हेटौडा जाने छोटो बाटो : कान्ति लोकपथको ६३ वर्षे भिडियो कथा

 बैशाख २३, २०७६ सोमबार १७:५५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हेटौडा र काठमाडौबीचको यात्रा साढे २ घण्टामा छोट्याउने कान्ति लोकपथ यस्तो सडक हो, जस्को चर्चा सुन्दा यो कुनै ठूलो हात्ती जस्तो लाग्छ भने यसमा भैरहेको काम हेर्दा कछुवाको गतिसित दाँज्न पनि अप्ठेरो लाग्छ । 

हेर्नुहाेस् भिडियाे कथा

कान्ति लोकपथ आजभन्दा ६२ वर्षअघि २०१३ सालमै बन्न थालको थियो । २०१४ साल माघ ९ गते राजा महेन्द्रले यो सडकको उद्घाटन गरेका थिए । यस्को ट्रयाक खुलेपछि २०१६ सालमा राजा महेन्द्र आफै यो बाटोमा मोटर कुदाउँदै हेटाैडा गए । तर, त्यही बर्ष पहिरो आएपछि मोटर बाटो ४० वर्षसम्म बनेन । ४० वर्षपछि २०५५ सालमा कोरिया सरकारले अनुदानमा कान्ति लोकपथको विस्तृत योजना बनाउने प्रस्ताव अघि सार्यो ।

२०५६ सालमा सडकको विस्तृत परियोजना डिजाइनको काम सुरु भयो । डिजाइनको काम सक्दा अर्को ३ वर्ष बित्यो । तर, कान्ति लोकपथ निर्माणको काम अघि बढाउन त्यसपछि पनि अर्को ७ वर्ष लाग्यो । २०६६ सालमा कान्ति लोकपथ आयोजनाअन्तर्गत सडक निर्माण सुरु भयो । तर, ७१ सालसम्म यो सडक आउने वर्षा नथाम्ने गरी हिउँदमा निर्माण गरिन्थ्यो । २०७१ सालमा कान्ति लोकपथ आयोजनालाई पी.१ प्राथमिकतामा राखेपछि बल्ल सडक खन्न र खोस्रिन सुरु भएको हो । ९० किलोमिटर लामो सडकको ५१ किलोमिटर मकवानपुरमा र ३९ किलोमिटर ललितपुरमा पर्छ ।

कान्ति लोकपथको निर्माण सुरु हुँदा १ अर्ब २१ करोड ९१ लाख १० हजार रुपैयाँमा ९० किलोमिटर सडक बन्ने अनुमान गरिएको थियो । तर, प्राथमिकतामा राखेर बनाउन थाल्दा लागत बढेर २ अर्ब ११ करोड ९६ लाख पुग्यो ।

बहुवर्षीय ठेक्का रकम अन्तर्गत १४ वटा कम्पनीले काम गर्ने ठेक्का पाए । यो सडक ७५ सालको असारमै बनिसक्नु पर्ने थियो, तर ७६ सालको वैशाख तेस्रो हप्तासम्म आइपुग्दा सडकको काम आधा पनि भएको छैन । खर्च भने बढेर २ अर्ब १६ करोड खर्च भइसकेको छ । त्यसबाहेक ठेकेदारहरुलाई दिनुपर्ने ९० करोड रुपैयाँ दायित्व वापत थपिएको छ । आयोजनाका अधिकृतहरु सार्वजनिक रुपमै आउँदो असारमा सडक निर्माण सकि असोजदेखि ठूला गाडी चलाइने कुरा बताउन थालेका छन् । तर स्थलगत अवस्था हेर्दा अहिले जस्तै द्रुत गतिमा काम भयो भने यो सडक बनिसक्न अझै कम्तीमा पनि २ वर्ष लाग्छ ।

९० किलोमिटरमध्ये अहिलेसम्म कान्ति लोकपथको साढे ३४ किलोमिटर पिच भइसकेको छ । साढे ३८ किमी सडक ग्राभेल छ । ललितपुरका विभिन्न ठाउँको ४ किमि र मकवानपुरका विभिन्न भागमा २ किमी गरी ६ किमी सडक अबका २ वर्षमा बनाइसक्ने गरी २६ करोड रुपैयाँमा ठेक्का लागेको छ ।

दुई वर्षमा सक्ने गरी भर्खर ठेक्का दिएको सडक त्यो अवधिभित्रै निर्माण भए पनि कान्ति लोकपथको काम सकिन अब कम्तीमा दुई वर्ष लाग्छ । अझ चापागाउँदेखि टीकाभैरवसम्मको ११ किलोमिटर सडक खण्डमा त निर्माण कार्य अलपत्रै छ ।

त्यसैले ६३ वर्ष अघि साढे २ घण्टामा कान्ति लोकपथबाट हेटाैडा र काठमाण्डौ यात्रा गर्न देखेको सपना पूरा हुँदा कम्तीमा ६५ वटा वर्षहरु पनि सकिनेछन् । 

याे पनि पढ्नुहाेस् 

समृद्धिकाे अधुराे सपना १ - कान्ति लोकपथको ६० वर्षे कथा

 

 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया