कहाँ फालिन्छ ब्रुमरले उठाएको 'टनका टन' धुलो ?

 जेठ ८, २०७६ बुधबार १६:२५:३२ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डाै महानगरपालिकाले  यान्त्रिक कुचो अर्थात ब्रुमरको प्रयोग गर्न थालेपछि सडकको धुलो केही कम भएको देखिन्छ ।

बाटोमा हिँड्दा धुलोले उकुसमुकुस पार्ने किसिमको पहिलको जस्तो अवस्था भने अहिले छैन । काठमाण्डौका सडकहरु हेर्दा पनि बढारेर राखेको आँगन जस्तै देखिन थालेका छन् । 

नयाँ बजारका स्थानीय पवन मास्के पहिलेको भन्दा धुलो कम भएको बताउनुहुन्छ । अहिले पहिलाको भन्दा केही मात्रामा धुलो कम भएको छ । ‘पहिले त घरको झ्याल खोल्नै हुदैन थ्यो, एकैछिनमा धुलोले कोठा भरिन्थ्यो । अहिले कम भएको छ’, उहाँले भन्नुभयो । तर धुलो कम भए पनि मास्क लगाउन भने कम नभएको उहाँ बताउनुहुन्छ ।  

काठमाण्डौ महानगरपालिकाले सडकको धुलो कम गर्न यान्त्रिक कुचो अर्थात ब्रुमर प्रयोग गर्न थालेको दुई महिना भयो । चैत १२ गतेबाट सञ्चालनमा ल्याइएका पाँच ओटा इटालियन कम्पनीको ब्रुमरले राति आठ बजेदेखि बिहान तीन बजेसम्म आठ घण्टा सम्म खटिएर सडकको धुलो उठाउने काम गरिरहेका छन् ।

काठमाण्डौ महानगरपालिका अन्तर्गत वातावारण शाखाका प्रमुख हरि कुमार श्रेष्ठका अनुसार प्रत्येक ब्रुमरले दैनिक चार टन धुलो संकलन गर्छ । यसअनुरुप पाँच ओटा ब्रुमरबाट दैनिक २० टन धुलो संकलन हुन्छ ।

तर यति धेरै मात्रामा संकलन गरिएको धुलो कहाँ फालिन्छ होला भन्ने सबैलाई कौतुहलता हुनु स्वभाविकै हो । 

कहाँ जान्छ त धुलो ?

सडकबाट उठाएर ल्याएको धुलो फोहोर संकलन केन्द्र टेकुमा पुर्‍याइन्छ । यसरी ल्याइएको धुलो बाग्मती नदी छेउमा करिडोर निर्माणका लागि खाली ठाउँ तथा खाल्डो पुर्ने काममा प्रयोग भइरहेको इन्सपेक्टर प"र्णचन्द्र भट्टले बताउनुभयो ।

ब्रुमर सञ्चालनमा आएको करिब दुई महिना हुन थालिसक्यो । दैनिक बीस टनका हिसाबले पनि ६० दिनमा एक हजार दुई सय टन धुलो संकलन भइसकेको हुनुपर्ने हो । केही दिन पानी परेर सञ्चालनमा नआएकाले आठ सय टन जति फोहोर संकलन भएको भट्टले बताउनुभयो । ‘पहिले ठूलो खाल्डो थियो, अहिले संकलन गरेर ल्याएको धुलोले पुरेर कम भइसक्यो’, उहाँले भन्नुभयो ।

तर त्यहाँ हेर्न जाँदा ब्रुमरले बढारेर थुपारेको धुलोले खाल्डो पुरिएको जस्तो भने देखिदैन । वर्षौंदेखिको फोहोर भरिएको जस्तै देखिन्छ । यो त ब्रुमरले ल्याएको जस्तो धुलो देखिँदैनन नि भन्ने प्रश्नमा भट्ट भन्नुहुन्छ, ‘माटो हो नि, सानो थुप्रोकै एक टनभन्दा बढी तौल हुन्छ ।’

यस्तै महानगरपालिकाका मेकानिकल इन्जिनियर पुरुषोत्तम शाक्यले एउटा बु्रमरले ४ घन मिटर फोहोर संकलन गर्नसक्ने बताउनुभयो । ‘त्यसको तौल यति नै हुन्छ भन्न सकिदैन । माटो अर्थात धुलो कस्तो प्रकारको हो भन्नेमा भर पर्छ ।’ उहाँले भन्नुभयो, ‘कंकड म्रिश्रित तथा ओसिलो धुलोको तौल अलि बढी हुन्छ, सुख्खा तथा पातलो धुलोको तौल कम हुन्छ ।’ 

ब्रुमरले संकलन गरेको धुलोको तौल यति नै हुन्छ भनि तोकेर भन्न नसकिने मेकानिकल इन्जिनियर शाक्यकाे तर्क छ । तर दैनिक २० टन धुलाे संकलन हुन्छ भनेर  मेयरले ठाउँठाउँमा भनिरहँदा महानगरपालिकाले कामको बढाई चढाई गरेको पाे हो कि भन्न् आश‌ंका उब्जिन्छ ?

ब्रुमरलाई काम गर्न समस्या

अझै पनि काठमाण्डौ महानगरपालिकाका कतिपय ठाउँमा धुलो धुवाँ कम गर्न नसकिएको ब्रुमरको प्रयोग तथा फोहोर व्यवस्थापन निरिक्षणमा खटिनुभएका प्रहरी निरीक्षक पूर्णचन्द्र भट्ट बताउनुहुन्छ । उहाँका अनुसार निर्माणकार्य भइरहेका विभिन्न ठाउँहरु जस्तै धरहरा निर्माण भइरहेको सुनधारा, चक्रपथ खण्डका आकाशे पुल निर्माण भइरहेका क्षेत्रमा धुलो आइराख्ने भएकाले अलि गाह्रो भएको छ ।

यस्तै चक्रपथको कलंकीबाट महाराजगञ्ज सडक खण्डमा पनि ब्रुमरको प्रयोग प्रभावकारी हुन नसकेको उहाँ बताउनुहुन्छ ।

‘यो क्षेत्रबाट धुलो त धेरै नै संकलन हुन्छ तर सडकको छेउछाउ फिनिसिङ नभएका कारण तुरुन्तै सडक बाहिरको धुलो सडकमाथि आइहाल्छ’, उहाँले भन्नुभयो ।

सडकहरु व्यवस्थित नभएसम्म ब्रुमरले धुलोको दीर्घकालीन समाधन नगर्ने उहाँको भनाइ छ । यस्तै ब्रुमरले पानी परेको बेला भिजेको धुलो तान्न सक्दैन । पानीले सडक भिजेको बेला ब्रुमर कार्यालयमै थन्किएर बस्छन् । यसले सुेकेको एकदमै हल्का धुलो मात्र तान्ने भएकाले पानी पर्दा ब्रुमरले धुलो तान्न नसक्ने उहाँले बताउनुभयो ।

यस्तै सडकमा भएका स साना खाल्डाखुल्डीले पनि ब्रुमर प्रयोगमा समस्या भएको छ । ‘ब्रुमर त व्यवस्थित सडकमा प्रयोग गर्नको लागि हो । हाम्रो सकडकको संरचना नै राम्रो छैन’, उहाँले भन्नुभयो, ‘खाल्डाखुल्डी भएको सडकमा ब्रुमरले काम गर्दैन । यस्तै सडकको तहबाट पिच थपिदै जाँदा सडकको कुना गहिरो पर्ने भएकाले त्यहाँबाट फोहोर तान्न पनि मेसिनलाई गाह्रो हुन्छ ।’ 

अन्तिम अपडेट: फागुन २९, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया