चीनबाट सामान बोकेर ४ वटा कन्टेनर तातोपानी आइपुगे, स्थानीय खुशी

 जेठ १५, २०७६ बुधबार १४:४५:२७ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – २०७२ सालको भूकम्पपछि पहिलोपटक चीनबाट सामान बोकेर नेपाली कन्टेनर नेपाल आइपुगेका छन् । 

भन्सारको औपचारिक उद्घाटन बुधबार भए पनि मंगलबार नै ४ वटा नेपाली कन्टेनर सामान ल्याउन चीनको खासाबजार गएका थिए ।

४ वटै कन्टेनर दिउँसो १ बजेतिर लार्चामा रहेको सुख्खा बन्दरगाहमा आइपुगेको तातोपानी भन्सार कार्यालयको इन्टरमोडल क्वारेनटाइन कार्यालयका वरिष्ठ अधिकृत कमल ज्ञवालीले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

‘हिजो चीन गएका ४ वटा कन्टेनर उन बोकेर आज नेपाल आइपुगेका छन्, कन्टेनर नेपाल प्रवेश गरेसँगै स्थानीय बासिन्दा निकै खुशी छन्’, ज्ञवालीले भन्नुभयो । ताताेपानी भन्सार पूर्ण रुपमा सञ्चालनमा आउने भएपछि स्थानीय हाेटल तथा बजारमा चहलपहल बढ्न थालेकाे छ ।

भन्सारको प्रणाली जडानमा ढिलाइ

चीनबाट सामान बोकेर कन्टेनर नेपाल आइपुगे पनि तत्कालै भन्सार जाँचपास भने नहुने भएको छ । लार्चामा चीनले बनाइदिएको अत्याधुनिक सुख्खा बन्दरगाहमा भन्सारका लागि आवश्यक प्रणाली र उपकरण जडान भैसकेको छैन । 

‘भन्सार प्रक्रिया पूरा गर्न हामीले बन्दरगाहमा आवश्यक प्रणाली जडान गर्न बाँकी रहेको छ, तारहरु ल्याएर प्रणाली जडानको काम भैरहेको छ, तर १/२ दिनमै भन्सार छुट्ने सम्भावना छैन’, वरिष्ठ अधिकृत कमल ज्ञवालीले जानकारी दिनुभयो । 

१ सय ८२ वटा कन्टेनर पार्किङ गर्न मिल्ने अत्याधुनिक लार्चा बन्दरगाह चीन सरकारले १२ करोड ७० लाख युआन खर्च गरी निर्माण गरिदिएको  हो । 

नेपाल–चीन जोड्ने प्रसिद्ध उत्तरी नाकाको रुपमा चिनिने अरनिको राजमार्ग २०७१ सालमा जुरेमा आएको पहिरोका कारण आशिंक रुपमा ठप्प भएको थियो  भने २०७२ सालको भुकम्पपछि पूर्ण रुपमा ठप्प भएको थियो । 

पहिला यो नाकाबाट वर्षको २० अर्ब रुपैयाँ बराबरको आयात र साढे २ अर्ब रुपैयाँ बराबरको निर्यात व्यापार हुँदै आएको थियो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया