स्थायी कमिटी बैठकको सुझाव अनुसार पार्टी एकताले गति लिन सकेन : भीम रावल

 माघ ३, २०७५ बिहिबार १९:४१:४४ | चन्द्र थापा
unn.prixa.net

फाइल तस्बिर

अछाम – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीम रावलले केही समयम अघि बसेको स्थायी कमिटी बैठकले दिएको सुझाव अनुसार पार्टी एकताको कामले गति लिन नसकेको बताउनु भएको छ ।

अछाम सदरमुकाम मंगलसैनमा प्रेस संगठनद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले पुस मसान्तभित्र केन्द्रीय कमिटीका सदस्यको जिम्मेवारी बाँडफाँड, जिल्ला कमिटी गठनलगायतका काम गर्ने गरी ९ सदस्यीय कार्यदल बनाइएको भएपनि काम सम्पन्न नभएको र यसबाट विभिन्न क्षेत्रमा समस्या भएको बताउनुभयो ।

पार्टीका स्थानीय कमिटीहरुको एकता र पूर्णतका कामहरु हुन नसक्दा सयौं नेता कार्यकर्ता बेरोजगार जस्तै भएको भन्दै नेता रावलले यसैको असर सरकार सञ्चालनमा पनि परेको बताउनुभयो ।

रावलले सरकार संचालन गर्दा पनि पार्टीले संघीय, प्रदेश तथा स्थानीय चुनावमा अघि सारेको चुनावी एजेण्डा र घोषणा पत्र अनुसार अघि बढ्नुपर्ने बताउनुभयो । पूर्व उपप्रधान, रक्षा तथा गृहमन्त्री समेत रहनुभएका नेता रावलले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणका दोषीलाई कारबाही हुनुपर्ने बताउनुभयो ।

उहाँले आफूले पटकपटक यस विषयमा आवाज उठाएको भन्दै टिकापुर हत्याकाण्डका आरोपी रेशम चौधरीलाई सपथग्रहण गराइएको विषयमा समेत पार्टीमा छलफल नभएको धारणा राख्नुभयो ।

यस्तै नेता रावलले सुदूरपश्चिमको विकासका विभिन्न योजनालाई प्रभावकारी रुपमा अघि बढाउन आफूले सरोकारवालालाई घच्घच्याइरहेको बताउनुभयो । अब छिट्टै सेती लोकमार्गको काम अघि बढ्ने भन्दै उहाँले मध्यपहाडी लोकमार्गले समेग गति लिएको बताउनुभयो ।

पश्चिम सेती निर्माणका लागि सरकारलाई खबदारी गरिरहेको भन्दै उहाँले नेपालकै महत्वपूर्ण योजनाका रुपमा रहेको माथिल्लो कर्णाली जलविद्युत आयोजनामा चलखेल भइरहेको खुलासा गर्नुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया