आफूमाथि लागेको यौन हिंसाको आरोपबारे बोले राजन : दोष भेटिएमा सजाय भोग्न पनि तयार छु

 बैशाख ५, २०७६ बिहिबार २०:१२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – केही सातादेखि नेपाली रङ्गमञ्चमा एउटा खबरले सनसनी मच्चाएको छ । 

नेपाली रङ्गमञ्चमा काम गर्ने महिला कलाकारले आफूहरुले पुरुष कलाकारबाट हिंसा भोग्नु परेको शुक्रबार साप्ताहिकसँगको कुराकानी बताएका थिए । केही महिला कलाकारले राजन खतिवडा, सुनिल पोखरेललगायतका नेपाली रङ्गमञ्चका नाम चलेका कलाकारबाटै आफूहरु पीडित भएको बताएका थिए । 

यसलाई धेरैले नेपाली रङ्गमञ्चको मी टू अभियानका रुपमा समेत हेरेका थिए । 

यसै विषयमा आफूमाथि लागेको आरोपबारे कलाकार राजन खतिवडाले पहिलो पटक समाचार प्रकाशित हुँदा आफू देशबाहिर रहेको बताएका छन् । स्वदेश फर्किसकेपछि उनले पत्रिकाका समाचारदाता, सम्पादक र नजिकका साथीहरुसँग छलफल गरेको बताएका छन् ।

सबैसँगको रायसुझाव लिएपछि आफूले आत्मआलोचना गर्ने, जिम्मेवार भएर सोच्ने मौका पाएको खतिवडाले बताएका छन् । उनले पीडित महिला कलाकारलाई धन्यवाद दिँदै भनेका छन्, ‘म सबैभन्दा पहिला ती महिलाहरुलाई धन्यवाद भन्न चाहन्छु जसले आफ्नो कठिनतम समयको बारेमा बोल्ने साहस गर्नुभयो । म स्वयमसहितलाई लगाइएको आरोपका सम्बन्धमा कुनै खण्डन गर्नुभन्दा पनि उहाँहरुलाई सुन्नुमा र विश्वास गर्दै सही कुरोमा गम्भीर भएर लाग्नुमा नेपाली रङ्गमञ्चको भलो हुने निश्चित देखियो ।’

आरोपका बारेमा राजन खतिवडाको स्पष्टीकरण

गत साता नेपाली रङ्गमञ्चकामा हामी सबैलाई चकित बनाउने गरी आएको समाचारको विषयमा आज पनि थप कुरा आएका छन् । यसभन्दा अघि समाचार सार्वजनिक भएको दिन मैले पहिलोपटक संक्षिप्त कुरा राखेको थिए, जतिबेला म देशबाहिर थिएँ । देश फर्केपछिको यसबीचमा मैले पत्रिकाका समाचारदाता, सम्पादक, मेरा नजिकका साथीहरु, म काम गरिरहेको संस्था र महिला हिंसाविरुद्ध काम गरिरहनुभएका रङ्गकर्मी साथीहरु सबैसबै सँग भेटेर कुराकानी गरेँ र रायसुझाव लिएँ । 

यो हप्ता हामी सबैका लागि असोचनीय, चिन्तनग्रस्त र सिकाइमूलक रह्यो । अनि आफैलाई आत्मालोचना, धेरैधेरै सम्वेदनशील, गम्भीर र जिम्मेवार भएर सोच्ने मौका मिल्यो । 

म सबैभन्दा पहिला ती महिलाहरुलाई धन्यवाद भन्न चाहन्छु जसले आफ्नो कठिनतम समयको बारेमा बोल्ने साहस गर्नुभयो । म स्वयमसहितलाई लगाइएको आरोपका सम्बन्धमा कुनै खण्डन गर्नुभन्दा पनि उहाँहरुलाई सुन्नुमा र विश्वास गर्दै सही कुरोमा गम्भीर भएर लाग्नुमा नेपाली रङ्गमञ्चको भलो हुने निश्चित देखियो । किनभने हामी हाम्रो कमीकमजोरीहरुलाई लुकाएरभन्दा पनि केलाएर र त्यसमाथि बहस गरेर मात्र अगाडि बढ्न सक्छौँ । 

पितृसत्तात्मक समाजको एकात्मक व्यवसायमा एउटा पुरुष हुनुको नाताले मबाट भएका कतिपय क्रियाकलापहरुले जानी वा नजानी कोही महिलाहरुलाई दुुःख पुगेको हुन सक्छ । स्वयम मेरा धारणाहरुमा समेत विभिन्न समयमा त्रुटि भएका हुन सक्छन् अथवा मैले त्यसरी बोलेको हुनसक्छु । सम्बन्धका जटिल आयामहरुलाई मैले नबुझेको पनि हुन सक्छु । यस्तो धेरैलाई हुन सक्छ । तर म के भन्न चाहन्छु भने, यी सबै मेरा नियत होइनन् ।

यस विषयमा पीडित स्वयम् वा अरु कोही मसँग जुनसुकै प्लेटफर्ममा कुरा गर्न चाहनुहुन्छ भने म तयार छु र तपाईँकै नजरमा (मेरो नजरमा अहिलेसम्म कुनै दोष नभेटेकोले) कुनै दोष भेटिएमा त्यसअनुसारको माफी माग्न वा सजाय भोग्न पनि तयार छु ।

मैले महसुस गरेको पनि छु एक महिलालाई खुलेर आउन त्यति सजिलो कुरा होइन होला । जसरी पुरुषलाई सजिलो छ । तर जसलाई मेरो कारण आघात पुगेको छ त्यो नखुल्दाको स्थिति झन कठिन हुँदो रहेछ । मैले कसरी नैतिक जिम्मेवार बन्ने र पीडितलाई कसरी न्याय मिल्छ भन्नेबारे म गम्भीर छु ।यो घटनाले मलाई थप सजग र सम्वेदनशील बनाएको छ । 

शक्ति संरचनाको हिसाबले आफू उभिएको धरातल पत्ता लगाउन र त्यसअनुरुप व्यवहार गर्न सिकाएको छ । लैंगिक समानता र शोषणरहित समाज निर्माणका लागि भइरहेका सबैखाले आन्दोलनहरुप्रतिको सम्मान र मेरो ऐक्यबद्धता छ । यो समयबीचमा मलाई आरोप लगाउनुहुने, प्रश्न गर्नुहुने, साथ र सहयोग दिनुहुने सबैप्रति हार्दिक आभार प्रकट गर्दछु । यस विषयमा सघन छलफल चलाउन सहजीकरण गर्नुहुने ‘महिला ऐक्यवद्धता’ समूहका महिला रङ्गकर्मी साथीहरु र मण्डला थिएटर नेपालप्रति आभारी छु ।

सबैभन्दा बढी यसरी आरोपित हुन परेकोमा दुःखी छु । पीडितका भनाइबमोजिम करिब ७ वर्षअघि घटेको घटना हुनाले मैले सम्झन सकिनँ । 

तर मेरो कारणले पीडा भोग्नुपरेको जो हुनुहुन्छ, उहाँको दुःखप्रति माफी मग्दै समानुभूति राख्दछु । म नैतिकताका आधारमा जिम्मेवार बन्दै बहसको लगि तयार छु । तपाईँलाई भविष्यमा कुनै नराम्रो सोच विचार इगो रहने छैन । सधैँ सम्मान रहने छ । यो मेरो वाचा हो । तर यो प्रकृयाले तपाईँलाइ कुनै हानी वा झन पीडामय स्थिति नबनोस् । तपाईँलाई न्याय मिलोस् भन्ने चाहन्छु ।
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया