तिहारमा मुस्ताङबाट ४ हजार भेडाच्याङग्रा बिक्री
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डौ – कर्णाली भन्नेबित्तिकै अहिले पनि धेरैले अभाव, भोकमरी, गरिबी, अशिक्षा र पिछडिएको क्षेत्रको कल्पना गर्छन् । कर्णालीको सुन्दरता र विविधतालाई कमैले मात्रै प्रचारप्रसार गरेका छन् । कर्णाली भौगोलिक, सांस्कृतिक र पुरातात्विक हिसाबले सुन्दर छ भन्ने चिनाउन काठमाण्डौमा वृहत कर्णाली एक्स्पो भयो ।
मेलाका सहभागी र अवलोकनकर्ता सबैको एउटै आवाज थियो, ‘कृपया कर्णालीलाई हेर्ने पुरानो चस्मा बदल्नुहोस् ।’
जुम्लाको सिँजा गाउँपालिका ३ नराकोटका प्रेमबहादुर हमालको व्यापार गाउँमा पनि चल्छ, तर उहाँलाई सबैले कर्णाली भनेको भोक, गरिबी, अभाव र अशिक्षाको मात्रै ठाउँ हो भनेको सुन्दा दुःख लाग्यो र आफूले उत्पादन गरेका सामग्री देखाउन उहाँ काठमाण्डौमा भएको वृहत कर्णाली एक्स्पोमा आउनुभयो । उहाँ भन्नुहुन्छ, ‘बाहिरबाट हेर्दा कर्णाली जति गरिब छ, त्यहाँ पुग्दा त्यत्तिकै धनी पनि छ, नेपालमा कतै पनि उत्पादन नहुने बालीनाली कर्णालीमै पाइन्छन् ।’
कर्णाली एक्स्पोमा स्टल राखेका प्रेमबहादुर हमाल कुराकानीका क्रममा भावुक हुनुभयो । हात जोड्दै उहाँले भन्नुभयो, ‘कर्णालीमा गरिबी र अभाव पनि छैन, स्वर्ग पनि छ, कृपया चस्मा बदलेर हेरिदिनुहोस् ।’
प्रेमबहादुर मात्रै डोल्पाको भिजेरगाउँकी किशोरी पुंगा डोल्मा गुरुङलाई पनि कर्णाली सुन्दर छ भनेर चिनाउन मन लाग्यो । अनि आफ्नो ठाउँको उत्पादन लिएर एक्सपोमा आउनुभयो ।
‘हाम्रो उता त कति धेरै सुन्दर ठाउँहरु छन्, तर यता शहरमा त भोकमरी मात्रै छ भन्ने रहेछन्, उता घुम्न आउनुहोस्, अनि थाहा पाउनुहुन्छ हाम्रो ठाउँ कति राम्रो छ भनेर’ मुस्कुराउँदै पुंगा डोल्माले भन्नुभयो ।
काठमाण्डौ या कर्णाली क्षेत्र भन्दा बाहिर बस्ने धेरैले कर्णालीमा भोकमरी, अशिक्षा, गरिबी, असमानता छ, विकास निर्माण छैन र त्यहाँ पर्यटकीय स्थल पनि छैनन् होला भन्ने मानिसिकता बनाएका छन् ।
तर कर्णालीमा देशका अरु क्षेत्रमा नपाइने बहुमूल्य जडिबुटीदेखि दूर्लभ र रैथाने बालीनाली पनि पाइन्छन् । संसारकै अग्लो ठाउँमा पाइने कालीमार्सी धान कर्णाली क्षेत्रको चर्चित बाली हो । यस्तै नेपालले अहिले स्पेनबाट आयात गरिरहेको चिनो धान पनि कर्णाली क्षेत्रमै फल्छ ।
कागुनो धान, सेतो उवा, गहद जिम्बु रातो चामल, रातो सिमी, कालो सिमी, फापर, जौ, गहुँ, फापर, स्याउ, ओखर र आरुलगायतका बालीनाली पनि कर्णालीमै फल्छन् । यी बालीलाई परम्परागत रुपमा भन्दा पनि आधुनिक रुपमा खेती गर्न सके खाद्यान्नमा कर्णाली आत्मनिर्भर हुने मात्र नभइ मनग्य निर्यातको पनि सम्भावना रहेको छ ।
कर्णाली क्षेत्र खाद्यान्नमा मात्र होइन पर्यटकीय क्षेत्रमा पनि धनी रहेको छ । कर्णाली प्रदेशका दैलेख, डोल्पा, हुम्ला, जाजरकोट, जुम्ला, कालिकोट, मुगु, सल्यान, सुर्खेत र पश्चिम रुकुम सबै ठाउँमा मनग्य पर्यटकीय स्थल रहेका छन् ।
दैलेखमा ऐतिहासिक, पौराणिक र संस्कृतिको उद्गम स्थल धुलेश्वर, श्रीस्थान, पञ्चकोशी, नाभिस्थान, पादुका, तल्लो डुङ्गेश्वरलगायतका पर्यटकीय ठाउँ पनि छन् ।
डोल्पामा शे–फोक्सुण्डो ताल र तालसँगै जोडिएको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज मुख्य पर्यटकीय स्थल हो । यस्तै विश्वकै पुरानो मानिने से गुम्बालगायत अनेक हिमश्रृंखला हेर्न पाइने कयौं ठाउँ डोल्पामा छन् ।
कालिकोटमा पनि पर्यटकीय स्थान कम छैनन् । पचाल झरना कालिकोटको मुख्य पर्यटकीय ठाउँ हो । यस्तै लोपन्मुख तथा जंगलमा बस्दै आएका राउटे जातको रहनसहन पनि चाखलाग्दा विषय हुन् ।
रारा ताल नै मुगुको पर्यटकीय परिचय दिन काफी छ । राजा महेन्द्रले रारालाई स्वर्गकी परीसँग तुलना गरेका थिए । सल्यानको कपुरकोट, खौला, सल्लीबजार, कुपिन्डे दहलगायतका ठाउँ पनि उत्तिकै मनोरम छन् ।
यस्तै हुम्लाको मानसरोवर, सुर्खेतको देउती बज्यै, काँक्रेबिहार, बुलबुले ताल, खस भाषाको उत्पति भएको जुम्लाको सिँजा, तातोपानी धारा, चन्दननाथ मन्दिर, गुठीचौर, ठाकुरज्यू दह, विष्टज्यू दह, रङ फेर्ने गिडि दहलगायतका ठाउँ पनि कर्णाली क्षेत्रका मुख्य पर्यटकीय ठाउँ हुन् ।
यस्तै कर्णालीको पहिचानका रुपमा रहेका हुट्के नाच, कालिकोटको दमाहा नाच, मुगुको देउडा र कोइके नाच, सल्यानको सारंगे नाच, डोल्पाको पैसरु नाच, दैलेखको मारुनी नाचलगायतका सांस्कृतिक विविधतामा पनि कर्णाली धनी छ ।
कर्णालीलाई अशिक्षा, गरिबी र भोकमरीको चस्माबाट मात्रै हेरिएको भन्दै काठमाण्डौमा बृहत कर्णाली एक्स्पो गरिएको छ । कर्णालीको सुन्दरतालाई अशिक्षा र भोकमरीले छोपेकाले त्यो उघार्नको लागि एक्स्पो गरिएको बृहत कर्णाली एक्स्पोका संयोजक हुम्लाका उपेन्द्रजंग शाही बताउनुहुन्छ ।
‘अझै पनि काठमाण्डौले कर्णालीलाई दूर सम्झन्छ, नेपालकै खत्तम ठाउँको रुपमा लिन्छ, आईएनजीओहरुले पनि कर्णालीमा केही छैन, जीवन धान्न मुश्किल छ मात्रै भन्छन्, तर उनीहरुले कर्णालीका सम्भावनाको कुरै गरेनन्, त्यसैले हामी काठमाण्डौमा मेला गरेर कर्णाली चिनाउन लागि परेका छौँ’ शाहीले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।