के काठमाण्डौलाई ‘पर्पल सिटी’ बनाउन सकिँदैन ?

 जेठ ४, २०७६ शनिबार १७:२६:५० | बेदानन्द जाेशी
unn.prixa.net

काठमाण्डाै – भारतको जयपुर गुलाबी शहर अर्थात ‘पिङ्क सिटी’ का नामले विश्वमा चर्चित छ । सन् १८७६ मा महराजा सवाई राम सिंहले बेलायती राजकुमार अल्बर्टलाई खुशी बनाउन जयपुरलाई दुलही झैँ सिँगारेका थिए ।

शहरलाई एकरुपता दिनका लागि उनले एउटै रङ लगाएका थिए । जयपुरका ऐतिहासिक सम्पदाहरु पनि गुलाबी बनाइयो । अहिले पनि बेलुकापख जयपुरमा रहेको ‘अल्बर्ट हल’लाई गुलाबी बत्तीले झिलिमिली पारिन्छ । 

जयपुर मात्रै होइन, विश्वमा धेरै शहर त्यस्ता छन्, जसका आफ्नै परिचय छन् । त्यस्तै भारतकै अमृतसरलाई ‘गोल्डेन सिटी’ रुपमा चिनिन्छ । अरब देशका विभिन्न शहर पनि इस्लामिक सम्पदाका कारण आफ्नै मौलिक पहिचानका साथ विश्व मानचित्रमा परिचित छन् । 

नेपालका शहरहरु पनि विभिन्न नामले चिनिए पनि तिनीहरुले पाएको नामअनुसार संरक्षण र संवर्द्धन भने हुन सकेको छैन । केन्द्रीय राजधानी काठमाण्डौलाई मन्दिरहरुको शहर भनेर चिनिन्छ । तर भएका ऐतिहासिक मन्दिरहरुको संरक्षण हुन सकेको छैन । त्यस्तै पोखरा तालहरुको शहर भनेर चिनिए पनि केही तालहरुको प्रचारप्रसारसमेत हुन नसकेको अवस्था छ ।

काठमाण्डौमा रहेका पशुपतिनाथदेखि स्वयम्भूनाथ र बौद्धनाथको आफ्नै इतिहास छ । आफ्नै धार्मिक तथा पर्यटकीय महत्व छ । काठमाण्डौको अर्को पनि पहिचान बनाउन सकिन्छ । कुनै बेला काठमाण्डौमा ढकमक्क फुल्ने ज्याकाराण्डा अहिले हराउँदै गरेको छ ।

चक्रपथ विस्तारका क्रममा धेरै ज्याकाराण्डाका रुख काटिए । बैजनी फूलले ढकमक्क शहर र नेपथ्यमा हिमालको दृश्य देख्न पाउँदा जोसुकैको मन रमाइहाल्छ ।  काठमाण्डौलाई पर्पल सिटी अर्थात बैजनी शहरको रुपमा पनि चिनाउँ न ।

नेवारीहरु यसलाई चखुँछ्यँसवाँ अर्थात भँगेरे टाउके फूल पनि भन्ने गर्छन् । । शहरका प्रत्येक सडक छेउमा ज्याकाराण्डाका फूलहरु रोपिनुपर्छ । बिहेको मण्डप झैँ अब बैजनी नीलो ज्याकाराण्डामा काठमाण्डौलाई सजाउनुपर्छ ।

२७ किलोमिटरको चक्रपथको वरिपरी यस्तै गरी फूलहरु फुलेको दृश्यको फुटेज लिन बलिउडदेखि हलिउड पनि काठमाण्डौमा ओर्लिओस् न ! कति हाम्रा पुर्खाहरुले निर्माण गरेका पुरातात्विक संरचनामा मात्र हामीले गर्व गर्ने । पर्यटकका क्यामेराहरु पनि भत्किएका संचनाका फोटाहरु कैद गर्दा गर्दा दिक्क मान्दा हुन् । 

चैत वैशाखमा काठमाण्डौ साँच्चिकै रमणीय देखिन्छ । यतिबेला काठमाण्डौ आउने पर्यटकलाई त लाग्दो हो वाह ! काठमाण्डौ । तर यो वाहपनलाई टिकाइराख्न र विश्वमा अझै विशिष्ट पर्यटकीय सहरको रुपमा विस्तार गर्न अब प्रत्येक सय मिटरमा एक ज्याकाराण्डाको रुख रोप्नु अनिवार्य छ । महानगरपालिकाले यसको पहल गर्नैपर्छ ।

काटछाँट गर्न मिल्ने र काठमाण्डौको वातावरणमा सजिलै हुर्किने यो बिरुवा हाम्रो पहिचान बन्न सक्छ । शहरमा अझै नौलोपना छाउन सक्छ । भूकम्पले मर्मत हुन नसकेको घरहरु ढाकिन सक्छन् । थोरै भए पनि काठमाण्डौवासीले स्वच्छ हावा पाउन सक्छन् । ढलको दुर्गन्धले खुम्चिएका नाकहरु एकैछिनका लागि भए पनि खुल्न सक्छन् ।

अहिले शहरका साना ठूला खोलाहरुमा करिडोर निर्माण भइरहेका छन् । करिडोर सँगसँगै ज्याकाराण्डा फुलेको कल्पना मात्र गर्दा पनि क्या आनन्द आउँछ । कलकल बगिरहेको बाग्मती र त्यसैमाथि ज्याकाराण्डाका फूलहरु तैरिँदै बग्दै गरेको कल्पना गर्नुस् त ।

ज्याकाराण्डाको टुप्पैमा बसेर कोइलीले रमाउँदै गीत गाउँदा बाटो हिँड्ने बटुवाले ठाडो शिर गरोस् । जाममा परेका यात्रीहरुले एकैछिन भए पनि मन बहकाउन पाउन् । सडकमा पाइला टेक्नेबित्तिकै घर तथा अफिस भित्रको बोझ हलुका होस् । 

अब हामीले काठमाण्डौको क्यानभासमा नयाँ रङ्ग पोत्नुपर्छ । ज्याकाराण्डाको बैजनी रङ्गले रङ्ग्याउनुपर्छ । नगरकोटबाट हेर्दा होस् वा स्वयम्भूको डाँडाबाट हेर्दा, उपत्यका बगैँचाजस्तै लागोस् । स्वर्गको टुक्रा उछिटिएर आएको भान होस् । 

जापानमा साकुरा फुल्छ । त्यहाँ गएका मेरा साथीले साकुरा फुलेको फोटोहरु खिचेर सामाजिक सञ्जालमा राख्दा मलाई लाग्छ, त्यसै गरी काठमाण्डौमा ‘ज्याकाराण्डा’ किन फुलाउन सकिँदैन ? जापानमा भएका साथीलाई ज्याकाराण्डाकाे बैजनीमा सुसाेभित काठमाण्डौको तस्बिर खिचेर मैले कहिले पठाउने ?

साकुरा फुलेको हेर्न मात्र त्यो सिजनमा जापानमा पर्यटकको संख्यामा निकै वृद्धि हुने कुरा पटक–पटक चर्चामा आइरहन्छ । त्यो काइदा हामीले पनि लागू गर्न सक्छौँ । दुई महिनामा मात्र थप एक लाख पर्यटक भित्र्याउन सके पनि विदेशी मुद्रा आर्जनमा देश एक खुड्किला माथि उक्लिन सक्छ । 

त्यसै पनि अहिले भिजन २०२० को लहर चलिरहेको छ । के भिजन २०२०  को प्रमुख एजेन्डामा यसलाई पनि गाभ्न सकिँदैन र ? भिजन २०२० को उपलक्षमा काठमाण्डौ सहरमा २०२० वटा मात्र पनि ज्याकाराण्डाका बोटहरु रोपौँ न । सात वर्षपछि भिजन २०२५ भन्न हामीलाई गर्व लाग्नेछ ।
 

अन्तिम अपडेट: असोज १०, २०७६

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया