दूषित पानी पिउँदा गुल्मीको दजाकोटमा एकै गाउँका ९८ जना बिरामी

 बैशाख १२, २०७६ बिहिबार २०:३:५९ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका–४, अन्तर्गत वडागाउँको दजाकोटमा दूषित पानी पिउँदा एउटै गाउँका ९८ जना बिरामी परेका छन् ।

बिरामीमध्ये तीन जनाको गुल्मी अस्पताल तम्घास, एक जनाको पाल्पामा रहेको लुम्बिनी मेडिकल कलेज प्रवास र अन्य ६ जनाको त्यसै ठाउँमा सञ्चालन गरिएको अस्थायी शिविरमा उपचार भैरहेको जिल्ला जनस्वास्थ्य अधिकृत महेश श्रेष्ठले जानकारी दिनु भएको छ  ।

बिरामी परेकामध्ये स्थानीय कुमारी सिंजालीको अवस्था गम्भीर रहेको बताइएको छ । त्यस गाउँमा अचानक मंगलबार केही मानिसहरु बिरामी पर्न थालेपछि जिल्ला जनस्वास्थ्यको टोली पुगेर शिविर सञ्चालन गरी बिरामीहरुको उपचार गरेको थियो ।

दूषित पानी पिएका कारण बिरामी परेका अधिकांश मानिसहरुमा ज्वरो आउने, पखाला लाग्ने तथा टाउको दुख्ने समस्या देखिएको शिविरमा संलग्न जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत महेश श्रेष्ठले बताउनुभयो । दूषित पानीका कारण मानिसहरु बिरामी परेपछि मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले पानी कसरी दूषित भयो भन्ने परीक्षण गरिने बताउनु भएको छ । 

गाउँमा फैलिएको झाडापखाला अहिले नियन्त्रणमा आएको र सामान्य बनेको बताइएको छ । जिल्लाबाट गएको स्वास्थ्यकर्मीको टोलीले  स्थीति सामान्य बन्दै गएको भन्दै बिरामीहरुको थप उपचार गरेर सदरमुकाम तम्घास फर्किएको छ ।

गाउँमा अहिले स्थानीय स्तरमा रहेका ६ जना स्वास्थ्यकर्मीहरु अस्थायी शिविरमा रहेका बिरामीहरुको रेखदेखमा खटिएका छन् । खानेपानीको समस्या भएको गाउँमा नुरखोलाबाट बगेको दूषित पानी स्थानीयहरुले उपभोग गर्न बाध्य रहेको स्थानीय हरि छन्तेलले बताउनु भएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया