मनकामना मन्दिरको जीर्णोद्धार कार्य सकियो

 फागुन २३, २०७५ बिहिबार १७:४९:१४ | किरण लोहनी
unn.prixa.net

गोरखा – राष्ट्रपति विद्यादेवी भण्डारीले गोरखाको मनकामना मन्दिर जीर्णोद्धार कार्यको समापन गर्नुभएको छ । 

आज मन्दिरमा विशेष पूजाआजासहित उहाँले जीर्णोद्धारको कामको समापन गर्नुभएको हो । राष्ट्रपति भण्डारीले मनकामना मन्दिर जीर्णोद्धारका क्रममा सरकार र स्थानीय बासिन्दाबीच भएको सहकार्य उदाहरणीय रहेको बताउनुभयो । 

मनकामना मन्दिर जीर्णोद्धारका क्रममा पुरातत्व विभागले ४ करोड रुपैयाँ विनियोजन गरेको थियो भने भक्तजनहरुबाट झण्डै १२ करोड रुपैयाँ संकलन गरिएको थियो । सरकार र नागरिकबीच सहकार्य भए विकासका कामहरु सहज रुपमा गर्न सकिन्छ भन्ने उदाहरण मनकामना मन्दिर जीर्णोद्धारले देखाएको उहाँको भनाइ छ । 

राष्ट्रपति भण्डारीले मन्दिर जीर्णोद्धारमा आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान पनि गर्नुभयो । नेपाली सेनाको हेलिकप्टरमा दिउँसो साढे १ बजे मनकामना आइपुग्नुभएकी राष्ट्रपतिले मन्दिरमा पूजाआजा पनि गर्नुभएको थियो । जीर्णोद्धार समापन कार्यक्रमका वक्ताहरुले मनकामना क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्नुपर्ने बताएका छन् । 

शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले गाउँ कार्यपालिकाको बैठकले विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने निर्णय गरिसकेको भन्दै त्यसका लागि सहयोग गर्न राष्ट्रपति भण्डारीलाई आग्रह गर्नुभयो । 

गोरखा निर्वाचन क्षेत्र नम्बर १ का सांसद हरिराज अधिकारीले मनकामना मन्दिरसँगै आसपासका अन्य धार्मिक स्थललाई समेट्ने गरी गुरुयोजना बनाउनुपर्ने बताउनुभयो । 

पुरातत्व विभागका कायममुकायम महानिर्देशक दामोदर गौतमले मनकामना मन्दिरको ऐहितासिक र धार्मिक महत्वबारे जानकारी गराउनुभयो । मनकामना मन्दिर जीर्णोद्धारको काम २०६८ सालबाट सुरु भएको हो । जीर्णोद्धारको काम सक्न १४ करोड ६४ लाख रुपैयाँ खर्च भएको जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताउनुभयो । 

राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि मनकामना मन्दिर क्षेत्रको सुरक्षामा कडाइ गरिएको थियो । राष्ट्रपतिले पूजाआजा गर्ने समयमा झण्डै एक घण्टा भक्तजनहरुलाई पूजा गर्न दिइएको थिएन । कतिपय भक्तजन आफूले ल्याएको फूलप्रसाद मन्दिर परिसरमै छोडेर फर्किएका थिए । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया