भारतमा बीजेपी 'राष्ट्रवाद'काे जित : नेपाली राजनीतिमा कस्तो प्रभाव पर्छ ?

 जेठ ९, २०७६ बिहिबार २०:३०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय लोकसभा चुनावमा भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन(एनडीए) ले पूर्ण बहुमतका साथ सरकार बनाउने भएको छ ।

नरेन्द्र मोदी फेरि एकपटक भारतको प्रधानमन्त्री बन्नु हुने भएको छ । भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुपछि पूर्ण बहुमतका साथ दोस्रो कार्यकालका लागि सत्तामा फर्किने मोदी दोस्रो हुुनुहुन्छ ।

विभिन्न सात चरणमा भएको चुनावको मतपरिणाम बिहीबार सार्वजनिक भएको हो । बीजेपी एक्लैले झण्डै ३ सय सिटमा जित हात पार्ने निश्चित भएको छ । ५ सय ४३ सिट रहेको भारतीय लोकसभामा २ सय ७२ सिट जित्ने पार्टीले सरकार बनाउन सक्नेछ । त्यसैले बीजेपी एक्लैले पनि सरकार बनाउन सक्नेछ । बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन(एनडीए)को खातामा भने झण्डै ३ सय ५० सिट जाने भएको छ ।  

त्यस्तै भारतीय कांग्रेसले झण्डै ५० सिटमा जित हात पार्ने देखिन्छ । सन् २०१४ को लोकसभा चुनावम भन्दा कांग्रेसले ७ सिट बढी जित्ने देखिएको छ ।  कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन(यूपीए)ले  झण्डै ९० सिटमा जित हात पार्ने देखिन्छ । त्यस्तै वाईएसआर कांग्रेस पार्टीले २५ ठाउँमा जित हात पार्दा ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेसले २३ सिटमा जित हात पार्ने देखिन्छ ।

वाराणसीबाट भारतीय प्रधानमन्त्रीसमेत रहेका नरेन्द्र मोदी जितनजिक हुनुहुन्छ । उहाँले  बसपा-सपा गठबन्धनकी उम्मेदवार शालिनी यादवलाई हराउनु भएकाे हाे । 

त्यस्तै भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले उत्तर प्रदेशको अमेठीमा केन्द्रीय मन्त्री स्मृति इरानीसँग हार व्यहोरे पनि केरलको वायनाडमा भने प्रचण्ड मतका साथ जितनजिक हुनुहुन्छ । उहाँले केरलको वायनाडमा भारतीय कम्युनिष्ट पार्टीका उम्मेदवार पीपी सुनीरलाई हराउनु भएको हो । त्यस्तै भारतीय कांग्रेसकी पूर्व अध्यक्ष सोनिया गान्धी  उत्तर प्रदेशको राय बरेलीबाट विजयी भएको छ । उहाँले बीजेपी उम्मेदवार दिनेशप्रताप सिंहलाई हराउनु भएको हो ।

माेदीकाे विकल्प भएन

यसपटक विपक्षी दलहरु एकजुट भएर नरेन्द्र मोदीलाई सत्ताबाट बहिर्गमनको बाटो देखाउने बताए पनि त्यो योजना सफल भने हुन सकेन । भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धी, तृणमूल कांग्रेसकी नेतृ तथा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी, समाजवादी पार्टीकी अध्यक्ष अखिलेशकुमार यादव, बहुजन समाजवादी पार्टीकी नेतृ मायावतीले मोर्चाबन्दी बनाएर बीजेपी र मोदीलाई घेर्ने प्रयास गरे पनि त्यो सफल हुन सकेन । 

मोदीको नेतृत्व र राजनीतिक कुटिलताका अगाडि सबै फिक्का देखिए । सन् २०१४ को लोकसभा चुनावमा विकासका मुद्दाले प्राथमिकता पाएको थियो । तर यस पटक भने  भारतीय आम चुनाव विकासभन्दा पनि एकअर्काप्रति आरोप–प्रत्यारोपमा केन्द्रित भएको थियो । 

यस पटक बीजेपीले हिन्दीपट्टी भनेर चिनिने हिन्दीभाषी क्षेत्रमा राम्रो प्रदर्शन गरेको छ । अघिल्लो चुनावमा ‘सबैको साथ, सबैको विकास’ भनेर चुनावी मैदानमा उत्रिएको बीजेपी यसपटक भने प्रधानमन्त्री मोदीको व्यक्तित्वमा केन्द्रित भएको थियो । यसपटक चुनावी मैदानमा बीजेपीले घोषणापत्रका कुरा भन्दा पनि विपक्षीलाई निशाना बनाउने काम गरेको थियो । बीजेपीले यस पटक ‘फिर एक बार, मोदी सरकार’ अर्थात फेरि एकपटक मोदी सरकार नारा दिएको थियो । त्यसो त अधिकांश बीजेपी उम्मेदवारले पनि चुनावी मैदानमा आफूलाई भन्दा पनि मोदीको अनुहार र नेतृत्व हेरेर बीजेपीलाई भोट दिन मतदातालाई अपिल गरेका थिए । 

अर्को कुरा मोदीको विकल्पको रुपमा विपक्षी दलले कसैलाई उठाउन सकेनन् । बीजेपीले हिन्दू राष्ट्रवादको मुद्दालाई भजाइरहे पनि विपक्षी दलले त्यसलाई चुनौती दिन सकेन ।  

नेपाली राजनीतिमा कस्ताे प्रभाव पर्छ ?

भारतमा बीजेपीको हिन्दू राष्ट्रवादको मुद्दाले जितेसँगै त्यसको नेपालमा कस्तो असर पर्छ भन्ने विषयमा पनि चर्चा हुन थालेको छ । भारतमा साक्षी महाराज, साध्वी प्रज्ञा ठाकुर जस्ता धार्मिक अतिवादमा विश्वास राख्नेहरुको जितले नेपाली राजनीतिमा पनि हिन्दू राष्ट्रवादलाई टेकेर राजनीति गर्नेहरुलाई बल र आत्मविश्वास पुग्ने विश्लेषकहरु बताउँछन् । 

भारतमा जस्तै नेपालमा पनि सरकार विभिन्न लोकतान्त्रिक संस्थाहरुप्रति असहिष्णु बन्दै जाने चुनौती पनि छ ।  भारतमा मात्रै होइन विश्वमै ‘पपुलिज्म’ अर्थात लोकरिझाइँको जित भएकाले नेपालमा राष्ट्रवादको मुद्दा उचालेर राजनीति गर्नेलाई फाइदा पुग्ने देखिन्छ । नरेन्द्र मोदी र बीजेपीले उठाएको राष्ट्रवादको मुद्दालाई नेपाली राजनीतिमा पनि प्रयोग हुन सक्ने देखिन्छ । व्यवहारमा नभए पनि नेपाली राजनीतिक दलले बोलीमा मात्रै भए पनि राष्ट्रवादका मुद्दालाई बढावा दिने देखिन्छ ।

साथै बागी आवाजलाई जसरी भारतीय राजनीतिमा ठाउँ दिइन्नँ । त्यसरी नै नेपाली राजनीतिमा पनि त्यस्ता आवाजलाई अराष्ट्रिय र देशविरोधी तत्व मानिने खतरा रहेको पनि विश्लेषकहरु बताउँछन् ।


 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया