बाराका डिभिजन वन प्रमुखसहित ३ कर्मचारी पक्राउ

 चैत १५, २०७५ शुक्रबार १७:४:१५ | जयनारायण यादव

बारा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटाैँडा कार्यालयले डिभिजन वन कार्यालय बाराका प्रमुखसहित तीन जना कर्मचारीलाई घुस रकमसहित शुक्रबार दिउँसो पक्राउ गरेको  छ ।

हेटौडास्थित आयोगको कार्यालयबाट खटिएको प्रहरी नायब उपरीक्षक केशव भट्टराई नेतृत्वको टोलीले डिभिजन वन कार्यालयका प्रमुख शिवशंकर ठाकुर, सहायक वन अधिकृत गौरीशंकर केशरी र कार्यालय सहयोगी रामचन्द्र अधिकारीलाई एक लाख १५ हजार  रुपैयाँ घुससहित पक्राउ गरेको हो ।  

पक्राउ परेकामध्ये सहायक वन अधिकृत केशरीको साथबाट नगद २५ हजार र प्रमुख ठाकुरलाई बुझाउने क्रममा कार्यालय सहयोगी अधिकारीको साथबाट ९० हजार रुपैया“ नगदसहित पक्राउ गरिएको आयोगले जनाएको छ ।

पक्राउ परेका तीनै जना कर्मचारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि आयोगको टंगालस्थित कार्यालयमा पठाउने हेटौडास्थित आयोगका प्रमुख हुमकला पाण्डेले जानकारी दिनुभयो ।

वन कार्यालयले आह्वान गरेको कबाडी ठेक्काको टेन्डर स्वीकृति गर्न डिभिजन वन कार्यालय प्रमुखसहित तीनै जना कर्मचारी ठेकेदारसँग घुस रकम लिएको आयोगले जनाएको छ ।

निगरानी बढाइएको अवस्थामा ठेक्कालाई स्वीकृति गर्न प्रमुख ठाकुर र सहायक वन अधिकृत केशरीले कार्यालय सहयोगी अधिकारीमार्फत घुस रकम लिएको अवस्थामा पक्राउ गर्न सकिएको पाण्डेले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया