रेडियोलाई स्वतन्त्र छोडिदिनुपर्छ

 बैशाख १६, २०७६ सोमबार १३:५१:५ | कुन्द दीक्षित
unn.prixa.net

काठमाण्डाै – अहिले रेडियोका चुनौती धेरै छन । तर पनि संसारमै गर्व गर्न सक्ने रेडियो हामीकहाँ छन् । नेपालमा जस्तो एफ.एम. रेडियोको संख्या, सञ्जाल र नेटवर्किङ अन्त छैन । भारतमा पनि छैन, अरु देशमा पनि छैन । जसरी रेडियोहरु अगाडि बढेका छन्, यसले नेपालको लोकतन्त्र, राजनीतिक, सामाजिक, न्यायिक क्षेत्रमा परिवर्तनका लागि ठूलो सहयोग गरेको छ । जनचेतनाका लागि पनि उत्तिकै सहयोग गरेको छ ।

तर बच्चा हुर्केपछि अर्कै समस्या आउँछ भन्छन नि । बच्चैमा हुर्काउन सजिलो हुन्छ । तर किशोर अवस्थामा पुगेपछि अलि छाडा हुन्छ भन्छन् । हामीकहाँ पनि अलि छाडा आएको छ । यो रेडियोमा मात्रै होइन । राजनीतिमा छ । समाजमा छ । देशभरि सबैतिर छ । नेपालमा त राजनीतिभित्रै राजनीति घुसेको छ ।

रेडियोभित्र राजनीति नघुसे कमाइ गर्न सकिँदैन भन्छन् । यो स्वभाविक हो । तर अहिलेको राजनीति रेडियो सामग्री ‘कन्टेन्ट’मै घुसिदिएर समस्या पार्न थालेको छ । अरु मिडियामा पनि राजनीति घुसेको छ । 

रेडियोको स्वामित्व नै कुनै पार्टीको हुनुले पनि असर पार्नु स्वभाविक हो । तर यो नयाँ होइन । म एकपटक एउटा जिल्लामा पुगेको थिएँ । त्यहाँ पाँचभन्दा बढी एफ.एम. रेडियो खुलेका रहेछन् । ती पाँचवटै रेडियो पाँचवटै दलका रहेछन् । मैले यसबारे जिज्ञासा राख्दा उनीहरुले रेडियो पार्टीको भए पनि ‘कन्टेन्ट’ सार्वजनिक चासोकै हुन्छ भन्थे । पार्टीको रेडियो भएर पार्टीकै मात्र गुणगान गाए भोलि फेरि पार्टीलाई समस्या पर्ने हुँदा हामी ‘कन्टेन्ट’मा स्वतन्त्र छौँ भन्थे ।

यसो भन्नु उनीहरुले समस्या बुझेर उपाय पनि निकालिसकेका रहेछन् भन्ने हो । यो राम्रो पक्ष हो । आखिर बाँच्नैका लागि हो भने विश्वसनियता जोगाउनुपर्छ । विश्वसनियता भएपछि मात्रै हो विज्ञापन आउने । विज्ञापन आउनलाई स्रोताले मन पराइदिनुपर्छ । यदि त्यो विश्वसनियिता गुमेपछि त रेडियो सञ्चालन गर्नुको अर्थ भएन । त्यसैले केही रेडियोको स्वामित्व राजनीतिक दलका नेताले लिए पनि ‘कन्टेन्ट’मा स्वतन्त्र छन् । यो सकारात्मक पक्ष हो ।

अर्को कुरा पहिला–पहिला रेडियो नेपालमा समाचार आउँथ्यो । त्यसरी पढेर सुनाएर अहिलेको जमानामा कसैले रेडियो सुन्नेवाला छैन । अहिले एउटा नयाँ खालको रेडियो शैली आएको छ । जसलाई ‘पोडकास्ट’ भन्छन् । यो शैली निकै लोकप्रिय छ । 

राम्ररी रेकर्डिङ गर्ने, संगीत मिसाउने अनि रोचक कुरा सुनाउन मिल्ने प्रविधि आएको छ । यसको लोकप्रियता बढेर होला पश्चिमा देशहरुमा अहिले रेडियोको पुनरुत्थान भइरहेको छ । हामीकहाँ पनि यो आउन जरुरी छ । खासगरी रेडियोकर्मीले यसलाई राम्रोसँग प्रयोग गर्न सकेमा रेडियोका श्रोता फर्काउन सकिन्छ ।

रेडियोलाई सुनिरहने कसरी बनाउने ? 

पछिल्लो समय इन्टरनेटलाई रेडियोको चुनौती ठानिएको छ । यो होइन । बरु इन्टरनेट आएर रेडियो विश्वभर फैलिन पाएको छ । यो अवसर हो । पहिले रेडियोको एन्टेना वरिपरि २५ किलोटिटरसम्म सुनिन्छ भनिन्थ्यो । यसकारण देशभरिको नेटवर्क पनि बन्यो ।

तर अहिले फरक अवस्था छ । रेडियोलाई इन्टरनेटमार्फत संसारभर सुन्न सकिन्छ । रेडियो बजेका बेला मात्र होइन, रेडियोमा प्रसारण भएका सामग्री जतिबेला पनि डाउनलोड गरेर सुन्न सकिन्छ । रेडियोका सामग्री मल्टिमिडियामा राख्न सकिन्छ । त्यसैले यो ठूलो अवसर हो ।

अहिले बीबीसीले रेडियोकै सामग्रीलाई फोटो, भिडियो, टेक्स्ट सबै मिलाएर सामाजिक सञ्जालमार्फत प्रस्तुत गर्छ । कुनै रेडियो स्टेशनले ‘कन्टेन्ट प्रोभाइडर’का रुपमा आफूलाई परिचालन गरेको छ । त्यसलाई हामीले पनि प्रयोग गर्न सक्छौँ । 

अहिले धेरै मानिसले सामाजिक सञ्जाल चलाउँछन् । मोबाइल हुने जोसुकैले रेडियो सुन्न सक्छन् । तर त्योभन्दा बढी स्मार्ट फोन हुनेले सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र यूट्युब चलाइरहेका छन् । अनि सामाजिक सञ्जालमार्फत नै रेडियोका सामग्रीलाई झन् धेरै मानिसकहाँ पु¥याउन सकिन्छ ।

अहिले कागजको पत्रिका, टेलिभिजन सेटभन्दा गोजीमा भएको मोबाइलले सञ्चारमाध्यमको ठूलो हिस्सालाई आफूतर्फ केन्द्रित गरेको छ । यो क्रम अझै बढ्दो छ । यसैकारण पछिल्लो समय सामाजिक सञ्जालमार्फत सञ्चारमाध्यमका सामग्री सबैमाझ पुगिरहेका छन् ।

अब रेडियोको लागि विगतको जस्तो मास अनि ट्रान्समिटर भएर मात्रै पुग्दैन । मोबाइल एप्लिकेशन चाहिन्छ । अनलाइन चाहिन्छ । यसले रेडियो अब बन्द कोठाबाट केही मानिसमा मात्रै होइन । दैनिक जीवनसँग गाँसिएका कुरा प्रस्तुत गर्न सक्यो भने त्यो सबै ठाउँ पुगिरहेको छ भनेर बुझ्नुपर्दछ । यसरी श्रोता पनि थपिँदै जान्छन् ।

रेडियो सामग्री कसरी स्वतन्त्र बनाउने ?

रेडियोबाट प्रसारण हुने सामग्री स्वतन्त्र बनाउन चुनौती छ । यसका लागि पहिला अध्ययन आवश्यक छ । रेडियोकर्मी आफैले विश्वभरका अभ्यासलाई राम्रोसँग अध्ययन गर्न सक्नुपर्छ ।

तर त्योभन्दा पनि चुनौती भनेको रेडियोलाई कसरी स्वतन्त्र राख्ने ? भन्ने छ । रेडियोको स्वामित्व राजनीतिक दलका नेताले लिने, कुनै पार्टीले रेडियो चलाउने कुरा अहिले हावी छ । यसलाई आजको भोलि नै स्वतन्त्र बनाउन सकिँदैन ।

तर पार्टीका नेताहरुले थोरै मात्रै सोच्ने हो, बुद्धि पुर्‍याउने हो भने रेडियोलाई स्वतन्त्र बनाउन सकिन्छ । जस्तो बीबीसी पनि स्वतन्त्र छैन । बेलायत सरकार, त्यहाँका दल, दलका नेताकै छत्रछायामा बीबीसी छ । तर त्यसका सामग्रीमा कुनै हस्तक्षेप छैन ।

त्यहाँ नेताहरुले बुझेका छन् कि रेडियोलाई स्वतन्त्र छाडिदिनुपर्छ । अनि मात्रै श्रोताले हाम्रा कुरालाई पनि पत्याउँछन् भन्छन् । तर हामीकहाँ ठीक उल्टो छ । अहिले हाम्रा रेडियोमा कुनै सामग्री बज्दा नागरिकले तुरुन्तै थाहा पाइहाल्छन्, यो ‘प्रोपोगाण्डा’ हो भनेर । नेताभन्दा जनता अर्थात नागरिक सचेत छन् । त्यसैले अब नागरिकलाई झुक्याउन सकिँदैन । यसकारण पनि नेताहरुले आफ्नो स्वामित्वको रेडियो खोले पनि थोरै बुद्धि पुर्‍याएर स्वतन्त्र बनाउन सक्नुपर्छ ।

अर्को कुरा, हरेक उपाय लिएर आफ्नो रेडियो स्टेशनलाई चाहिँ आर्थिक रुपमा बलियो बनाउनुपर्छ । आर्थिक रुपमा बलियो भएपछि मात्रै रेडियोको ‘कन्टेन्ट’ स्वतन्त्र बनाउन सकिन्छ । 

कन्टेन्ट स्वतन्त्र बनाएपछि स्रोता बढ्छन् । विश्वसनियता बढ्छ । गुणस्तर बढ्छ । सबै कुरा बढ्यो भने रेडियोको विज्ञापन पनि बढ्छ । तर हामीकहाँ अहिले अस्वस्थ्य प्रतिस्पर्धा बढेको छ ।काठमाण्डौ उपत्यकामै ४० भन्दा बढी रेडियो स्टेशन छन् । यो सानो खाल्डोमै यति धेरै रेडियो भएर के हुन्छ ? यसकारण रेडियोको संख्या जसरी बढेको छ, गुणस्तर बढ्न सकेको छैन । 

रेडियोका सामग्रीको गुणस्तर भएन भने मानिसले सुन्न छाड्छन् । अहिले त धेरैलाई रेडियो किन खोलेको भन्ने नि थाहा छैन । रेडियोजस्तै अहिले अनलाइन न्यूज पोर्टल च्याउजस्तै खुलेका छन् । 

तर जति नै रेडियो खुले पनि, जति नै अनलाइन खुले पनि । जसले आफूलाई नयाँ शैली, नयाँ विचार, नयाँ ढाँचा र गुणस्तर दिन सक्यो त्यसलाई नै सबैले मन पराउने हुन् । दिगोपन पनि त्यसैबाट आउने हो । 

(नेपाली टाइम्सका सम्पादक दीक्षितसँग विष्णु विश्वकर्माले गरेको कुराकानीमा आधारित)
 

अन्तिम अपडेट: बैशाख ३०, २०७६

कुन्द दीक्षित

दीक्षित नेपाली टाइम्सका सम्पादक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया