कविता – सिंहदरबारमा ग्याल्बो ल्होसार

 माघ २२, २०७५ मंगलबार १२:३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

 

समयको सुदूर यात्रा गर्दै
आइपुगेछौ मेरो ग्याल्बो ल्होसार
तिम्रो स्वागतमा, घर अनि मन सफा राखेर
बसिरहेछौँ म अनि मेरो समुदाय ।
ए ! ग्याल्बो ल्होसार
विगतका वर्ष झैँ, आयौ कि ? खाली हात !
कि छन्, यसपाली प्रगति र समृद्धिका केही बात ।।

अरे ! मेरो ग्याल्बो ल्होसार !
कति तिमी एक्लै आउँछौ, अनि गुथुकको स्वादमा रमाएर एक्लै लरबराउँछौ ।
अब
क्यालेन्डरमा मात्रै हैन
आफैँमा नयाँ बन, नयाँ वर्ष हैन, नयाँ युगको उद्घोष गर ।।

प्यारो ल्होसार !
यस पटक तिमी आउँदा
मेरो समुदायलाई नयाँ जोस, उमंग र एकताको भाका ल्याइदेउ ।
अनि सँगै, तिमी आउँदा
मेरो समुदायमा शिक्षा, चेतना, अधिकार र समृद्धिको खाका ल्याइदेउ ।।

अरे यार !
मेरो ग्याल्बो ल्होसार !
तिमी सौताको छोरो हौ कि ?, कसैको टुहुरो सन्तान
नत्र
तिम्रै देश भित्र, तिम्रै समीपको चाड आउँदा
देश सजिन्छ, तोप पडकिन्छ ।
साइँला हवल्दारकोमा मात्रै हैन,
सिंहदरबारमा व्यञ्जनका भत्तेर लाग्छ ।
प्रधानमन्त्री र राष्ट्रपतिको स्वागत पाउँछ ।
अनि तिमी आउँदा
भिखारीलाई भिख फाले सरी,
दशैँमा आगनमा आएको कुकुरलाई हड्डी फाले सरी
एक दिने बिदाको हड्डी फाल्दछ मेरो देश।
अनि रटाउँछ सबैलाई 
विविधतामा एकता बोकेको, सुन्दर फूलबारी मेरो देश ।
सुन्दर फुलबारी हैन, एकै फूल फुल्ने तोरीबारी बन्यो देश ।।

उफ् !
छोड यस्ता असमानता र विभेदिकरणका कथाहरु 
बरु सुन,
ग्याल्बो ल्होसार !
यस पटक तिमी आउँदा
केही कोसेली ल्याउँनै पर्छ ।
समानताको लडाईँ लड्नै पर्छ ।
मेरो समुदायलाई जागरण र चेतनाको गुथुक खवाउनै पर्छ ।
समावेशीकरण र संघीयताको चुलोमा पाकेको 
शिक्षा, चेतना, राजनीतिक अधिकारको
खाप्सा र गुथुक खाएर 
मेरो समुदाय र देश समृृद्ध बन्नेछ
राज्यको हरेक स्थानमा, हाम्रो उपस्थिति हुनेछ ।

अनि त तिम्रो स्वागतमा बक्कु र दोचामा सजिएर
मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति उभिनेछन...
तिम्रो स्वागतमा तोप पड्काएर हैन 
सेतो अष्टमंगलले सिंहदरबार सजाएर
लामा भिक्षुहरुको पवित्र मन्त्रोचारण 
साथ सबैले भन्नेछन्
“लोसारला टासी देलेग फुनसुम छोक 
लो समबाला तेन्दु देवा थोपार छोक”

मेरो अनकन्टार हिमाली चौरीगोठमा मात्रै हैन
सिंहदरबारमा गुथुक बन्नेछ, ग्याल्बो ल्होसार आउनेछ ।
अनि हाम्रो मात्रै हैन....
सिंगो देशको पर्व बन्नेछ, ग्याल्बो ल्होसार
सबैले मनदेखि भन्नेछन्, ल्होसार शुभकामना ।।

कुन्जाङ शेर्पा
लिखुपिके गा.पा.–५, किन्जा, सोलुखुम्बु

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया