आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
धनगढी - सुदूरपश्चिम प्रदेशको एकमात्र अस्पताल सेती अञ्चल अस्पताल विशेषज्ञ चिकित्सकविहीन बन्ने अवस्थामा पुगेको छ ।
अस्पतालमा रहेका अधिकांश सरकारी चिकित्सक समायोजन भएर संघमा गएपछि अस्पताल चिकित्सक विहिन बन्ने अवस्थामा पुगेको हो । अस्पतालमा १५ जना चिकित्सक रहेकोमा १३ जना समायोजनपछि संघमा फर्किने तयारीमा छन् ।
समायोजन हुँदा दुई जनाले मात्र प्रदेश रोजेको र उनीहरु मात्रै अस्पतालमा रहेका छन् । समायोजनमा संघ रोजेका डा.कपिल गौतम संघीय सरकारले गरेको समायोजन कार्यान्वयन भए सुदूरपश्चीम प्रदेश चिकित्सकविहीन बन्ने बताउनुहुन्छ ।
सुदूरपश्चिम प्रदेशको एकमात्र रेफरल अस्पतालका रुपमा रहेको सेती अञ्चल अस्पतालमा कार्यरत १५ सरकारी चिकित्सकमध्ये डा. खगेन्द्र भट्ट र जगदीश जोशी दुई जनाले मात्रै प्रदेश रोजेका छन् ।
सरकारी चिकित्सक संघ र नेपाल चिकित्सक संघले भने देशको विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरुलाई संघले नै चलाउन पर्ने मागसहित आन्दोलन गरिरहेका छन् ।
समायोजनका नाममा चिकित्सकलाई संघ र प्रदेश भनेर छुट्याउन नहुने नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश संयोजक डा.प्रमोद जोशी बताउनुहुन्छ ।
अस्पतालमा रहेका अधिकांश सरकारी चिकित्सकले सङ्घ रोजे पनि त्यसको औपचारिक जानकारी भने अहिलेसम्म आफूहरुलाई नआएको सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले बताउनुभयो ।
चिकित्सकको संघमा समायोजन गरिए पनि सेती अस्पतालका लागि आवश्यक व्यवस्था मिलाउनु पर्ने डा.पाण्डेय बताउनुहुन्छ । प्रदेश मातहत रहेका सरकारी अस्पतालका डाक्टरहरुलाई संघीय सरकारले समायोजन गरेर आफूमातहत राखेको छ ।
समायोजनमा चिकित्सकहरुले संघ रोजेपछि सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तह डाक्टर विहिन नै हुने भएका छन् ।
तर सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्रालयका सचिव गोगनबहादुर हमालले भने समायोजनका कारण प्रदेशको स्वास्थ्य सेवामा समस्या नआउने दाबी गर्नुहुन्छ ।
वि.सं. १९९७ सालबाट १५ शैयासहित जिल्ला अस्पतालको रुपमा सेवा शुरु भएको हाल ५० शैयाका लागि स्वीकृति पाएको छ । तर, अस्पतालले आन्तरिक स्रोतबाट थप गरेर २ सय ४० शैया सञ्चालन गरिरहेको छ ।