मदरसा शिक्षालाई मूलप्रवाहमा ल्याउन सराेकारवालाहरुकाे माग

 माघ २३, २०७५ बुधबार २०:४९:२७ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - मदरसा शिक्षालाई शिक्षाको मूलप्रवाहमा ल्याउन सरोकारवालाहरुले माग गरेका छन् ।

बुटवलमा बुधवार आयोजित कार्यक्रममा मदरसा शिक्षालाई राज्यले उपेक्षा गरेको भन्दै उनीहरुले त्यहाँ कार्यरत मौलानाहरुको भविष्य नै अन्यौलमा परेको बताए । मदरसा शिक्षा धार्मिक मात्रै नभएर सामाजिक शिक्षासमेत भएको भन्दै उनीहरुले कानुन बनाएरै मदरसाको व्यवस्थापन गर्नुपर्ने बताए ।

मदरसा सञ्चालनका लागि निश्चित मापदण्ड आवश्यक रहेको भन्दै भौतिक पूर्वाधार र दक्ष जनशक्तिको अभावका कारण मदरसामा पढ्ने विद्यार्थीहरुको समेत भविष्य अन्यौल रहेको उनीहरुको तर्क छ ।

नेपालमा सिमान्तकृत धार्मिक सम्प्रदायको रुपमा रहेको मुश्लिम समुदायको धार्मिक र ऐतिहासिकताको रक्षाका लागि पाठ्यक्रम नै बनाएर अध्ययन अध्यापन हुनुपर्ने भन्दै उनीहरुले प्रदेश सरकारले मुश्लिम विश्वविद्यालय स्थापनाको लागि कानुन बनाउनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै राष्टिय मदरसा संघका अध्यक्ष डाक्टर अव्दुल गनी अलकुफिले मुश्लिम शिक्षालाई शिक्षाको मूलप्रवाहीकरण गर्नुपर्ने बताउनु भयो । उहाँले केन्द्रले मदरसालाई हेर्ने दृष्टिकोण नै गलत रहेको बताउनु भयो ।

संघका महासचिव मौलाना मशहुद खाँ नेपालीले मौलानाहरुलाई प्रदेश सरकारले कानुन नै बनाएर स्थायी गर्नुपर्ने र सामुदायिक विद्यालयका शिक्षक सरहको सुविधा दिनुपर्ने बताउनु भयो । प्रदेश सभा सदस्य फकरुद्धिन खानले मदरसा शिक्षा बोर्डका लागि प्रदेश सरकार सकारात्मक हुनुपर्दछ भन्दै भौतिक सुधार र नीति निर्माण गर्नका लागि सँगसँगै कार्य गर्नुपर्ने बताउनु भयो ।

प्रदेश सभा सदस्य नमुना केसीले मदरसाको सञ्चालन , नियमन र सुधारको लागि सरकारले ध्यान दिनुपर्ने बताउनु भयो । अधिकारकर्मी तथा मधेस मानवअधिकार गृहका अध्यक्ष रबि ठाकुरले सिमान्तकृत समुदायको रुपमा रहेको मुश्लिम समुदायका बालबालिकाको शिक्षाको लागि तिन तहका सरकारले नै ध्यान दिनुपर्ने बताउनु भयो ।

मदरसा संघका महासचिब मौलाना मशहुद खाँ का अनुसार पाँच नम्बर प्रदेशमा मदरसाको संख्या १ हजारको हाराहारी रहेको छ । कपिलवस्तुमा मात्रै ३ सय बढिको संख्यामा मरदसा रहेका छन् । सरकारले प्रति मदरसा बार्षिक २ लाख ४१ हजार अनुदान दिँदै आएको छ ।  

अन्तिम अपडेट: चैत १३, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया