फेसबुकमा आमाको फेस !

 बैशाख २१, २०७६ शनिबार ८:२:२६ | मिलन तिमिल्सिना
unn.prixa.net

शनिबार बिदाको दिन । छोरो ढिलोगरी ओछ्यानबाट उठ्यो । आङ बटार्यो । मोबाइल खोल्यो । ‘ए आज त आमाको मुख हेर्ने दिन है, सबैले फेसबुकमा फोटो राखिसकेछन्’, भन्दै उ झस्कियो । 

माघमा एउटा बिहेमा जन्त गएको बेला गाउँमा आमासँग भेट भएको थियो । त्यसपछि कहिलेकाहीँ फोनमा गफ गर्नुबाहेक उसले आमालाई सम्झने फुर्सद पनि पाएको थिएन । आज त सम्झनै पर्यो !

मोबाइलमा आमासँगै बसेको फोटो खोज्यो । कतै भेटिंदैन । बल्लबल्ल दशैँमा आमाको हातबाट टीका लगाएको फोटो भेट्यो । हतारहतार फोटो पोस्ट गरेर ‘ह्याप्पी मदर्स डे’ लेख्न भ्यायो ।  फेसबुकमा अरुका स्टाटस हेर्न थाल्यो । 

ओहो ! आज त फेसबुकभरि आमै आमा ! कसैको आमा सेतै फुलेकी । कसैको आमा भर्खरकी । कसैका आमाको नाक चुच्चो । कसैको आमाको नाक थेप्चो । यसको आमा यस्तो, उसको आमा उस्तो । अरुको आमाको फोटो हेर्दाहेर्दै अघि आफूले राखेको आमाको फोटोमा पनि १० वटा जति लाइक आइसकेछ ।

उ दङ्ग परेर मोबाइल खेलाउँदै भान्सामा छिर्‍यो । ग्यास चुल्होमा चिया बसालेर श्रीमती पनि मोबाइल खेलाउँदै थिइन् । ‘साँच्ची हजुरले फेसबुकमा आमाको फोटो राख्नुभयो, मैले त राखिसकेँ’, श्रीमतीले म्याराथनमा उछिनझैँ गरी भनिन् ।

‘अँ राखे नि, खै तिमीले कुन फोटो राख्यौ ? ए आफ्नी आमाको मात्र राखेको ? घरको आमाको पनि राख न’, श्रीमतीको मोबाइल हेर्दै भन्यो ।

‘तपाईँले मेरो आमाको राख्नुभएको छ र ?’ श्रीमतीले उल्टै प्रश्न गरिन् । अनि उतिखेरै भनिन्, ‘ल ल अहिले फोन गर्छु नि हजुरकी आमालाई, अनि म त चिया पिएर आमालाई भेट्न जान्छु नि, बाबु नानी पनि जान्छन्, तपाईँ नि जाने भए हिँड्नुहोस, आज शनिबार कतै जानु छैन क्यारे ।’

‘खै के गर्ने के ? आमाको मुख हेर्ने दिन नि के ससुराली जानू र’ उ अनकनायो ।

‘आ के हुन्छ र, हिँड्नुहोस्,  मेरो आमा तपाईँको नि आमा हो क्यारे’ श्रीमतीले कर गरिन् । त्यहीबेला पल्लो कोठाबाट छोराछोरी दौडँदै आए । आमालाई अँगालेर भने, ‘ह्याप्पी मदर्स डे मामु ।’

‘बाबा हजुरले पनि गाउँकी आमालाई विश गर्नुभयो त ?’ सानो छोराले सोध्यो ।

‘अँ छोरा, फेसबुकमा त गरिसकेँ, अब फोन गर्नुपर्ला’ उसले जवाफ दियो ।

‘अनि आमाले फेसबुक हेर्नुहुन्छ त ? आमाको मोबाइलमा फेसबुक त चल्दैन । चले पनि हेर्न जान्नु हुँदैन, अस्ति नै दशैँमा घर जाँदा त खेतमा जानुभएको बालाई भात खान बोलाउँदा मैले फोन लगाइदिएको’ छोरीले भनिन् ।

छोरीको कुरा सुनेर उ टोलायो । हो त आमाको मोबाइलमा त फेसबुक चल्दैन । फेसबुक चले पनि हेर्न जान्नु हुँदैन । ‘आ...आमाले हेर्न नजानेर के भयो त ? आमालाई कत्तिको माया गर्छु, सम्झन्छु भन्ने कुरा अरुले त थाहा पाउँछन् नि फेसबुक हेरेर’ भन्दै उसले चित्त बुझायो ।

* * * * * 

उ श्रीमती र छोराछोरीसहित शहरमा बस्छ । आमा गाउँमा बस्छिन् । उसैगरी घरधन्दा, चुलोचौको, पानीपँधेरो, घाँसदाउरा, कुँडोभकारो, खेतीपाती र उकालीओराली गर्छिन् । शहरमा बस्ने छोराबुहारीले ‘भो दुःख नगर्नु, गाईभैंसी नपाल्नु, खेतीपाती पनि नगर्नू’ भनि टोपल्छन् । 

तर सबैले खेती नगर्ने, गाईभैंसी नपाल्ने हो भनेर मुखमा माड चाहिँ के ले लगाउने ? सबैका बाआमा चुप लागेर बस्ने हो भने धानमकै कसले फलाइदिन्छ ? गाईभैंसीको दूध कहाँबाट आउँछ ? 

शहरमा बसेर किनेर खाने बानी भएका छोराबुहारीलाई यो कुरा के थाहा ? त्यसैले आमाको मन मान्दैन । आमाले एउटा गाई र दुइटा बाख्रा पालेकी छिन् । सकिनसकी घाँस काट्छिन् । कुँडो पकाउँछिन् । भकारो सोहोर्छिन् ।

बा बिहानै उठेर दूध दुन्छन् र बजारमा लगेर बेच्छन् । घरमा अलिकति राखेको दूध थोरैसँग भातसँग खाएपछि आमाले ठेकीमा दही जमाउँछिन् । तीन दिन बिराएर मोही पार्छिन् । हर्लिक्सको सिसीमा घिउ जम्मा बनाउँछिन् । सिसी भरिएपछि शहरमा पठाउँछिन् । छोरोले घिउ निकै मन पराउँछ । नातिनातिना पनि घिउ भनेपछि हुरुक्क हुन्छन् । 

घिउ पठाएको भाँडो घर पठाइदिए हुन्थ्यो भन्ने आमालाई लाग्छ । तर बुहारीले कहिले त्यही भाँडोमा अचार गाड्छिन् । कहिले मसला हालेर राख्छिन् । दशैँमा घर आउने बेला छोराले ‘के लेइदिउँ ?’ भनेर सोध्दा आमाले ‘अस्ति नै घिउ पठाएको भाँडो भए हुन्छ बाबु’ भनेकी थिइन् । तै पनि छोराले खाली भाँडो घर लैजान बिर्सियो । तल्लोघरकी पसले बहिनीले चकलेट सकिएपछि खाली भाँडो दिने गरेकी छिन् । आमाले त्यसमै काम चलाउँदै आएकी छिन् ।

चाडपर्व र काजकर्ममा छोराबुहारी पाहुनाजसरी घर जान्छन् । बाआमा खुशी हुन्छन् । भात खाने बेला छोराको भागमा एक डाडु घिउ खन्याइदिन्छिन् । बुहारी र नातिनातिनाले पनि ताजा घिउ चाख्न पाउँछन् ।

‘आमा घिउ पसलमा किन्न पाइन्छ हो ?’ नातिले सोध्छ ।

‘पसलमा किन्न पाइने घिउ कहाँ यति मिठो हुन्छ र बाबु, यो त मैले बनाएको नि’ आमा मख्ख हुँदै भन्छिन् ।

‘घिउ कसरी बन्छ आमा ?’ नातिले फेरि सोध्छ ।

आमाले दूध, दही र मोही बनाउने प्रक्रियासम्म बेलिबिस्तार लगाउँछिन् । 

‘अनि यति मीठो घिउ दिने गाईले पनि भात खान्छ हो ?’ नातिनीले अचम्म मान्दै सोध्छिन् ।

नातिनीको कुरा सुनेर आमा हाँस्दै भन्छिन्, ‘कहाँ भात खान्छ र गाईले, घाँस दिनुपर्छ, उ तल खेतमा गएर घाँस काटेर लेराउनुपर्छ ।’ आमाले घाँस काट्दा काँडाले कोतरेको हात देखाउँछिन् । छोराबुहारी र नातिनातिना चुप लाग्छन् ।

छोरोले घाँस काट्न बिर्सिसक्यो । बुहारीलाई भकारो सोहर्न घिन लाग्छ । घर गएको बेला तल धाराबाट एकदुई खेप पानी लेइदिन्छिन् । आमाले कसैलाई फोन गर्नुपर्दा नातिनातिनीले मोबाइलमा नम्बर थिचिदिन्छन् । यति भए पनि आमालाई कता हो कता भरथेग भएको छ ।

छोराबुहारी र नातिनातिना चाडपर्वमा मात्रै आउँदा पनि आमा खुशी हुन्छिन् । अरु दिन बा मात्रै हुन्छन् । बासँग सधैं बात गर्न पनि मिल्दैन । घर शून्य लाग्छ । धन्न गाई र बाख्रा छन् र बोल्ने साथी मिलेको छ ।

* * * * * 

आज आमाको मुख हेर्ने दिन छोरा बुहारी घर आउँछन् कि भन्ने आमालाई लागेको थियो । पल्लोघरकी ठूलीकान्छीको छोरी बिहानै ठूलो झोला बोकेर आएको देखेकी थिइन् । बाटो हेर्दाहेर्दै पटुकीमा घुसारेको फोन बज्यो । छोरो रैछ ।

‘आमा ढोग गरेँ, आज तपाईँको मुख हेर्ने दिन, सम्झेको नि’ छोराले मुखै हेरेझैँ गर्यो ।

‘ए बाबु पो, ल ल भाग्यमानी भएस्, सम्झियौ भैहाल्यो नि’ फोन आउँदा पनि छोरो नै आएझैँ भयो आमालाई ।

बिहान छोरीले पनि यसैगरी फोन गरेकी थिइन् । बिहे भैसकेकी छोरी ज्वाइँसितै अष्ट्रेलियामा छिन् । अब ‘तेल भिसा’मा आमालाई उतै लैजाने तयारीमा छिन् ।
फोन गरेको बेला छोराछोरी दुवैले ‘आउन नसके पनि आमालाई सम्झिँदै फेसबुकमा फोटो पनि राखेको छु’ भने ।

छोराछोरीलाई कोर्सबुकको जोहो गर्दागर्दै आमा आफैले कोर्सबुक त पल्टाउन पाइनन्, फेसबुक के थाहा ? तै पनि छोराछोरीले फेसबुकमै भए पनि धेरै सम्झिएका रहेछन्, माया गरेका रहेछन् भनेर आमा गद्गद् छिन् । छोराछोरीले फेसबुकमा राखेका फोटोको फेसझैँ आज उनको फेस पनि उज्यालो छ ।

अन्तिम अपडेट: जेठ ६, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया