फिफा महिला विश्वकप : यी हुन् 'गोल्डेन बुट' का ७ प्रबल दाबेदार

 जेठ २७, २०७६ सोमबार १३:३३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फिफा महिला विश्वकपको आठौं संस्करण ७ जुनदेखि सुरु भैसकेको छ । एक महिनासम्म चल्ने प्रतियोगितामा २४ देशका ५ सय ५२ महिला फुटबलरहरुले प्रतिस्पर्धा गरिरहेका छन् । 

सन् १९९१ देखि सुरु भएको महिला विश्वकप फुटबलको पहिलो संस्करण चीनले आयोजना गर्दा अमेरिका पहिलो विजेता बनेको थियो । फिफा महिला विश्वकपको सर्वाधिक सफल टिम अमेरिका हो । उसले अहिलेसम्म ३ पटक उपाधि जितिसकेको छ । त्यस्तै जर्मनीले दुई पटक र जापान र नर्वेले समान एक/एक पटक ट्रफी उचालेका छन् । 

आठौं सिजनको खेल फ्रान्सका ९ वटा मैदानमा जारी छ र सात जना स्टार महिला फुटबलरहरु 'गोल्डेन बुट' का दाबेदार हुनसक्ने आँकलन गरिएको छ । विश्वकपका विगतका संस्करणदेखि अहिलेसम्म ब्राजिलकी मार्टाले सर्वाधिक १५ गोल गरेकी छिन् । त्यस्तै जर्मनकी बिरगिट प्रिन्चले १४ गोल गरेकी छिन् ।

मार्टा डी सिल्भा : ब्राजिल 

मार्टा डी सिल्भा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले अहिलेसम्म १५ गोल गरेकी छिन् । सन् २००२ मा ब्राजिलबाट डेब्यू गरेकी मार्टाले १ सय ३३ अन्तर्राष्ट्रिय प्रतियोगितामा १ सय १० गोल गरेकी छिन् । ३३ वर्षीय मार्टा ६ पटक 'फिफा वेस्ट वुमन अफ् द इयर' समेत भैसकेकी छिन् । 

क्रिस्टिन सिंक्लेयर : क्यानडा 

विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको नवौँ नम्बरमा रहेकी क्रिस्टिन सिंक्लेयर क्यानडाकी हुन् । सन् २००२ मा डेब्यू गरेकी ३५ वर्षीया सिंक्लेयरले क्यानडाका लागि २ सय ८१ खेलमा १ सय ८१ गोल गरेकी छिन् ।  

स्टीन ब्ल्याकस्टेनुइस : स्वीडेन 

२३ वर्षकी स्वीडेनकी स्टीन ब्ल्याकस्टेनुइसको गोल गर्ने कला निकै गज्जबको छ । सन् २०१६ मा 'रियो ओलम्पिक' र सन् २०१७ को 'यूरो कप' मा उनले २/२ गोल गरेकी थिइन् । स्वीडेनकी फरवार्ड लोटा शेलिनले सन्यास लिएपछि स्टीनलाई गोल गर्ने ठूलो जिम्मेवारी छ । उनले ४३ खेलमा अहिलेसम्म १० गोल गरेकी छिन् ।

माना इवाबुची : जापान 

माना इवाबुचीले गत वर्ष १८ खेलमा ९ गोल गर्दै सनसनी मच्चाएकी थिइन् । उनको ९ वर्षे करियरमा सन् २०१८ सर्वाधिक सफल वर्ष हो । २६ वर्षीया मानाले सन् २०११ र सन् २०१५ को विश्वकप पनि खेलेकी थिइन् । जापानका लागि ६१ खेलमा उनले २० गोल गरेकी छिन् । 

तर पछिल्ला दुई विश्वकपमा भने उनले एक गोल मात्र गर्न सकेकी थिइन् । तर गत सिजनको प्रदर्शनका आधारमा उनलाई यसपटकको विश्कपमा 'गोल्डेन बुट' जित्न सक्ने आँकलन गरिएको हो । 

निकिता पेरिस : इंग्ल्याण्ड 

पछिल्लो सिजन म्यानचेस्टर सिटीको महिला टिमका लागि निकिता पेरिसले १९ गोल गरेकी थिइन् । उनले २०१८/१९ को 'महिला फुटबलर अफ् द इयर' को उपाधि जितेकी थिइन् । पहिलो पटक विश्वकप खेल्न लागेकी २५ वर्षीया निकिताले विश्वकपको छनोट खेलमा ६ गोल गरेकी थिइन् । इंग्ल्याण्डको राष्ट्रिय टिमका लागि उनले ३३ खेलमा १२ गोल गरेकी छिन् ।

लिया शूलर : जर्मनी 

२१ बर्षीया लिया शूलरले सन् २०१७ मा अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेकी थिइन् । उनले १४ खेलमा ८ गोल गरेकी छिन् । लियाले विश्वकपअघि फ्रान्सविरुद्धको अभ्यास खेलमा गोल गर्दै जर्मनीलाई जिताएकी थिइन् ।

सेम कर : अस्ट्रेलिया 

पछिल्लो २२ महिनामा ३१ खेल खेलेकी अस्ट्रेलियाकी सेम करले २३ गोल गरेकी छिन् । यसका कारण पनि यस विश्वकपको 'गोल्डेन बुट' को दाबेदारको रुपमा उनलाई हेरिएको छ । उनले पनि सन् २०११ र सन् २०१५ मा विश्वकप खेलेकी थिइन् । २५ वर्षीया सेम करले ७८ खेलमा ३२ गोल गरेकी छिन् ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया