प्रथम शहीद लखन थापाको १४२औँ स्मृति दिवस मनाइयो, काठमाण्डौको शहीदगेटमा शालिक राख्न माग

 फागुन २, २०७५ बिहिबार १९:५८:५२ | किरण लोहनी
unn.prixa.net

गोरखा नगरपालिका–६, हस्पिटल चोकमा नेपालका प्रथम शहीद लखन थापा मगरको शालिक अनावरण गर्दै मुख्यमन्त्री गुरुङ

गोरखा – आज नेपालका प्रथम शहीद लखन थापा मगरको १ सय ४२औं स्मृति दिवस । उहाँको जन्मस्थल बुङ्कोटमा विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाइएको छ ।

शहीद लखन गाउँपालिकाले ३ दिनसम्म विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो । थापालाई फाँसी दिइएको स्थान बुङ्कोटको काहुले भंगारमा स्मृतिसभालगायतका कार्यक्रम भएको हो । 

कार्यक्रमका वक्ताहरुले लखन स्मृति दिवस फागुन २ गतेलाई राष्ट्रिय दिवसको मान्यता दिँदै सार्वजनिक बिदा दिन माग गरेका छन् । यसअघि माघ १६ गते मनाउने शहीद दिवसलाई पनि लखन थापाको स्मृति दिवसकै दिन मनाउनु पर्ने उनीहरुको भनाई छ ।  सरकारले लखन थापालाई राष्ट्रिय विभूतिको रुपमा सम्मान गर्न र लखन थापासँगै सहादत प्राप्त गरेका जैयसिं चुमी रानालाई पनि शहीद घोषणा गर्नु पर्ने वक्ताहरुको माग छ । 

यस्तै काठमाण्डौको शहीदगेट र शहीदपार्कमा लखन थापाको शालिक राख्न र स्मृति प्रतिष्ठान गठन गर्न पनि स्थानीयले माग गरेका छन् । थापाले सहादत प्राप्त गरेको गोरखाको बुङ्कोट काहुले भंगारलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न, संग्रहालय र स्मृतिपार्क निर्माण गर्न पनि स्थानीयको माग छ । 

२०७२ असोज ३ गतेको मन्त्रिपरिषदको बैठकले लखन थापालाई प्रथम शहीद घोषणा गरेको थियो । विक्रम संवत १९३३ फागुन २ गते तत्कालीन राणा शासकले बुङ्कोटको काहुले भंगारमा थापालाई फाँसी दिई हत्या गरेका थिए । कार्यक्रममा कलाकार दिपसागर थापा, शर्मिला गुरुङ, सरु थापासहित स्थानीय कलाकारहरुले सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

लखन स्मृति दिवसकै अवसरमा शहीद परिवार तथा जग्गादाताहरुलाई सम्मान गरिएको शहीद लखन गाऊँपालीकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आलेमगरले बताउनुभयो । 

लखन स्मृति दिवसकै अवसरमा आयोजित विद्यालयस्तरीय प्रथम लखन कप २०७५ मा जनशक्ति मावि नाम्जुङ पहिलो, शहीद स्मृति मावि बुङ्कोट दोस्रो र हिमालय मावि घैरुङ तेस्रो भएका छन् । विजेता विद्यालयहरुलाई कार्यक्रममा पुरस्कृत गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख दिपेन्द्र परियारले बताउनुभयो । 

त्यस्तै गोरखा नगरपालिका–६, हस्पिटल चोकमा नेपालका प्रथम शहीद लखन थापा मगरको शालिक अनावरण गरिएको छ । १४२ औँ लखन स्मृति दिवसका अवसरमा बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शालिकको अनावरण गर्नुभयो । शालिक अनावरण गर्दै उहाँले आगामी वर्षदेखि प्रदेश सरकारले औपचारिक रुपमा लखन स्मृति दिवस मनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

११ लाख रुपैयाँको लागतमा अर्धकदको ढलौटको शालिक स्थापना गरिएको प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठानले जनाएको छ । गोरखा नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा  शालिक स्थापना गरिएको हो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया