फेसबुकमा साथी बनाए, ४० हजारकाे जागिर भन्दै १ सय ११ जनालाई ठगे

 बैशाख २४, २०७६ मंगलबार १४:५६:१० | बाबुराम देवकोटा
unn.prixa.net

सिन्धुली - तपाइँ फेसबुकमा बनेका साथिलाई कत्तिको विश्वास गर्नुहुन्छ ? तर झट्ट र भरपर्दो विश्वास चाहिँ गरिनहाल्नु है, सिन्धुलीमा यस्तै फेसबुकमा बनेका साथीले मासिक ४० हजार रुपैयाँको जागिर लगाइदिने भन्दै १११ जना युवायुवतीलाई नराम्ररी ठगेर बेपत्ता भएका छन् ।

सिन्धुली जिल्लाकै गोलान्जोर गाँउपालिका–४, तीनकन्याका कुमार भन्ने एकेन्द्र मगर, हेमराज गुरुङ, पाथीभरा आयुर्वेद हस्पिटल, सिनामंगल काठमाण्डौका बीपी तिमल्सिना र सिन्धुपाल्चोक घर बताउने गोपाल भण्डारीले जागिर लगाइदिने नाममा ठगी गरेको भन्दै पीडितहरुले कारबाहीको माग गरी प्रहरीमा उजुरी गरेका छन् । 

फेसबुककाे साथीबाट ठगिनुभएकी तीनपाटन गाउँपालिका–५ की २१ वर्षीया कुसुम कार्की भन्नुहुन्छ, ‘फेसबुकमा साथी बनेका एकेन्द्रले जागिरका लागि फर्म भर्न लगाए । मैले एकेन्द्रले भने अनुसार नै छ हजार सात सय रुपैयाँ तिरेर फर्म भरेँ र तीन दिने तालिम लिएर गाँउमा गएर दुई महिना काम गरे । तर तलब दिने अत्तोपत्तो भएन, उल्टै एकेन्द्र सम्पर्कविहीन भए । लामो समयसम्म एकेन्द्र सम्पर्कविहीन भएपछि बल्ल आफू ठगिएको थाहा भयो ।’

मासिक ३० हजार तलब र १० हजार फिल्ड भत्ता गरी ४० हजारको जागिर लगाइदिने भन्दै उनीहरुले १११ जनासँग प्रति व्यक्ति ६ हजार सात सय रुपैयाँ उठाएर बेपत्ता भएका पीडित कुसुमले जानकारी दिनुभयो ।  

उनीहरुले फर्म भरेका सबैलाई काठमाण्डौमा बोलाएर गएकाे पुस २५,२६ र २७ गते सीटीईभीटीको प्रमाणपत्र तीन महिनापछि आउँछ भन्दै तालिम दिएका थिए । त्यसपछि माघ १६ गतेदेखि सिन्धुलीका सबै गाँउपालिकाका वडामा खटाएर दुई महिनासम्म स्वास्थ्य सम्बन्धी तथ्यांक संकलनको काम लगाएको भए पनि कसैले अहिलेसम्म तलब नपाएको उहाँको गुनासो छ । 

उहाँले भन्नुभयो, ‘दुई महिनासम्म फिल्डमै बसेर काम गरेको तलब पाउनु त कता हो कता ! प्रमाणपत्र पनि पाइएन, बरु काम लगाउने नै अहिले बेपत्ता छन् ।’

जिल्ला प्रहरी कार्यालयका अनुसार नेटवर्क बनाएर ठगी गर्नेमध्ये हेमराज गुरुङलाई प्रहरीले पक्राउ गरी कारबाही प्रकृया अघि बढाएको छ भने अन्य फरार छन् । पीडितकाे उजुरीका आधारमा प्रहरीकाे अनुसन्धानपछि जिल्ला तथा गाँउमै रोजगारी दिने भन्दै जिल्लाका १११ जना युवायुवतीहरुलाई ठगेको खुलेको छ । राम्रो तलब र सुविधासहितको जागिर हुने भन्दै फेसबुकबाट नेटवर्क बनाएर उनीहरुलाई ग्रीन क्लब नेपाल संस्थाको नामबाट ठगेको खुलेको  हो ।

प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले ठगी गर्नेमध्ये एक जनालाई पक्राउ गरी ठगी मुद्धा अदालतमा चलाई कारबाही प्रकृयाअघि बढाएको जानकारी दिनुभयो । ‘ठगी गर्ने चार जनामात्र नभइ अरु पनि हुन सक्छन,’ उहाँले भन्नुभयो, ‘त्यस सम्बन्धमा अनुसन्धान र खोजी भइरहेको छ ।

 

अन्तिम अपडेट: चैत १४, २०८०

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया