टीकापुर घटना : के भन्छन् आज रिहा हुनेहरु ?

 फागुन २२, २०७५ बुधबार २०:२०:९ | निर्मला खडायत
unn.prixa.net

कैलाली – साढे तीन वर्ष पहिले घटेको टीकापुर घटनाका अभियुक्त लक्ष्मण थारुसहित ११ जना बुधबार जेलमुक्त भएका छन् । 

जिल्ला अदालत कैलालीले बुधबार सुनाएको फैसलाले १२ जनालाई तीन वर्ष जेल सजाय सुनाएको थियो । तर, कैद भुक्तान भैसकेकोले उनीहरुलाई आज नै जेल मुक्त गरिएको हो । अदालतले उनीहरुलाई जेलबाट मुक्त हुने भनेपछि उनका आफन्त र परिवारका सदस्यहरु कैलाली कारागारको अगाडि जम्मा भएका थिए । 

उनीहरु तीन वर्षदेखि जेलमा कैद रहेका आफ्ने परिवारका सदस्यलाई स्वागत गर्न आतुर देखिन्थे । तीन वर्ष जेल सजाय काटेर रिहा हुन लागेका किशनलाल चौधरीका दाइले भन्नुभयो, ‘तीन वर्षसम्म दुःख पायो बिचरा निर्दोष भएर पनि जेलमा बस्न बाध्य भयो ।’ उहाँले आँखाभरि आँशु पार्दै भन्नुभयो, ‘निर्दोष मान्छेलाई यसरी राख्न मिल्दैनथ्यो । यसको समस्याको समाधान सरकारले पहिले नै गर्नुपर्ने । उसको घरमा काम गर्ने मान्छे कोही थिएनन । घरको अवस्था नाजुक भएको छ ।’ 

टीकापुर घटना : सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद

आज नै रिहा हुन लाग्नु भएका प्रेम बहादुर चौधरीकी पत्नी रामकृष्णा चौधरी पनि खुशी हुँदै जेलघर अगाडि श्रीमानको आउने बाटो कुरिरहनु भएको थियो । उहाँ भन्नुहुन्छ, ‘श्रीमान नहुँदा घरमा बिजोक थियो अब श्रीमान जेलबाट छुट्दै हुनुहुन्छ, सरकारले न्याय गरेको अनुभव भयो ।’ उहाँले थप्नुभयो, ‘बुढाका साथीहरु अझै जेलमै छन् । त्यो कारण अलि दुःख लागेको छ ।’ 

जेलबाट छुट्दै गरेका ज्वाइँ रामलाल कठरियालाई लिन आउनु भएकी जुगरानी चौधरी पनि खुशी देखिनु भएको थियो । उहाँ भन्नुहुन्छ, ‘ज्वाइँ जेल आएपछि एक्ली छोरीलाई जिउन धेरै गाह्रो भएको थियो ।’ तीन वर्षका बाबु कोखमा राखेर बेसहारा छोरीको तीन वर्षसम्म मैले सहारा बने ।’ उहाँले हर्षित हुँदै भन्नुभयो, अब ज्वाइँ छुट्दै हुनुहुन्छ, छोरीको मुहारमा खुशी देखेको छु ।’

कारागारबाट निस्कँदै गर्दा टीकापुर घटनाका अभियुक्त लक्ष्मण थारुले आफूहरु रिहा भए पनि खुशी हुन नसकेको बताउनुभयो । उहाँ आफ्ना साथीहरुमाथि अन्याय भएको बताउनुहुन्छ । राज्य पक्षबाट राजनैतिक मुद्धाका रुपमा यसको छानबिन हुनु पर्ने माग गरे पनि राज्यले त्यसो नगरेको उहाँले गुनासो गर्नुभयो । ‘साथीहरुले राजनैतिक मुद्धा हो भन्दा भन्दै पनि हामीहरुलाई विभेदपूर्ण व्यवहार भएको छ’, उहाँले भन्नुभयो, ‘कैलाली अदालतले आफ्नो कर्तव्य पूरा गर्यो, अब हामीहरु आफ्ना निर्दोष साथीहरुलाई रिहा गराउन प्रयास गर्नेछौँ ।’ सरकारले थारुहरुले किन आन्दोलन गरे भन्ने कुरा नबुझेरै आफूहरुलाई जेलमा हालेको दुखेसो उहाँले पोख्नुभयो । 

जन्मकैदको सजाय पाएका रेशम चौधरीको सांसद पद गुम्ने

जेलबाट रिहा हुनुभएका रामप्रसाद चौधरी आफू रिहा भएकोमा केही खुशी भए पनि एउटै अभियोगमा जेल चलान भएका साथीहरुलाई जन्मकैदको सजाय भएकोमा दुःखी भएको बताउनुहुन्छ । ‘यो आन्दोलनका क्रममा घटेको घटना हो, त्यसैले यसलाई विशुद्ध राजनैतिक घटनाका रुपमा लिइनुपर्ने हो’, उहाँले निराश हुँदै भन्नुभयो, ‘सरकारले यस घटनामा वास्तविक न्याय गर्न सकेको छैन ।’ उहाँ जेलमा रहेका साथीहरुलाई पनि उच्च अदालतमा गएर जेलमुक्त गराउन पहल गर्ने बताउनुहुन्छ । 

बर्दिया स्कुलमा अध्यापन गर्दागर्दै समातिनु भएका रामनरेश चौधरी अदालतले आफूलाई निर्दोष बताए पनि ढिलो गरी आफूले न्याय पाएको बताउनुहुन्छ । ‘ढिलो गरी न्याय पाउनु भनेको अन्याय सरह नै हो ।’ चौधरीले भन्नुभयो, 'यदि यही न्याय मैले तीन वर्षअघि पाएको भए, धेरै खुशी हुने थिएँ ।’ उहाँ अदालतले आफूलाई न्याय गरेको भए पनि अनुभूति गर्न नसकेको बताउनुहुन्छ । अहिले पनि धेरै निर्दोष साथीहरु जेलमा रहेकोले उनीहरुलाई पनि रिहा गर्नुपर्ने उहाँको भनाइ छ । 

प्रतिवादी नुरुल अलि जागा भन्ने तहाँवर अलि जागा, विसराम चौधरी(कुस्मीं) र रामनरेश चौधरीले सफाइ पाउने अदालतले ठहर गरेको थियो ।

‘समाजको लडाइँमा मैले आफ्नो कर्तव्य मात्रै निर्वाह गरेको थिएँ’, बुधबार नै रिहा हुनु भएका प्रेमबहादुर चौधरीले भन्नुभयो, ‘साथीहरु जेलमै छुटे । उनीहरुलाई पनि रिहा गर्नुपर्छ ।’ ‘आज बल्ल छुटेँ, खुशी लाग्यो’, आजै रिहा हुनुभएका दिपबहादुर चौधरीले भन्नुभयो, ‘तीन वर्षपछि बल्ल परिवार र छोराछोरीको साथमा बस्न पाउने भएको छु । साथीहरु नछुट्दा दुःख लागेको भए पनि परिवारसँग भेट्न पाउदा खुशी लागेको छ ।’

‘टीकापुरको घटना घट्नु दुःखद हो’, आजै रिहा हुनुभएका किशनराज चौधरीले भन्नुभयो, ‘टीकापुर घटनामा राजनैतिक घटनाका रुपमा फैसला हुनु पर्ने भए पनि त्यसो भएन ।’ 

कैद भुक्तान गरेर जेलमुक्त हुनुभएका अधिकांश धेरै खुशी देखिँदैनथे । घटनालाई राजनैतिक रुपमा हेरिनुपर्ने उनीहरुको माग थियो । थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शनमा ८ सुरक्षाकर्मीसहित एक नाबालकको हत्या भएको थियो । 

घटनाका मुख्य योजनाकारको आरोप लागेका सांसद रेशम चौधरीसहित ११ जनालाई जिल्ला अदालत कैलालीले आज जन्मकैदको सजाय सुनाएको छ । 

 

 

अन्तिम अपडेट: चैत १२, २०८०

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया