इन्डिया–राइडिङ अ बुलेट थ्रु द ग्यादरिङ स्ट्रोम’ उनको यही यात्राबाट सिर्जित चर्चित गैरआख्यान हो । हाल द इकोनोमिक टाइम्समा आबद्ध उनी पत्रकारिताका शिक्षक पनि हुन् ।

हेर्नुहोस् महोत्सवको शेड्यूल

 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया