भारतमा मोदी सरकार, नेपालमा छाया सरकार !

 जेठ ११, २०७६ शनिबार ७:५१:३१ | मिलन तिमिल्सिना
unn.prixa.net

तपाईँ हामी सस्तोमा आलुचना खोजेर सस्तैमा दल र नेताहरुको आलोचना गर्छौं ।

हाम्रा लागि केही गरेनन्, आफ्नै मात्र पेट भरे, थुतुनो मात्रै धेरै चलाए भनेर खोइरो खन्छौँ । गाली गर्छौं, धारे हात लगाउँछौँ । पख्लास् अर्कोपटक भोट दिउँला नि भनेर त्यसैत्यसै मुर्मुरिन्छौँ । तर दल र नेताहरुले तपाईँ हाम्रा लागि कतिधेरै मरिहत्ते गर्छन् भन्ने कुरा चाहिँ चटक्कै बिर्सन्छौँ । उनीहरुका महान निर्णय र कामको नजरअन्दाज लगाउँछौँ । 

हाम्रा दल र नेताहरु सधैँ हाम्रै लागि चिन्तित छन् । अर्को दल र नेताले सक्दैनन् भनेर आफै काम गर्न तम्सिन्छन् । ‘तैँले देश र नागरिकका लागि केही गर्न सकिनस्, खै म गर्छु’ भनेर अघि सर्छन् । सकेसम्म सिंहदरबार नै छिर्न बल गर्छन् । नसके सडक र सदनबाट उफ्रन्छन् । ‘तैँले सकिनस्, अब बाहिरबाटै बसेर भए पनि म देश र नागरिकका लागि काम गर्छु’ भनेर बुरुकबुरुक गर्छन् ।

नपत्याए चुनाव हारेर पनि जितेझैँ गर्दै तपाईँ हाम्रै लागि मरिहत्ते गर्दै गरेको विपक्षी रुखलाई हेर्नुहोस् । सिंहदरबार छिरेको घामले माखोसमेत मार्न सकेन भन्दै रुख आफ्नो रुपको वास्तै नगरी छाया दिन तम्सेको छ । भारतमा यताको रुखसँग मेल खाने कांग्रेसले छाया सरकार बनाउने कहिले कहिले ? यहाँ उही हालतमा रहेको रुखले छाया सरकार बनाइसक्यो । उता मोदी सरकारको टुंगो हुनु पहिले नै नेपालमा छाया सरकारको टुंगो लाग्यो । छिमेकमा अहिले मोदीलाई र यहाँ पहिले ओलीलाई भन्दा गाह्रो भयो छाया सरकार गठन गर्न पनि । 

हुन त असली सरकार चलाउनेले पो के नै गरेका छन् र ? सरकार नहुँदा पनि यही थियो । सरकार हुँदा पनि यही छ । घाम सरकार मात्रै हुँदा पनि भएको त्यही हो । छाया सरकार हुँदा पनि हुने यही हो ।

छाया मन्त्री हुन खोज्नेहरुको लाइन लाग्यो । मन्त्री भैरहेको बानी, मन्त्री भनेर कसैले बोलाइदिए पनि हुन्थ्यो भन्ने खसखस । उकुसमुकुस भएपछि के गर्ने त ? नागरिकको मतले मन्त्री हुन नपाए पनि छाया मन्त्री बन्न त पाउनु पर्यो नि । त्यसैले छाया सरकारमा जानेहरुको तँछाडमछाड भयो । रुखका मूलीलाई पनि जम्बो सरकार चलाइरहेको बानी । रहर गर्ने जति सबैलाई समेटेर छाया सरकार बनाइदिए । अहिले धेरै म त फलानो मन्त्रालयको छाया मन्त्री बनेर गजक्क पर्न पाएका छन् ।
अघिल्लोपटक गर्मीमा भएको चुनाव पनि रुख पार्टीलाई फापेन । जाडोमा भएको चुनावमा पनि रुखका सबै पात झरे । पात मात्रै हैन, ठूल्ठूला हाँगा नै भाँच्चिए । घामले ओइलाएको रुखमा हँसिया र हथौडासमेत बजारिँदा सबैतिर सखाप भयो । हाँगाबिँगा, पात सबै खुइलिएर रुख नांगो भयो । 

आफ्नै पात र हाँगाबिँगा नभएपछि रुखले आफैलाई समेत शीतल दिन सकेन । अरुलाई झन् कसरी दिन सकोस् र ? रुख सुकेपछि घामले सरकार चलाउन थाल्यो । जाडोमा घामले राहत दिन्छ कि भन्ने धेरैलाई लाग्यो । तर घामले जाडोमा प्रचण्ड ताप र राप दिन सकेन । गर्मीमा राम्रो बादल पार्न सकेन । घाम हेर्दाहेर्दै मान्छेको पसिना चिटचिट भएको रुखले पनि बुझ्न थाल्यो । त्यसैले अहिलेसम्म आफैंलाई शीतल दिन नसकेको रुख अब तपाईंहामीलाई छहारी दिन भन्दै जुर्मुराएको छ ।

यसै पनि रुखको काम छहारी दिने हो । तर अघिल्लो चुनावले सुकाएपछि रुख छहारी दिन सक्ने हालतमा छैन । न राम्रोसँग हाँगा पलाएको छ, न त पात नै । चौतारोको वर, विपलजस्तो हुनुपर्ने रुख सिमलीको बुट्यानजस्तो पनि छैन । तै पनि रुखलाई छहारी दिन सक्छु भन्ने भ्रम छ । घामले वाक्कदिक्क भएका नागरिक रुख खोज्दै आउँछन् भन्ने भएको छ । त्यसैले छिमेकमा मोदी दोहोरिनुभन्दा पहिले, दोस्रोमा खुम्चिन बाध्य सहगोत्रीले छाया सरकार बनाउनुभन्दा पहिले नेपालमा रुखले छाया सरकार बनायो ।

घाम भएपछि छाया हुनु अनिवार्य थियो । घाम सरकारसँगै बन्नुपर्दथ्यो छाया सरकार पनि । ढिलै भए पनि छाया सरकार बन्यो । छाया सरकारमा जान धेरैले हानथाप गरे । यसअघि डेढ दर्जन पटक उठ्दासमेत असली सरकारको कुर्सीमा बस्न नसकेका मान्छेलाई पनि छाया सरकारको मुख्य कुर्सीमा बस्ने रहर थियो । तर रुखका मूलीले उनलाई छायाको कुर्सीको समेत छायामा पर्न दिएनन् । आफैले ओगटे ।

जे होस् तपाईँ हामीलाई जता पनि सरकार । छिमेकमा मोदी सरकार । सिंहदरबारमा घाम सरकार । सडकमा छाया सरकार । जाडो हुँदा घाम सरकार । गर्मी हुँदा छाया सरकार । नाकाबन्दी तलतल लागे मोदी सरकार । तपाईँ हामीलाई यसरी कसले गर्न सक्छ माया ? दायाँ पनि सरकार, बायाँ पनि सरकार । छाया पनि सरकार । चुनाव जित्नेको पनि सरकार । चुनाव हार्नेको पनि सरकार ।

हुन त असली सरकार चलाउनेले पो के नै गरेका छन् र ? सरकार नहुँदा पनि यही थियो । सरकार हुँदा पनि यही छ । घाम सरकार मात्रै हुँदा पनि भएको त्यही हो । छाया सरकार हुँदा पनि हुने यही हो । तै पनि जताततै सरकार हुँदा आडभरोसा हुन्छ । 

पहिले गाउँमा सिंहदरबार अर्थात सरकार पुग्छ भने । तर सिंह मात्रै पुगे, दरबार पुगेन । दरबार नपुगेपछि हुँदाखानेको घरबार बनेन । झुप्रो झुपडीमा घाम लागेन । अब छहारीले शितल दिन्छु भनेको छ । 

पहिले ठाउँमा हुँदा, हाँगाबिंगा र पात झुरुप्प हुँदा त शितल दिन सकेन । अहिले सबै हाँगाबिंगा, पात झरेर नांगो भएको रुख छाया दिन्छु भनेर कस्सिएको छ । हेरौं न त, आफैले आफैलाई शीतल दिन नसकेको रुखले तपाईं हामीलाई कतिसम्म छायामा राख्न सक्दो रहेछ ?
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया