गाउँलाई माया गर्ने पूर्वमन्त्रीकाे २३ वर्षपछि ‘गृह प्रवेश’

 चैत ७, २०७५ बिहिबार १५:४९:४२ | किरण लोहनी
unn.prixa.net

गोरखा- गोरखाको पालुङटार नगरपालिका-६ मा पर्दछ कसेरी फाँट । मर्स्याङदी किनारदेखि सालघारी जंगलसम्म फैलिएको यो टारीफाँटलाई तल्लो र माथिल्लो कसेरी गरेर दुई भागमा छुट्याइएको छ ।

फाँटलाई ठ्याक्कै दुई चिरा पारेर पालुङटार–अँबुवा सडक निर्माण गरिएको छ । फाँटको अलि उच्च परेको भागमा बन्दै गरेको नेपाली शैलीको घरले सबैको ध्यान तान्छ । यो घर हो, पूर्वमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी नेकपाका गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेको ।

सडकबाट २ सय मिटर भित्र छिरेर घर निर्माणस्थल पुग्दा पूर्वमन्त्री पाण्डे प्लास्टर गरिएको भित्तामा पानी हाल्दै गरेको भेटिनुभयो ।

‘घर बनाउनका लागि घडेरी खार्दै थिएँ, छरछिमेकका धेरै मान्छेले मैले यहाँ घर बनाउँछ भनेर पत्याउनु नै भएन’ कुराकानीको सुरुमै पाण्डेले भन्नुभयो, ‘अब घर निर्माण सकिनै लागेपछि भन्न थालेका छन्, यत्रो खर्च गरेर घर बनाए पनि यो घरमा को बस्ला ?’

पालुङटारकै चल्तीका दुई वटा स्कुलको पूर्व हेडसर, गाउँको सम्पन्नै परिवारका मान्छे, दुई पटकका सांसद र एक पटक मन्त्री समेत भैसकेका पाण्डेले शहरमा घरबार जोड्न पनि सक्थे वा अझै पनि सक्छन् । त्यसबाहेक नेकपाको गण्डकी प्रदेशका अध्यक्ष रहेका पाण्डेको राजनीतिक कामका लागि पोखरा या काठमाण्डौमा घर बनाउँदा सजिलै हुन्थ्यो ।

तर पाण्डेले भने झण्डै ३५ लाख रुपैयाँ खर्चेर पुर्ख्याैली थलोमा घर ठड्याउनुभयो । किन त ? 

पाण्डे भन्नुहुन्छ, ‘पहिलो कुरा हाम्रो देशमा समाज बनाउने मान्छेहरुको खडेरी हुन लाग्यो, थोरै चेतनाले भरिएकाहरुले पनि गाऊँ छोड्न थाले, शहर बसेर बेस्सरी गाउँको चिन्ता गर्छ तर भौतिक रुपमा आउँदैन’ उहाँको प्रश्न छ, ‘हामी लिडरहरु गाउँमा नआउने हो भने समाज कसले बनाउँछ ?’ आफ्नै गाउँको नयाँ पुस्ताले नचिन्ने र पुरानो पुस्ता नजिकै नपर्ने अवस्था आएको कुराले पनि पाण्डेको मन नराम्ररी बिथोलिएको रहेछ ।

‘जेठमा पार्टी एकता भएपनि सांगठनिक एकता नभैसकेको बेलाको फुर्सदको समय गाउँमा बिताएँ’ उहाँले भन्नुभयो, ‘दुई महिना मेरो समाज, यहाँका मान्छेको मनोदशाबारे गहिरो अध्ययन गर्ने मौका पाएँ, अनि यतै आएर बस्ने निर्णय गरें ।’

गएको वर्षायामको पूरै समय गाउँमा बिताउनुभएका पाण्डेले लामो समयदेखि बाँझो रहेको खेतमा धान रोप्नुभयो, बारीमा मौसमी तरकारी । ३ हजार तिरेर एउटा लोकल गाई किनेर ल्याउनुभयो ।

खेतीपातीको कामसँगै घर निर्माण पनि सुरु भयो, झण्डै एक वर्षमा बल्ल बल्ल निर्माण पूरा हुन लागेको छ । ‘घरको प्रविधि नयाँ भए पनि शैली भने पुरानै छ, भूकम्पले भत्किएको पुरानो घरको झ्यालढोका पनि प्रयोग गरेको छु, सुविधाको दृष्किोणले आधुनिक छ’ पाण्डेले घरको विशेषता सरसर्ती बताउनुभयो । 

२३ वर्षपछि गृह प्रवेश

घरको रंगरोगन र अरु फाट्टफुट्ट काम बाँकी छँदै पूर्वमन्त्री पाण्डे बारीमा टाँगिएको त्रिपालबाट गएको फागुन २ गते नयाँघरमा सर्नुभयो । यति हतार गरेर नयाँ घरमा भित्रनुको बडो भावनात्मक पक्षबारे उहाँले भावुक भएर वर्णन गर्नुभयो ।

‘च्याङ्लीको जीवनज्योति माविको हेडमास्टर थिएँ, जनयुद्ध सुरु भएको वर्ष अर्थात २०५२ माघ २८ गतेबाटै पूर्णकालीन कार्यकर्ता भएको थिएँ’ उहाँले भन्नुभयो, ‘फागुन १ गतेबाट जनयुद्ध सुरु भयो, २ गते त म पनि भूमिगत भैहालें ।’

भूमिगत जीवनमा आक्कलझुक्कल घर आए पनि बलेसी कटेर पिँढीसम्म पनि उक्लने मौका नपाएको उहाँ बताउनुहुन्छ । शान्ति प्रक्रियापछि पनि घर आउने जाने क्रम चल्यो, तर मूल ढोकाबाट भित्र छिर्ने मैसै मिलेन । कसेरी फाँटबाट झण्डै आधाघण्टा माथि पर्ने तल्लो मैदान गाउँमा पाण्डेको पुर्ख्याैली घर छ, पाण्डेले भूमिगत हुनुअघि अन्तिम रात बिताएको घर पनि त्यहीँ छ ।

अहिले नयाँ घर बन्दै गरेको ठाउँमा श्रीमती सानु लोहनी पाण्डेको सक्रियतामा बनेको अर्को घर थियो । ‘त्यो घरमा पनि भित्र छिर्ने मौका मिलेको त थिएन नै, २०७२ को भूकम्पले भत्किएपछि त कुरै सकिगो’ पाण्डेले भन्नुभयो । 

तत्कालीन माओवादीको बालाजु विस्तारित बैठकले नेताहरुको सम्पत्ति पार्टीकरण गर्ने निर्णय गर्‍यो, उहाँले पनि गोरखाको ५ रोपनी खेत र चितवनको घडेरी पार्टीलाई बुझाउनुभयो ।

‘सर्वहाराकृत हुने भनेर २०६० सालमा जग्गा बेचियो र त्यो पैसा पार्टीलाई बुझाइयो, अहिले घर बनाएको ठाउँ वरपरको खेतबारी चाहिँ पैतृक हो ।’ उहाले भन्नुभयो ।

पाण्डेकी श्रीमती सानुसहित छोरी बन्दना र दुई छोरा मिलन र किरण पनि भूमिगत हुनुहुन्थ्यो । २०६० पुष ४ गते छोरा मिलन शहीद हुनुभयो । जनयुद्धभर छरपष्ट बनेको पारिवारिक सम्बन्धलाई पाण्डेले शान्ति प्रक्रिया पछि पनि सम्हाल्न भ्याउनुभएन ।

‘तर फुर्सद हुनासाथ पुर्ख्याैली थलो पुगौं पुगौं भन्ने लागिरहन्थ्यो’ उहाँले भन्नुभयो, ‘पार्टीको सांगठनिक एकता नटुंगिसकेको बेलाको फुर्सदलाई पुर्ख्याैली थलोमा रमाउने र घर बनाउने मौकाका रुपमा सदुपयोग गर्न पाएँ ।’

नयाँ घरमा नयाँ वर्षबाट सर्ने कि भन्ने पनि लागेको थियो पाण्डे दम्पतीलाई । ‘तर फागुन २ कसरी बिर्सन सक्थें र, ५२ साल फागुन २ गते घर छोडेर हिँडेको थिएँ, २३ वर्षपछि त्यही दिनलाई सम्झिदै घर छिरें’ भावुक हुँदै पाण्डेले भन्नुभयो, ‘२३ वर्षसम्म एक पटक पनि घर छिर्न पाएको रहेनछु ।’

पार्टीको केन्द्रीय कार्यालयको मुख्य सचिव, सांसद, मन्त्री हुँदै अहिले नेकपा गण्डकी प्रदेशको अध्यक्ष रहेका पाण्डेलाई राजनीतिक सक्रियतापछिको सबै जीवन त्यही घर र त्यही गाउँमा बिताउने रहर छ । गाउँलेहरुसँग एकाकार हुने मन छ, सपनाको खोजीमा भौंतारिदै शहर र विदेशसम्म पुगेका तन्नेरीहरुलाई गाऊँ फर्काउने आधार खडा गर्ने धोको छ ।

बाँझो जमिनमा सकेको खेतीपातीको काम गरे मात्रै पनि देश आत्मनिर्भर बन्ने बाटोतिर जाने उहाँको विश्वास छ । ‘देशको आर्थिक समृद्धिको प्रमुख आधार कृषि नै हो, युवालाई कृषितर्फ आकर्षित गराउन राज्यले नै आफ्नो दायित्व पूरा गर्नुपर्छ, हामी लिडरहरुले गाऊँमा बसेर नयाँ पुस्तालाई थोरै उर्जा थपिदिनुपर्छ भन्ने लाग्छ ।’

अहिले ६५ वर्षका पाण्डेलाई अझै ५-७ वर्ष राजनीतिमा सक्रिया भइन्छ कि जस्तो लागेको छ । ‘त्यसपछिको बाँकी समय यही गाउँ, यही घरमा बिताउनेछु ।’ उहाँले भन्नुभयो ।   

अन्तिम अपडेट: साउन २९, २०७६

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • हरि सिंखडा

    March 22, 2019, 4:44 p.m.

    सुन्दर लेखाई किरण जी

  •  0 Reply

तपाईको प्रतिक्रिया