वृद्धको हत्या गरेर भाग्ने पक्राउ

 फागुन २३, २०७५ बिहिबार १७:१७:३८ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – धनकुटाको चौबिसे गाउँपालिका–३, कुरुलेतेनुपाका ६९ वर्षीय सनबहादुर याखाको हत्यामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

मृतक याखाको हत्या गरी फरार रहेका पाँचथर जिल्ला तुम्बेवा गाउँपालिका–२ का २३ वर्षीय माकुन्दे भन्ने रमेश लावतीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो । चौबिसे गाउँपालिका–३, सार्केस्थित नयाँखोला गोठमा बस्दै आएका याखालाई पैसा सापटी माग्ने क्रममा विवाद भएपछि लावतीले २०७५ माघ ३ गते हत्या गरेका थिए ।

याखाको हत्यापश्चात् लामो समयसम्मको अनुसन्धानको क्रममा लावतीले हत्या गरेको खुल्न आएपछि लावतीलाई खोजतलास गर्दै जाँदा धनकुटाको चौबिसे गाउँपालिका–२ मुढेवासबाट फागुन २२ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो । 

हत्याका आरोपित लावतीले याखाको गोठबाट पहिले पनि ज्याके लगायतका विभिन्न सामानहरु चोरेको खुल्न आएकाले अनुसन्धान गर्दै जाँदा याखाको हत्या पनि उनले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । धनकुटाको मूलघाटस्थित लेउती खोलामा मजदुरी गर्दै आएका लावती माघे संक्रान्ति मनाउनको लागि घर गएका थिए ।

लावती घरबाट माघ ३ गते काममा फर्कने क्रममा याखाको गोठमा गएर याखासँग ५ हजार रुपैयाँ सापटी रकम माग गरेको र याखाले रकम नदिएपछि विवाद हुदाँ गाई बाँध्ने किलाले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएपछि खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको एसपी गुरुङले बताउनुभयो ।

याखाको हत्यापछि लावतीले याखाको साथमा रहेको नगद ८ हजार रुपैयाँ लिएर फरार भएका थिए । प्रहरीले खोजतलास गर्ने क्रममा धनकुटाको चौबिसे गाउँपालिका–२ बाट पक्राउ गरी फागुन २२ गते जिल्ला अदालत धनकुटामा कर्तव्य ज्यानअन्तर्गतको मुद्दा दायर गरी थप अनुसन्धानको लागि पाँच दिनको म्याद थप गरिएको एसपी गुरुङले बताउनुभयो । 

घटनापश्चात् मृत्तकको छोरी धनकुटाको महालक्ष्मी नगरपालिका–५ की अनुसा याखा (राई) ले माघ ४ गते जिल्ला प्रहरी कार्यालय धनकुटामा किटानी जाहेरी दिएकी थिईन् । सोही आधारमा हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही अगाडि बढाएको प्रहरीले बताएको छ ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया