प्राविधिकले लगाएका ताला प्रहरीले फुटाए

 चैत ४, २०७५ सोमबार १९:१९:१७ | किरण लोहनी
unn.prixa.net

गोरखा  – पुनर्निर्माणमा खटिएका प्राविधिकहरुले भवनअन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाईमा लगाएको ताला प्रहरीले खोलेको छ । 

गएका वर्षहरुमा पाउँदै आएको प्रोत्साहन भत्तालगायतका सेवा सुविधालाई निरन्तरता दिन माग गर्दै आएका प्राविधिकहरुले आज दिउँसो जिल्ला आयोजना कार्यान्वयन इकाईमा ताला लगाएका थिए । तालाबन्दी गर्नुअघि प्राविधिकहरुले आफ्ना मागहरुबारे इकाई प्रमुख सुनिता श्रेष्ठलाई जानकारी गराएका थिए । ‘कि हामीसँग सम्झौता गर्दैमा तलबबाहेक अरु सुविधा दिन्नौं भन्नुपर्थ्यो, सम्झौता एकथरि गर्ने, अनि गत वर्षहरुमा दिएको सुविधा कटौती गर्ने’, जिल्लाका आन्दोलनरत प्राविधिकहरुले गठन गरेको संघर्ष समितिका संयोजक बलराम घिमिरेले भन्नुभयो, ‘हामीले राज्यसँग भिख मागेको होइन, हाम्रो अधिकार र सरकारको दायित्वको कुरा सम्झाएको हो ।’ 

पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले अटेर गरेकाले कडा खालको कार्यक्रम गर्न बाध्य भएको घिमिरेले बताउनुभयो । जिल्ला आयोजना कार्यान्वयन इकाई प्रमुख श्रेष्ठले भने प्राविधिकहरुको माग पूरा गर्ने प्रक्रिया सुरु भैसकेको भन्दै तालाबन्दी नगर्न पटक–पटक आग्रह गर्नुभयो । ‘तपाईँहरुको मागबारे केन्द्रीय आयोजना कार्यान्वयन इकाई र पुनर्निर्माण प्राधिकरण गम्भीर छ, माग सम्बोधनको प्रक्रिया सुरु भैसकेको जानकारी मैले पाएको छु’, उहाँले भन्नुभयो, ‘तालाबन्दी गर्नुको औचित्य देख्दिनँ म, त्यसो भएमा प्रशासनलाई जानकारी गराउनु मेरो दायित्व हुनेछ ।’ 

इकाई प्रमुख श्रेष्ठको आश्वासनले प्राविधिकहरुलाई चित्त बुझेन । पुनर्निर्माणमा खटिएका अर्का इन्जिनियर गणेश गिरीले भन्नुभयो, ‘तालाबन्दी हाम्रो केन्द्रीय कार्यक्रम हो, अरु जिल्लामा पनि भएको छ, यहाँ पनि हुन्छ, हामी हाम्रो अधिकारका लागि संघर्षको मैदानमा उत्रन तयार छौँ ।’ 

प्राविधिकहरुले तालाबन्दी गर्ने अडान लिएपछि श्रेष्ठले प्रहरी प्रशासनलाई त्यही व्यहोरा जानकारी गराउनुभयो । तत्काल सईको नेतृत्वमा ५ जना प्रहरी इकाई कार्यालय आइपुगे । प्राविधिकहरुलाई प्रहरीको पनि आग्रह थियो, ‘आफ्नो माग पूरा गराउन पहल गर्नुहोस् हामी केही भन्दैनौँ तर एउटा सरकारी कार्यालय बन्द गराउनु त भएन नि ।’ प्राविधिकहरुले ताला लगाउनै थाले ।

सुरुमा जिल्ला आयोजना कार्यान्वयन इकाईमा ताला लगाएका उनीहरुले प्राविधिक शाखा, जाइकाको सम्पर्क कार्यालय हुँदै मूल गेटमा ताला लगाउन खोजेपछि भने प्रहरीले रोक्यो । निकै बेरको सवालजवाफपछि प्राविधिकहरु मूल गेटमा ताला लगाएर कार्यालय रहेको घरको परिसरमा जम्मा भए । यता प्रहरीले भने चारै वटा ढोकामा लगाएको ताला फुटायो । प्राविधिकहरुले प्रहरी दमन भन्दै एकछिन नारावाजी गरे । उनीहरुले चैत १५ गतेबाट हुने पुनः जाँच सर्भेक्षणमा भाग नलिनेलगायतका निर्णय गरेका छन् । 


 

अन्तिम अपडेट: चैत १६, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया