लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिर स्रष्टा सम्मान : कसलाई कुन सम्मान ?

 बैशाख ४, २०७६ बुधबार १९:३५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले यो वर्षदेखि गोपालप्रसाद रिमाल काव्यसम्मान प्रदान गर्ने घोषणा गरेको छ । 

साहित्यकला मन्दिरले स्रष्टा सम्मानको २५औँ वर्ष पूरा गरेको अवसरमा विगत वर्षहरूदेखि नै प्रदान गरिँदै आएका विभिन्न सात सम्मानहरूका अतिरिक्त यो वर्षदेखि अग्रज कवि गोपालप्रसाद रिमालको नाममा थप एक सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

साहित्यकला मन्दिरले यस वर्ष यी सम्मानहरूबाट क्रमशः आख्यानकार पद्मावती सिंह (गङ्गादेवी चौधरी स्मृति सम्मान), अग्रज साहित्यिक इतिहास–अनुसन्धाता मोदनाथ प्रश्रित (इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान), वरिष्ठ साहित्यिक पत्रकार अच्युतरमण अधिकारी (सरस्वती सम्मान), लोक, आधुनिक संगीतका प्रसिद्ध साधक गणेश रसिक (नारायणगोपाल संगीत सम्मान), नेपाली चित्रकला क्षेत्रका विशिष्ट साधक किरण मानन्धर (अरनिको ललितकला सम्मान), रंगमञ्च क्षेत्रकी विशिष्ट अभिनेत्री भुवन थापा चन्द (बालकृष्ण सम रंगसम्मान), वरिष्ठ कवि दिनेश अधिकारी (गोपालप्रसाद रिमाल काव्य सम्मान) र फरक क्षमता भएकी सृष्टि केसी (नेपाल नवप्रतिभा सम्मान) लाई सम्मानित गर्ने निर्णय गरेको छ । 

यी सम्मानहरुमध्ये गंगादेवी चौधरी स्मृति सम्मानका लागि नगद १ लाख १ रुपैयाँका साथै प्रशस्ति–पत्र र अन्य प्रत्येक सम्मानका लागि ५१ हजार नगदका साथै प्रशस्ति–पत्र रहेको छ । यी सम्मानहरू संस्थाद्वारा यही वैशाख २७ गते काठमाण्डौमा रहेको अग्रवाल सेवा केन्द्रमा आयोजना गरिने समारोहमाझ प्रदान गरिने छ ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया