अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
हरेक महिना
मेरो शरीरबाट बग्ने
रगतको रङजस्तै
राता गुलाफहरू
तिमी बसेको शहरमा
डुल्न थालेको खबर
मैले पनि सुनेकी छु!
तिमी पनि त
गयौ होला नि हैन
गुलाफ हेर्न
र, किन्छौ होला
एउटा थुङ्गा त
पोहोर साल जस्तै
तिमीले सडक छेउमा
दिनदिनै बेचेको
आलुचपबाट कमाएको
पैसा जोगाएर!
बीरू,
तिमीलाई त म
हरेक प्रहर
मसँग आएको देख्छु
कहिले स-शरीर
कहिले कल्पनामा
र, आएपिच्छे
तिमीले दिएको
मीठो मुस्कान र
तातो माया सम्झन्छु
सट्टामा म तिमीलाई
बिस्तारै स्पर्श गर्छु
मैले छुँदा
तिमी तातो हुन्छौ
त्यो बेला त म
तिम्रो अनुहार
गुलाफको रङभन्दा पनि
रातो देख्छु!
त्यही रङमा
म मायाको
नयाँ पाटो भेट्छु!
म त
भोलि बिहानै जानु छ
तल आरनमा
बुर्ते दाइसँग कोइला माग्न
र, दिए भने
त्यसलाई सल्काएर
सेक्नुछ आफैलाई
खै किन हो आजकल
तल्लो पेट दुखिरहन्छ।
यतिका वर्ष भयो
मैले त केही दिन सकिनँ
'भ्यालेन्टाइन डे'मा
तर, यस पटक
त्यही कोइलाले
कोर्नेछु एउटा गुलाफको चित्र
मेरो मुटुमा
र, राख्छु तिम्रो लागि
भ्यायौ भने
एकछिन आउन ल
सँगै हेरौंला!
आउने भयौ भने
खबर गर है!
म नाम लेखाइरहन्छु
नर्सको क्लिनिकमा
'एक्सरे' गर्नु पर्छ
मेरो मुटुको
नत्र त कसरी हेर्छौ र
मायालु हातले
तिम्रै लागि कोरेको
गुलाफको चित्र ?
'एक्सरे'ले त
अरू दाग पनि देखाउँछ होला
मेरो मनका
देख्यौ भने
भनिहाल्नु नर्सलाई -
'त्यसको पनि फोटो बनाइदिनू'
सङ्कलन गरेर
प्रदर्शन गर्नुपर्छ
माइतीघर छेउमा
देशलाई देखाउनु पर्ने
धेरै चोटहरू छन्
मेरो मुटुमा!
गुलाफको सट्टा
माया बाँड्नु नि -
गएर भन्नू पर्ने
धेरै छ तिम्रो शहरमा!!
* * * * * * *