सत्ता, शक्ति र स्वार्थको एकता टिक्न गाह्रो छ !

 बैशाख २३, २०७६ सोमबार १९:४८:१२ | डा. राजेश अहिराज
unn.prixa.net

देश र नागरिकका लागि राजनीति गर्ने हो र देशलाई समृद्धि बनाउने हो भने यो देशमा दुई वटा मात्रै दल हुनुपर्छ । तर वैधानिक रुपमा अहिले १ सय ७५ दल निर्वाचन आयोगमा दर्ता भए पनि व्यवहारिक रुपमा एउटै दल छ, त्यो हो सत्ताको दल । 

अहिले तत्कालीन एमाले र माओवादी मिलेर नेकपा बनेको छ । यस्तै राजपा फोरमसँग मिल्ने, फोरम राजपासँग मिल्ने गरिरहेका छन् । यो सत्ताका लागि हो ।जति नै दल भए पनि अहिले सबै दल सत्ताका लागि मात्रै राजनीति गरिरहेका छन । आफ्नो धार नहुनु र भए पनि नैतिक नहुनु समस्या हो । अहिलेका दलहरुसँग धार, धारणा र धरातल छैन । यति धेरै दलसँग कुनै फरक पहिचान छैन । आफ्नो धार छैन । 

फरक पहिचान नभएरै दलहरु सत्ता, शक्ति, स्वार्थका लागि विदेशीको इशारामा परिचालित भइरहेका छन् । जतिसुकै दल भए पनि अहिलेको मुख्य समस्या नागरिकका लागि राजनीति भएन । नागरिकको नाममा राजनीति गर्ने र आफ्नो स्वार्थ पूर्ति गर्ने काम मात्रै भयो । 

नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालबीचको एकता कुनै नौलो होइन । बाहिर पार्टी एकता भनिए पनि यो मित्रमिलन कार्यक्रम मात्रै हो ।

राणा शासनदेखि गणतन्त्रसम्म आइपुग्दा प्रजातन्त्रको परिभाषा बदलियो । अरु देशमा जनताले जनताका लागि गर्ने शासनलाई प्रजातन्त्र भनिन्छ । तर हाम्रो देशमा नेताले नेताका लागि गर्ने शासनलाई प्रजातन्त्र भन्न थालियो । नेताहरुलाई अर्को राजा हुनै नदिने आफू राजा नभई नछाड्ने प्रवृत्ति छ । 

आफै संविधान जारी गर्छु भन्ने, अनि आफैले संविधान जलाउँछु भन्ने प्रवृत्ति देखियो । यो सबै खालका नेताहरु एकै ठाउँमा जम्मा भएर मन्त्रालय बाँडफाँड गरेर एउटै सरकारमा अटाउन सक्नु भनेको एकदलीय व्यवस्थामा बाँचिराखेको हो । अब नेपालमा दुई दल हुनुपर्छ । एउटा प्रजातान्त्रिक र अर्को कम्युनिष्ट धारको दल । 

जब देश र जनतालाई केन्द्रमा राखेर राजनीति गरिन्छ, त्यतिबेला नैतिकता हतियार हुन्छ । औकात मान्छेको उचाइ दिन्छ । र जनता लाभान्वित हुन्छन् । तर अहिले औकातको ठाउँमा हैसियतले कब्जा गरेको छ ।

जनताको लागि राजनीति नभएर जनताको नाममा राजनीति गरिरहेका छन् । अर्थात कोही मधेशको नाममा राजनीति गर्दैछन् । कोही दलितको नाममा राजनीति गर्दैछन् । कोही जनजातिको नाममा राजनीति गर्दैछन् । कोही खस क्षेत्रीका लागि राजनीति गर्दैछन् । कोही पछाडि पारिएकाको नाममा राजनीति गर्दैछन् ।

जबसम्म दल माध्यम बन्ला, राजनीति देशका लागि होला, तबसम्म यो द्वन्द्वहरु भइरहन्छन । दल भनेको राजनीति गर्ने माध्यम हो । तर हामीकहाँ दल भनेको लक्ष्य भइसक्यो । हामीकहाँ नेताले देशमा उचाइ बढाउनुको साटो गुटमा आफ्नो उचाई बढाउनुलाई लक्ष्य बनाइरहेका छन् । अर्थात गुटलाई कब्जा गरेर दलमा बर्चश्व गरिरहेका छन् । 

पार्टी एकता नभई मित्रमिलन कार्यक्रम !

नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालबीचको एकता कुनै नौलो होइन । बाहिर पार्टी एकता भनिए पनि यो मित्रमिलन कार्यक्रम मात्रै हो । एकै खालको चित्र भएका, एकै खालको चरित्र भएका, एकै खालका तरलता भएका, एकै खालका नैतिक पतन भएका व्यक्तिहरुबीच यो मित्रमिलन हो । 

दुवैको पृष्ठभूमि भनेको जनता मारेर राजनीति गरेका हुन् । दुवैले देशलाई हित गर्ने भन्दा पनि द्वन्द्वलाई हतियार बनाएर राष्ट्रिय राजनीतिमा उदाएका भेटिन्छन् । दुवै नेताको बुझाई के छ भने दल बदलियो भने दायित्व बदलिन्छ भन्ने । पूर्व मित्रहरुको यो मित्र मिलन समारोह मात्रै हो ।

यसको चुरो कुरो के हो भने अहिलेको समयमा पार्टी एकता गर्न सकियो भने सत्तारुढ नेकपाभित्र नअटेका, नअटाइएका, बस्न नसकेका, चित्त नबुझेकाको असन्तुष्टको जमातलाई समेट्न सकिन्छ भन्ने हो । अझ भनौं पूर्व एमाले र पूर्व माओवादीहरुलाई तान्ने, असन्तुष्टहरुलाई भेला पार्ने काम मात्रै हो ।

सरकार टिकाउने र खसाउने काममा असर गर्न सक्छ । विदेशीको इशारामा काम गर्ने कुरामा फाइदा गर्न सक्छ ।

उपेन्द्र यादवजी पूर्व एमाले हो भने बाबुराम भट्टराई पूर्व माओवादी हुनुहुन्छ । उनीहरुसँग अहिले भएका धेरैजसो नेताहरु पनि पूर्व एमाले र पूर्व माओवादी नै हुन् । यसरी पुराना असन्तुष्ट नेताहरुलाई समेट्दै, गुटलाई बलियो बनाएर आफू पनि बलियो भइन्छ कि भन्ने उद्धेश्यको एकता हो ।

अझ फरक गरेर हेर्ने हो भने राजनीति र दलालीलाई फरक छुट्याउन नसकेर राजनीति गरिरहेकाहरुको जमातका रुपमा पनि यसलाई लिन सकिन्छ । नयाँ शक्ति र संघीय समाजवादीबीचको एकता जसरी हतारमा गरियो, यसलाई तीन चरणमा बुझ्न सकिन्छ, पृष्ठभूमि, पात्र र प्रवृत्ति । यी तीनै कुरा दुई नेताबीचमा मिल्छ ।

दुई पार्टीका पात्रबीचको एकतालाई हेर्ने हो भने पहिलो कुरा एउटै पृष्ठभूमि हो । अर्थात आफ्नै जीवनमा धेरै दल बदलेर, धेरै दाता बदलेर, धेरै भूमिका निर्वाह गरिसकेका पात्र छन् । अर्थात उनीहरुको बहुरुप छ । डा.बाबुराम भट्टराई विद्धान हुनुहुन्छ, तर देशका लागि इमान्दार हुन सक्नु भएन ।

संविधान लेख्न सहयोग गर्नुभयो । तर सबैको हितमा संविधान बनाउन सक्नु भएन । बाबुराम भट्टराईमा जुन बौद्धिकता छ, त्यो बौद्धिकताले के दियो ? द्वन्द्व, लडाइँ, असमानता, विभेद, नेतामुखी राजनीति अरु अरु । त्यसैले खासै फरक त केही आएन । 

उपेन्द्र यादवको पृष्ठभूमि पनि त्यो भन्दा फरक छ । तराई मधेस आन्दोलनले उहाँलाई त राजनीतिमा उभ्यायो । तर मधेसका नागरिकले के पाए ? मधेसका नागरिकको निहत्था हत्या गरिएको छ । जसको अहिलेसम्म राम्रोसँग छानबिन नै भएन । भए पनि दोषीलाई कारबाही गरिएन ।

राष्ट्रिय राजनीतिमा कस्तो असर पर्ला ?  

नयाँ शक्ति र फोरमबीचको एकताले नागरिकलाई केही पनि फाइदा गर्दैन । तिनका कार्यकर्तालाई केही फाइदा गर्ला । तर राष्ट्रिय राजनीतिमा अलि बढी असर चाहिँ गर्न सक्छ । सरकार टिकाउने र खसाउने काममा असर गर्न सक्छ । विदेशीको इशारामा काम गर्ने कुरामा फाइदा गर्न सक्छ । यसले देश र नागरिकलाई त्यतिबेलासम्म हित गर्दैन, जबसम्म यिनका मिलन, एकीकरण सही रुपमा निगरानीकर्ताको भूमिकामा आउँदैन । तबसम्म देशलाई हित गर्दैन ।

यी दुई पार्टीबीचको एकता अहिलेको सत्तारुढ नेकपाको संरचनागत समस्यामा निर्भर छ । नेकपाबीच त एकता भयो । तर व्यवहारिक रुपमा मनभित्रैबाट एकता हुन सकेन । अर्थात धेरै नेताहरु सन्तुष्ट हुन सकेका छैनन् । शीर्ष नेतालाई रिझाउन सकेका मात्रै नेकपाभित्र सन्तुष्ट छन् । अरु हुन सकेका छैनन् ।

दुई दलबीचकाे एकता छुट्टाछुट्टै सटर राखेर काम गर्नुभन्दा एउटै मलभित्र सबै सटर राखौँ र फरक खालको सुरक्षागार्ड राखेर काम गरौँ भन्ने अभियान पनि हुन सक्छ ।

नेकपाभित्र असन्तुष्ट वा पूर्व एमाले र पूर्व माओवादीलाई सोझै आफ्नो दलमा सदस्य बनाउनका लागि राष्ट्रिय राजनीतिमा प्रभाव पार्नका लागि यो एकता हो । दल मिल्दै जानु सकारात्मक भए पनि नेताहरुको प्रवृत्ति सुध्रिएको छैन ।

तर अर्को पाटो के हो भने नागरिकले पहिलेको जस्तो गरी हचुवामा भोट हाल्दैनन् । नयाँ शक्तिलाई पनि त्यसरी पत्याइहालेनन् । उनीहरुको पहिलेका गतिविधि बोली र व्यवहारबीचको फरकलाई राम्रोसँग बुझिरहेका छन् । कतिसम्म भने नेताहरु सम्मानित हुनुको साटो अपमानित र लेखेटिने अवस्था आएको छ ।

यस्तो अवस्थामा मिल्नुको विकल्प छैन । त्यही भएर पनि दुई दलबीच एकताको कुरा उठेको हो । छुट्टाछुट्टै सटर राखेर काम गर्नुभन्दा एउटै मलभित्र सबै सटर राखौँ र फरक खालको सुरक्षागार्ड राखेर काम गरौँ भन्ने अभियान पनि हुन सक्छ ।

अहिलेसम्म यी दुई नेताको पृष्ठभूमि हेर्दा सत्ता र जाति मात्रै छ । देश र जनता छैन । त्यही भएर यो स्वार्थीहरुको मिलनले निःस्वार्थ भाव आउला भन्ने विश्वास छैन । तर आश मार्नु हुँदैन ।

यी पात्रहरु परीक्षण भइसकेकाले धेरै नागरिकले विश्वास गर्न सक्दैनन् । पटक पटक सरकारमा गइसकेका हुन । आफैले बनाएका घोषणपत्र पढ्दैनन् । त्यसैले यो प्रवृत्तिको एकताले यो देशको सरकार परिवर्तन गर्न सक्छन् । सरकारको नेतृत्व फेर्न सक्छन् । एक दुई वटा मन्त्रालयमा चलाउन सक्छन् । तर देश र जनताका लागि कुनै फाइदा हुँदैन ।

एकता टिक्ला कि नटिक्ला ? 

दलहरुबीच एकता हुनु नौलो होइन । एकता टिक्नु चाहिँ केही नौलो हुन्छ । किनभने एकता गरेका धेरै दल टिक्न सकेका छैनन् । यसका केही कारण छन् । जस्तो धेरै नेताहरु देशभन्दा ठूलो आफ्नो पद ठान्छन् । पार्टीभन्दा ठूलो आफ्नो गुट मान्छन् ।

शक्ति, सत्ता र स्वार्थका लागि मिलेका नेताहरु लामो समय मिलेर बस्लान भनेर अहिल्यै भन्न सकिंदैन । 

आफ्नो नागरिकताभन्दा ठूलो आफ्नो जात ठान्छन् । अर्थात नकारात्मक वस्तु र शक्तिका लागि एकता भएको पाइन्छ । धेरै पार्टीबीचको एकता सत्ताका लागि हुन्छ र सत्ताकै लागि टुट्छ ।

त्यसैले राप्रपाबीचको एकता, विवेकशील साझाको एकता केहीसमय अघि भएको थियो र टुट्यो पनि । यसका पछाडि कहीँ न कहीँ पार्टी, गुट, पद र प्रवृत्ति नै हो । अहिले नेकपाको एकता पनि ढुलमुल ढुलमुल नै छ । एकता टुंगिएला कि फेरि फुट्ला भन्ने त्रास छ ।

नयाँ शक्ति र संघीय समाजवादी पार्टीबीचको एकता पनि यही हुन्छ भन्न सकिन्न । तर शक्ति, सत्ता र स्वार्थका लागि मिलेका नेताहरु लामो समय मिलेर बस्लान् भनेर अहिल्यै भन्न सकिँदैन । 

 

(राजनीतिक विश्लेषक डा. अहिराजसँग उज्यालाेका लागि विष्णु विश्वकर्माले गरेको कुराकानीमा आधारित) 
 

अन्तिम अपडेट: बैशाख ३१, २०७६

डा. राजेश अहिराज

उहाँ राजनीतिक विश्लेषक हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया