कांग्रेसको निरन्तरको अवरोधका कारण प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित

 माघ ८, २०७५ मंगलबार १७:४६:३९ | नवराज फुयाँल
unn.prixa.net

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको निरन्तरको अवरोधका कारण प्रतिनिधिसभाको मंगलबारको बैठक स्थगित भएको छ । 

दुई पटकसम्म बैठक अवरुद्ध भएपछि ११ गतेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।  

तनहुँमा स्थापना गरिएको गिरिजा प्रसाद कोइराला श्वासप्रश्वास केन्द्र र बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई केन्द्र सरकार मातहतमा राख्न माग गर्दै नेपाली कांग्रेसले सांसद बैठक अवरुद्ध पारेको हो ।

पहिलो पटक बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले कांग्रेस नेता प्रकाशमान सिंहलाई बोल्ने समय दिनुभएको थियो । 

सिंहले आफ्ना नेताहरुको नाममा स्थापना भएको स्वास्थ्य संस्थालाई खारेज गर्ने नियतले केन्द्र मातहतमा नराखेको भन्दै विरोध जनाए । नेता सिंहले बोलेलगत्तै कांग्रेस सांसदहरु आआफ्नो ठाउँबाट उठेर रोष्ट्रममा पुगेका थिए । 

पहिलो पटक बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । 

त्यस पछि पुनः सुरु भएको बैठकमा सभामुख महराले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५ पेश गर्न अनुमति दिएलगत्तै कांग्रेस सांसदहरुले पुनः बैठक अवरुद्ध गरे । 

विधेयक पेश गर्न अघि बढ्नुभएका मन्त्री पोखरेललाई कांग्रेस सांसदहरुले पोडियमतर्फ जानै नदिई घेराबन्दी गरेर रोकेपछि बैठक फेरि १५ मिनेटका लागि स्थगित गरिएको थियो । 

दोस्रो पटकको बैठकमा मर्यादापालक र कांग्रेस सांसदबीच ठेलाठेल भएको थियो । मन्त्री पोखरेललाई अगाडि जान मिल्ने गरी मर्यादा पालकहरुले स्थान खालि गर्दा कांग्रेस सांसदहरु रोक्ने प्रयासमा लागेका थिए ।  

कांग्रेस सांसदले मन्त्री पोखरेललाई अगाडि जान रोकेपछि सभामुख महराले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गर्नुभएको थियो । 

१५ मिनेटका लागि बैठक स्थगित गरिएको भए फेरि त्यस्तै अवरोध हुने देखेपछि संसद बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित भएको सूचना टाँस गरेर जानकारी गराइएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया