पावरको लत रक्सीकोभन्दा पनि खतरनाक रहेछ

 बैशाख १, २०७६ आइतबार १७:३:३४ | स्वामी आनन्द अरुण
unn.prixa.net

राजनीतिमा युवा र जुझारु व्यक्तिहरुको पकड नभएसम्म देशले समृद्धि हासिल गर्न सक्दैन । देश चलाउने भनेकै अब युवा र जुझारुहरुले हो । तर हाम्रो देशमा के देखिन्छ भने जो सबैभन्दा बढी अस्वस्थ छ, जो उमेरले वृद्ध अवस्थामा पुगेको छ उसैको काँधमा राजनीतिक नेतृत्वको दायित्व छ । 

त्यो बाट उसले न त विश्राम लिन खोज्छ न त उसलाई विश्राम लगाउने गरी अरु कोही निस्कन सकेको छ । 

एक पटक पावरमा पुगिसकेपछि त्यो व्यक्ति सँधै पावरमा नै बसिरहूँ भन्ने खालको मनोवृत्तिले ७०-८० कटिसकेकाहरु अझैसम्म पनि राजनीतिक दलको प्रमुख र मन्त्री–प्रधानमन्त्री बनेर बसेका छन् । 

राजनीतिक पावर साँच्चै रक्सीको लतभन्दा पनि खतरनाक रहेछ । एक पटक पावरमा पुगेपछि वा भनौँ राजनीतिक लत कुनै पनि लागुऔषधको लतभन्दा खतरनाक हुने रहेछ । हाम्रो समाजको बनोट नै यस्तै खाले छ । जहाँ हामी पावरको पूजा गर्छौँ ।

पावरबाट हटेपछि उसको कुनै मूल्य हुँदैन भन्ने सोचले ग्रस्त छौँ हामी । जस्तो पूर्व मन्त्रीहरु न्युरोडमा कति घुमिरहेका हुन्छन् कसैले नमस्ते गर्छ, कतिपयले त उसलाई चिन्दैनन् पनि । 

राजनीतिक पावर साँच्चै रक्सीको लतभन्दा पनि खतरनाक रहेछ । एक पटक पावरमा पुगेपछि वा भनौँ राजनीतिक लत कुनै पनि लागुऔषधको लतभन्दा खतरनाक हुने रहेछ । हाम्रो समाजको बनोट नै यस्तै खाले छ । जहाँ हामी पावरको पूजा गर्छौँ ।

तर त्यही व्यक्ति मन्त्रीको सपथ लिन नपाउँदै सबै उसैको पछि लाग्छन् । हरेक दिन उसका बारेका समाचार सञ्चारमाध्यममा हटकेक बनेर आउँछ । पावरलाई हामीले यति धेरै महत्व दिएका छौँ कि त्यसले गर्दा पावरबाट हट्नेबित्तिकै मान्छे विक्षिप्त हुन्छ । चुनाव हारेका नेता हेर्नुस् या पूर्व मन्त्रीहरुलाई हेर्नुस्, कस्तो स्थिति हुन्छ त्यसबाट पनि थाहा हुन्छ । 

राजनीतिज्ञको स्वास्थ्य ठिक हुनुपर्छ 

हाम्रा शीर्ष राजनीतिज्ञहरु धेरैजसो अस्वस्थ छन् । उनीहरु अधिकांश समय अस्पतालमा उपचार गराइरहनुपर्ने, चिकित्सकको निगरानीमा बसिरहनुपर्ने खालका छन् । 

राजनीतिज्ञको मात्रै होइन सबै व्यक्तिले पहिले आफ्नो स्वास्थ्य ठिक राख्नुपर्छ । अधिकांश राजनीतिज्ञको स्वास्थ्य ठिक छैन अहिले । जब व्यक्ति स्वस्थ हुँदैन भने उसँग जोश जाँगर पनि रहँदैन । र अधिकांश समय स्वास्थ्य जाँचमा खर्च गर्नुपर्ने हुन्छ । 

त्यसका लागि राष्ट्रको पैसा जान्छ । किनकि उनीहरुको स्वास्थ जँचाउन कहिले बैंकक, कहिले न्युयोर्क त कहिले दिल्ली पठाउनुपर्ने हुन्छ । 

त्यो भनेको राष्ट्रिय ढुकुटी खर्च गर्नु हो । उनीहरुको स्वास्थ्य बिग्रिनु भनेको उनीहरुको व्यक्तिगत समस्या मात्रै होइन । तपाइँका,े मेरो सबैको बाट कटाएर जम्मा गरेको राजश्व पनि खर्च गर्नु हो ।  

त्यसकारण यदी मैले भनेको हुने थियो भने त राजनीतिमा एउटा निश्चित क्राइटेरिया राखिदिन्थेँ । 

योङ मान्छे, हेल्दी मान्छे हुनुपर्ने मापदण्ड तय हुन्थ्यो । भोट मात्रै ल्याएर हुँदैन नि, उसको हेल्थ ठिक छ कि छैन भन्ने कुरोले ठूलो महत्व राख्छ नि । राजनीतिज्ञ मान्छेले त १८ घण्टा काम गर्नुपर्छ । त्यसैले उ त स्वस्थ हुनुपर्ने पहिलो शर्त हो नि । होइन भने त उसले काम नै गर्न सक्दैन नि । 

एउटा कर्मचारी जसले ८ घण्टा काम गर्छ उसले काम गर्ने अधिकतम उमेर भनेको ५८ निर्धारित छ । त्यसपछि उसलाई सरकारी सेवाबाट रिटायर्ड गरिन्छ ।   त्यस्तै एउटा मापदण्ड राजनीतिकर्मीका लागि पनि बनाउनु जरुरी छ ।  यहाँ त एउटा मिनिस्टर जसले १८ घण्टा काम गर्नुपर्छ उ चै ७०-८० वर्ष हुँदा पनि रिडायर्ड हुँदैन । कहिल्यै रिडायर्ड हुँदैन । यो त लजिकल भएन नि ।  

भ्रष्टाचार बाध्यता बनेको छ  

नेपालमा झन्डै ९० हजार जति हाम्रा सन्यासी छन् । हाम्रा सन्यासीहरु अधिकांश साकाहारी छन् । मासु खाँदैनन्, रक्सी खाँदैनन् । त्यसैले हाम्रा अनुयायीहरु भ्रष्टाचार गर्दैनन् । किनभने जति हाम्रो जीवन आर्टिफिसियल बन्छ त्यति नै बढी भ्रष्टाचार हुन्छ । जति तडक भडक गर्नु पर्छ त्यति नै भ्रष्टाचार गर्नुपर्छ ।  
जीवन सामान्य, साधारण भयो भने थोरै पैसाले पनि काम चल्छ । त्यसैले हाम्रा सन्यासीहरुले भ्रष्टाचार गर्दैनन् ।

उनीहरु शारीरिक रुपमा पनि स्वस्थ छन्, आचरणमा पनि स्वस्थ छन् । उनीहरु जहाँ गए पनि स्वस्थ नै हुन्छन् । त्यसैले मैले भन्ने पनि गरेको छु हाम्रा सन्यासीहरु राजनीतिमा आए अहिले देखिएको विकृति हदसम्म निराकरण हुन्छ नै । 

हाम्रा सन्यासीहरुको दिनचर्या योग र ध्यान बाट सुरु हुन्छ । अधिकांशले रक्सी खाँदैनन्, मासु खाँदैनन् । थोरैमा नै गुजारा चल्छ । तुलनात्मक रुपमा अनुशासित छन् । शत प्रतिशत इमान्दारिता देखाएर पनि नेपालमा बाँच्न गाह्रो छ । 

एउटा सरकारी कर्मचारीको कुरा गरौँ । एउटा सेक्सन अफिसरको तलब ३०-३५ हजार होला धेरैमा । यदी उसको काठमाण्डौमा घर छैन भने त्यो त घरभाडा र खानामा नै सकिन्छ । त्यसैले बेइमानी नगरी त बाँच्नै सक्दैन । बेइमानी त बाध्यता हो । 

उसले छोरा छोरी पढाउनुपर्यो, घरभाडा तिर्नुपर्या, श्रीमतीको कपडा किन्नुपर्यो । ३५ हजारमा सबै सम्भव त ? छैन नि । त्यसैले भ्रष्टाचार उसका लागि बाध्यता हो । 
हाम्रो अर्थतन्त्रमा नै यसलाई अप्सनलमा राखेको पाइँदैन । हामी सबै भ्रष्ट छौँ तर देखावटी रुपमा भने हामी इमान्दार छौँ भन्छौँ । यो भनेको त झनै डबल बेइमानी हो । 

उनीहरु शत प्रतिशत नै इमान्दार छन् भने काठमाण्डौमा कसरी कुनै एउटा सेक्सन अफिसरले घर बनाउन सक्छ ? सबैभन्दा बढी तलब खाने सरकारी कर्मचारीले पनि काठमाण्डौमा आफ्नो तलबबाट मात्रै पैसा बचाएर ८ आना जग्गा किन्न त सम्भव छैन भने महल ठड्याउनु सम्भव हुने कुरै होइन । तर पनि अधिकांश उच्च तहका कर्मचारीको काठमाण्डौमै घर छ । त्यसकारण भ्रष्टाचारको अर्को अप्सन नै छैन अहिलेको अर्थतन्त्रमा ।  

सुसाइडको किनारबाट निस्केको म

मेरै कुरा गर्नुपर्दा म यो अध्यात्ममा लाग्नुभन्दा अघि धेरै दुःखी थिएँ । अध्यात्ममा लागे पनि सुरुवातका बेला गलत गुरुकोमा परेको थिएँ । सुरुका दिनमा लसुन नखाउ, प्याज नखाउ, भन्नेजस्तो मात्रै सिकाइयो । तर मलाई सुखी कसरी हुन कसैले सिकाएन । तर पछि म ओशोको चरणमा पुगें । त्यहाँ पुगेपछि मात्रै जिन्दगीले यो मोड लियो । यदी ओशो मेरो जीवनमा नआएको भए म मर्थेँ होला । त्यो बेला म एकदमै दुःखी थिएँ । लगभग सुसाइडको किनारमा पुगेको मान्छे हुँ म । 

मैले ओशोलाई म दुनियाको सबैभन्दा दुःखी मान्छे छु गुरु भनेर भन्दा उहाँले मलाई भन्नुभएको थियो, ‘म तिमीलाई यो संसारको सबैभन्दा सुखी व्यक्ति बनाउनेछु । तिमीलाई मात्रै होइन तिम्रो हातबाट लाखौँ मान्छेलाई म सुखी बनाउँछु । तिमलाई यस्तो बनाउँछु कि तिमी जहाँ जान्छौ त्यहाँ सुखको वर्षा हुन्छ ।’

अध्यात्म नै हो अहिलेको परिवर्तनको बाटो । अन्धकाररुपी जीवनलाई उज्यालोमा लैजाऔँ । एउटा नयाँ जीवन दृष्टि ल्याऔँ भन्नेमा नै हामी लागेका छौँ । सन्तुष्टि, सुख र खुशीका लागि धेरै सम्पन्न हुनु जरुरी छैन । धन-धान्यले पूर्ण भएर पनि सुख, खुशीबाट बन्चित भएकाहरु हामीले देखेका छौँ । 

सापेक्षिक रुपमा भन्ने हो भने आजको दिनमा उहाँले भन्नुभए झैँ म आफूलाई धेरै सुखी व्यक्तिको रुपमा लिन्छु । नेपालमा ९० हजार मजस्ता सन्यासीलाई मैले शिक्षा दिएको छु । विदेशमा पनि ४०-४५ हजार छन् । उनीहरुले पनि बडो आनन्दित र खुशीको जीवन व्यतित गरिरहेका छन् । 

दिनभरी हाँस्छौँ, बेलुका नाच्छौँ । बिहान योगबाट दिनचर्या सुरु गर्छौँ, राति नाचेर सेलिब्रेसन गर्छौँ । कसैलाई रक्सी, चुरोट, मासु खानु छैन । महंगा लुगा लगाएर देखावटी बन्नु छैन । त्यसकारण थोरै इन्कममा पनि हामीलाई बाँच्न आउँछ । 

जीवन जति प्राकृतिक हुन्छ त्यति नै कम तनाव हुन्छ । जीवन जति बनावटी र महत्वकांक्षी  हुन्छ त्यति नै धेरै तनाव हुन्छ । 

हुन त हाम्रो अहिलेको शिक्षा पद्धति, राजनीति प्रणाली पूरै महत्वकांक्षामा आधारित छ । सामाजिक बनावट पनि त्यस्तै छ । अहिलेको सोसल स्ट्रक्चर जुन छ त्यसले मान्छेलाई महत्वकांक्षी बनाइरहेको छ, खुसी बनाउने कुनै पाटो नै छैन । 

हामी यही पाटो परिवर्तन गर्न भनेर लागिपरेका छौँ । हामी त्यसैका लागि काम गरिरहेका छौँ । मेरो कारणबाट थोरै व्यक्तिको जीवनमा पनि परिवर्तन ल्याउन सकेँ भने आफ्नाे अहोभाग्य सम्झन्छु । त्यसैले म हरेक दिन नेपालीको सोचमा परिवर्तन गर्नुपर्छ भनेर लागिपरेको छु ।

अध्यात्म नै हो अहिलेको परिवर्तनको बाटो । अन्धकाररुपी जीवनलाई उज्यालोमा लैजाऔँ । एउटा नयाँ जीवन दृष्टि ल्याऔँ भन्नेमा नै हामी लागेका छौँ । सन्तुष्टि, सुख र खुशीका लागि धेरै सम्पन्न हुनु जरुरी छैन । धन-धान्यले पूर्ण भएर पनि सुख, खुशीबाट बन्चित भएकाहरु हामीले देखेका छौँ । 


ओशो तपोवन केन्द्र नेपालका संस्थापक स्वामी आनन्द अरुणसँग उज्यालोका लागि नवराज फुयाँलले गर्नुभएको कुराकानीमा आधारित । 

अन्तिम अपडेट: बैशाख ५, २०७६

स्वामी आनन्द अरुण

स्वामी आनन्द अरुण ओशो तपोवन केन्द्र नेपालका सस्थापक हुनुहुन्छ ।

1 Comments

  • Swami Yog Prem

    April 16, 2019, 6:43 a.m.

    a must-visit-place: Osho Tapoban a must-visit-person: Swami Ananda Arun a must-live-life: Osho's world

  •  0 Reply

तपाईको प्रतिक्रिया