हुम्लामा नुन पाउँदाको खुशी

 बैशाख ११, २०७६ बुधबार १८:१४:५६ | रमेश ऐडी
unn.prixa.net

हुम्ला – अदानचुली गाउँपालिकाका ६० वर्षीय रगवीर शाहीले गएको वर्ष पाँच प्याकेट नुन पाउनुभएको थियो । यसपाली उहाँले गाउँपालिकाको केन्द्रबाट २४ किलो नुन पाउनुभयो । एकैपटक २४ किलो नुन पाउँदा उहाँमा खुशीको सीमा थिएन ।

‘यस वर्ष दुई घण्टामै नुन पाइयो, निकै सजिलो भयो’, दंग पर्दै उहाँले भन्नुभयो । पहिले नुन लिनका लागि कि त दुई दिन लगाएर सदरमुकाम पुग्नुपर्दथ्यो या त बाजुराको सिमाना कवाडी बजारसम्म धाउनुपर्दथ्यो । तर यस वर्ष गाउँपालिकाका पदाधिकारी, साल्ट ट्रेडिङका कर्मचारी र ठेकेदारले गाउँपालिकाको केन्द्रमै पुर्याएर नुन वितरण गर्दा शाही जस्तै धेरै गाउँले खुशीले गद्गद् भए । 

नुनका लागि पिठ्युँमा भारी बोकेर पैदल हिँड्नुपर्ने दुःख केही कम भएको नुन लिन आएका अर्का स्थानीयवासी अदानचुली–६, का गोकुल बुढाले बताउनुभयो । नुन लिन बुधबार दिनभर बालबालिका, वृद्धवृद्धा, महिला, अशक्त लगायतको भिड थियो । 

देशमा लोकतन्त्र स्थापना भएको १३ वर्ष पूरा भए पनि  हुम्लीको लागि नुनकै जोहो गर्न मुश्किल छ । यातायातको सहज पहुँच नहुँदा पोहोरसम्म नुनकै लागि दिनरात पैदल हिँड्नुपर्ने बाध्यता थियो । यस वर्षदेखि हरेक गाउँपालिकाको केन्द्रबाट नुन वितरण गर्न पहल भएपछि हुम्लाका अदानचुली ताजाकोट सर्केगाढ र चंखेल्नी गाउँपालिकाका बासिन्दाले राहत पाएका छन् ।

बर्सेनि ठेकेदारले  स्थलमार्गबाट ल्याउने व्यवस्था भए पनि सम्बन्धित ठाउँमा नपुर्याई बीच बाटोबाट वितरण गर्दा स्थानीयबासिन्दालाई सकस हुने गरेका थियो । यस वर्ष गाउँपालिकाकै केन्द्रबाट नुन वितरण गरिएको छ । 

वर्षभरिलाई खाने नुन पुग्नेगरी प्रतिघर २४ किलो र कर्मचारीलाई ५ किलो वितरण गर्न व्यवस्था मिलाइएको गाउँपालिकाकी उपाध्यक्ष सौमती रावलले बताउनुभयो । गाउँपालिकाका  १६ सय ७७ घर परिवारलाई पुग्नेगरी यस वर्ष समयमै नुन पुर्याएकाले नागरिकले सहज र सस्तो रुपमा घरमै आयोडिनयुक्त नुन पाएको उहाँको भनाइ छ ।

अदानचुली र ताजाकोट गाउँपालिकामा ठेकेदारमार्फत ढुवानी गरिएको साल्ट ट्रेडिङ नेपालगञ्ज कार्यालय प्रतिनिधि खगेन्द्र मल्लले बताउनुभयो ।  विगतका वर्षहरुमा समयमा नुन नपाएको र दुई दिन हिँडेर ताजाकोट गाउँपालिकाको मैलाकवाडीबाट बोक्नु परेको स्थानीय बासिन्दाले गुनासो गरेका थिए । गाउँपालिकाले ढुवानी  गर्ने पक्षलाइ गुनासो गरेपछि यो वर्षदेखि गाउँपालिकाको केन्द्रबाटै स्थानियले सहज रुपले आयोडिन नुन सहुलियत दरमा पाएका छन् । 

प्रतिकिलो ९ रुपैयाँमा नुन वितरण गरिएको मल्लले बताउनुभयो । अदानचुली गाउँपालिकाका ६ वटा वडाका बासिन्दालाई वडाअध्यक्षको  सिफारिसमा प्रति घरधुरी २४ किलोको दरले नुनको व्यवस्था गरिएको छ । अदानचुली गाउँपालिका वितरण कार्य सकेपछि ठेकेदारसहित कार्यलयका प्रतिनिधि हुम्लाकै ताजाकोट गाउँपालिकाको केन्द्र मैला छपे्रलामा नुन वितरण गर्ने कार्य तालिका छ । 

नुनको कालोबजारी बन्द

विगतका वर्षहरुमा नुन आएलगतै नजिकका व्यापारी र पैसावालाले ढुवानी ठेकेदारमार्फत सहुलियत मूल्यमा किनेर महंगोमा बेच्ने गरेका थिए । सरकारले तोकेको ९ रुपैयाँ किन्दै प्रतिकिलो ५० रुपैयाँसम्म बिक्री गर्ने व्यापारीहरु यस वर्ष झस्किएका छन् । स्थानीय जनप्रतिनिधि ढुवानी ठेकेदार सहित कार्यलयको प्रत्यक्ष संलग्न भएर वितरण गरिने भएकोले स्थानीयबासिन्दाले सहुलियत रुपमा नुन पाउन थालेका छन् । 

गाउँपालिकाको माग बमोजिम आवश्यकता अनुसार आउँदा वर्षमा पनि सहज ढंगले नुन वितरण गरिने कार्यलयका प्रतिनिधि मल्लले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत ७, २०८०

रमेश ऐडी

रमेश ऐडी हुम्लाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया