धर्म प्रचार विश्वविद्यालयकाे पीएचडीको टोपी लगाएर सरकारले सनातन धर्ममाथि प्रहार गर्दैछ : नेपाली कांग्रेस

 जेठ २७, २०७६ सोमबार १२:५७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठीसम्बन्धी विधेयकको विरोधमा राजधानीको माइतीघर मण्डलामा भएको प्रहरी धरपकडको विरोध गर्दे संसद बैठक अवरुद्ध गरेको छ । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माइतीघर मण्डलामा भएको प्रहरी दमनको भर्त्सना गर्दै त्यसबारे गृहमन्त्रीको जवाफ माग गरेको हो । भूमिसुधार मन्त्रीको जवाफपछि पनि कांग्रेस सांसदहरुले आइतबार माइतीघर मण्डलामा प्रर्दशनकार माथि भएको धरपकडबारे गृहमन्त्रीको जवाफ माग गर्दे अवरोध गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गर्नुभएको हो ।

बैठकमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले शान्तिपूर्ण रुपमा भेला भएका आम नागरिकमाथि बर्बरतापूर्ण आक्रमण गरेको भन्दै भर्तसना गर्नुभयो । संविधानले धर्म संस्कृति र परम्पराको संरक्षण गर्ने प्रतिबद्धता जाहेर गरेको स्मरण गर्दे उहाँले गुठी सम्बन्धी विधेयकले धर्म संस्कृति परम्परा र सम्पदामाथि गम्भीर प्रहार गरेको दाबी गर्नुभयो ।

उहाँले गुठीयारहरुले राजधानी काठमाण्डौको माइतीघरमा सरकारको ध्यानाकर्षण लागि शान्तिपूर्ण रुपमा विरोध जुलश गर्दा प्रहरीले धरपकड गर्ने काम गरेको भन्दै  विरोध गर्नुभयो । उहाँले सरकारले विदेशी धर्मप्रचारको टोपी लगाएर नेपाली धर्म र संस्कृतिमाथि प्रहार गर्ने काम गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, 'धर्म प्रचार विश्वविद्यालयले पीएचडीको टोपी लगाइदिन्छ । धर्म प्रचारकको टोपी लगाएर नेपालको पुरातन, सनातन धर्म संस्कृतिमाथि सरकारले प्रहार गर्दछ । यो घोर आपत्तिजनक छ ।'

उहाँले सरकारले संविधानको मर्मविपरLत विधेयकहरु ल्याउने काम गरिरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, 'सभामुख महोदय, संविधानविपरीत विधेयकहरु बारम्बार सदनमा  किन प्रवेश गराउन खोजिन्छ ? संविधानको गम्भीरतापूर्वक अध्ययन गरियोस् । संविधानलाई स्वामित्वमा लिएका राजनीतिक शक्तिहरुले, दलहरुले यो संविधानको पालना र रक्षा गर्नुपर्दैन? झन संविधानको पालना गर्नुपर्ने, रक्षा गर्नुपर्ने सरकार नै सविधान उलंघनमा छ । यो घोर आपत्तिजनक छ । पछिल्ला विधेयकहरु संविधानले प्रदत्त गरेका हक अधिकारलाई कुण्ठित गर्ने मनसायबाट ल्याइएको छ । यो घोर आपत्तिजनक छ ।'

सरकारले धर्म संस्कृति, परम्परा र गुठीको अस्तित्वलाई नै सपाप्त पार्ने ढंगले गुठीसम्बन्धी विधेयक अगाडि बढाएको भन्दै उहाँले घोर आपत्ति जनाउनुभयो । लगत्तै सभामुखले सत्तापक्षका सांसद पम्फा भुसाललाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरुले नियमापत्ति गरेका थिए । आफूहरुको विरोधका बाबजुद सत्तापक्षका सांसदलाई बोल्नका लागि समय दिएपछि कांग्रेस सांसदहरुले नियमापत्ति गर्दै सभामुखको कार्यशैलीको विरोध गरेका हुन् । सांसद भुसालले पनि गुठीसम्बन्धी विधेयक र गुठीयारको प्रर्दशनमा भएको धरपकडको विरोध गर्नुभएको थियो ।

लगत्तै बोलेका कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रमुख प्रतिपक्षीले विरोध गरिरहेका बेला सत्तापक्षका सांसदलाई बोल्न दिएकोमा गम्भीर आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, 'सरकारको के हो धारणा ? सरकारको धारणा हामीलाई चाहियो । यो गम्भीर आपत्तिजनक छ । यो नियमावलीको उलंघन हो ।'

सभामुख कृष्ण महाराले मंगलबारको प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको जानकारी गराउनेबित्तिकै कांग्रेसका सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुखले प्रमुख सचेतक खाँडलाई बोल्नका लागि  समय दिनुभएको थियो । 

निषेधित क्षेत्र ताेड्न खाेजेपछि प्रहरीले बल प्रयाेग गरेकाे हाे : मन्त्री अर्याल

भूमिसुधार मन्त्री पद्मा अर्यालले गुठी सम्बन्धी कानुन एकीकरण र संसोधन गर्न बनेको विधेयक धर्म, संस्कृति र परम्परालाई प्रतिकूल पार्ने गरी नआएको दाबी गर्नुभएको छ । 

सोमबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धर्म, संस्कृति र परम्परालाई प्रतिकुल पार्ने गरी ल्याइएको विधेयकको विरोधमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमन भएको भन्दै सरकारको जवाफ माग गरेपछि विभागीय मन्त्रीका दृष्टिबाट उहाँले विधेयकबारे स्पष्ट पार्नुभएको हो । उहाँले हिजोको मर्म र भावनालाई प्रतिकूल पार्ने गरी विधेयक प्रस्तुत नभएको भन्दै विधेयकलाई गम्भीर रुपमा अध्ययन गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, 'संविधानलाई एकीकृत रुपमा बुझ्नुपर्छ । संविधानको एउटा धाराको व्याख्या मात्रै हेरेर, एउटा अनुसूची मात्रै हेरेर संविधानको प्रतिकूल हुन्छ कि अनुकूल हुन्छ भन्ने निष्कर्ष निक्लन्छ जस्तो लाग्दैन ।' संविधानको धारा २ सय ९० अनुसार विधेयक आएको भन्दै उहाँले संविधानलाई एकीकृत रुपमा बुझ्न आग्रह गर्नुभयो । विधेयकमा गुठीमा जोडिएका किसानका हकहित, मठ मन्दिर, धर्म संस्कृतिलाई संरक्षण गर्ने विषयलाई प्रतिकूल पार्ने व्यवस्था नभएको भन्दै उहाँले विधेयकप्रति धेरै सन्देह प्रकट नगर्न आग्रह गर्नुभयो ।

उहाँले आइतबारको प्रर्दशनका क्रममा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले पानीको फोहोरा प्रयोग गरेको स्पष्ट पार्नुभयो ।

मन्त्रीको जवाफमा प्रतिप्रश्न गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सचेतक पुष्पा भुसालले संसदीय मूल्य र मान्यता नियमावलीअनुसार संसद सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । गम्भीर विषयमा प्रमुख प्रतिपक्षी दलको ध्यानाकर्षण गर्दे उभिएर विरोध गरिरहेको अवस्थामा सभामुखको निर्देशनबाट सत्तापक्षको सांसदबाट बोल्न दिने काम भएको भन्दै उहाँले त्यसकार्यप्रति घोर आपत्ति जनाउनुभयो ।

उहाँले माइतीघर मण्डलामा गुठीयारमाथि भएको धरपकडप्रति भूमिसुधार मन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै गृहमन्त्रीको जवाफ माग गर्नुभयो । मन्त्रीले धरकपड गरेको स्वीकार गरेको भन्दै उहाँले त्यसबारे गृहमन्त्रीले जवाफ नदिएसम्म कांग्रेसले सदन सञ्चालन गर्न नदिने बताउनुभयो ।

आसन ग्रहणका लागि सभामुखले पटक-पटक आग्रह गरे पनि कांग्रेस सांसदहरुले उभिएर विरोध जनाइरहेपछि सभामुखले बैठक स्थगित गर्नुभएको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया