हावाहुरी पीडितको पीडा : भत्केका खण्डहरमा भोकभोकै

 जेठ २७, २०७६ सोमबार १७:४५:१ | सीताराम ओझा
unn.prixa.net

कैलाली – धनगढी छेउको मनेहराका धनबहादुर चौधरी हावाहुरीले उडाएका टिनहरु बटुलेर पाँच जना छिमेकीको साहारामा छाना छाउन व्यस्त हुनुहुन्छ । बल्ल बल्ल कमाएर बनाएको घरको छाना हावाहुरीले उडाएपछि सानो भान्छामा सबै परिवारसहित बसिरहनुभएका उहाँले राहतको नाममा अहिलेसम्म केही पनि पाउनुभएको छैन ।

हथौडाले टिनामा किला ठोकेर भत्केको छानालाई टालटुल पारेर बस्ने जोहो हुन्छ की भन्ने आशमा प्रचण्ड गर्मीमा पसिना चुहाउँदै धनबहादुरसँगै पाँच जना छिमेकी लागिरहेका छन् । ‘अहिलेसम्म केही पाएको छैनौँ । उडाएको टिन बटुलेर आफ्नो घर छाउँदैछौंँ पडौसी लगाएर । भोलि पर्सि फेरि आँधी आउछ भन्ने सुनेको छु । बनेको घर भत्किन्छ भनेर टालटुल पारिरहेका छौँ ।’ पसिना पुछ्दै धनबहादुरले भन्नुभयो– हिजो हामी चौकी गएर निवेदन दिएर आएका हौँ तर केही पनि भएको छैन । वडाध्यक्ष आएर पनि चौकीमै जाओ भन्नुभयो । अरु केही पनि भन्नुभएन । केही पनि दिनुभएन ।

धनबहादुरले बचेको घरको छानालाई टिनले छाउँदा उहाँकै छेउमा रहनु भएका मंगीराम चौधरीलाई भने के गरौँ के नगरौँ भैरहेको छ । मिस्त्रीको काम गरेर कमाएको पैसाले बनाएको दुई कोठे घरको कुनै नाम निशाना नै बाँकी छैन । उडाएका टिनहरुलाई बेरेर अर्काको जमिनमा बस्नुभएका उहाँलाई पनि बस्न पनि होइन खानाका लागि पनि समस्या भैरहेको छ ।

श्रीमती र छोरीलाई अर्काको घरमा सुरक्षित राखेर आफू घाइते हुनुभएका मंगीराम चौधरीसँग भएका धेरै सामान फुटेका छन् भने भएको खाद्यान्न पनि हावाहुरी र पानीले नष्ट भएको छ । समस्या त धेरै समस्या छ । ‘सामान टुटफुट भयो खानका लागि समस्या भयो । दाउरा पनि छैन । पसलबाट एक दुई किलो किनेर खाइरहेका छौँ ।’ उहाँले भन्नुभयो, ‘अहिले नेताहरुले अनुहार देखाएका छैनन् । चुनावमा हात जोड्दै जोड्दै आउँछन् । अहिले हामीलाई धेरै समस्या छ ।’

प्रदेश सरकार र विभिन्न निकायबाट कैलाली कञ्चनपुरका हावाहुरी पिडितलाई राहतको घोषणा गरिएको भएपनि पिडितहरुले भने अहिलेसम्म पाउन सकेका छैनन् । हावाहुरीका कारणले करौडौँको क्षति भए पनि हावाहुरी आएको चार दिनसम्म पनि पीडितसम्म कुनै पनि राहत सामाग्री पुग्न सकेको छैन । भने उनीहरुलाई वितरण भैरहेको त्रिपालसमेत अधिकांश पीडितहरुसम्म पुगेको छैन् । घरका छना उडेका छन् खाद्यान्न भिजेका छन् । अहिलेसम्म केही दिन्छु भनेर कोही पनि आएका छैनन् । पीडित बीरबहादुर चौधरीले भन्नुभयो ‘रातिको समयमा चोरीको डर छ । सर्प र किरा फट्याङ्ग्राको पनि डर छ । सुत्न पनि निकै गाह्रो भैरहेको छ ।

करोडौंको क्षति हुने गरी हावाहुरी चलेको चार दिन भैसक्दा पनि राहतको नाममा त्रिपालसमेत पाउन नसकेका धेरै पीडितहरुको अवस्था दयनीय र कहालीलाग्दो छ ।

आमा बुवालाई अंगालोमा राखेर बचाउनु भएका पुन्नुराम चौधरीको घरको आधा छाना छैन भने आधा भित्ता भत्काएको छ । खुल्ला छानामा नै उहाँ बसिरहनुभएको छ । ‘वडा सदस्य गाडीमा आएर हेरेर जानुभयो । फोटो खिचेर जानुभयो । तर केही सहयोग पाएका छैनौँ’, उहाँले भन्नुभयो– ‘आँगनमा सुतिरहेका छौँ । गर्मी छ । साहुसँग उधारो ल्याएर खाइरहेका छौँ । सँधै किन्नका लागि पैसा पनि छैन । कहिले भोकै बस्नुपर्छ ।’

अहिले हावाहुरी पीडित परिवारलाई साँझ बिहानको छाक टार्न पनि निकै मुश्किल भैरहेको छ भने चर्को गर्मीमा खुल्ला आकाशमुनि रात दिन बिताउनु पर्दा जनजीवन कष्टकर बनेको छ । त्यसमै सर्प किराहरुको डरलेसमेत पीडित परिवारहरु राम्ररी सुत्न समेत सकेका छैनन् । हावाहुरीले दुई कोठे घरको छाना र कोठा भत्केका लालबहादुर चौधरीको घर हेर्न आउने धेरै जना छन् । तर उहाँले पैसा नभएका कारण केही पनि गर्न सक्नुभएको छैन । 

ज्याला मजदुरी गरेर छाक टार्नु हुने उहाँ घर भत्केपछि काममा पनि जान सक्नुभएको छैन । हेर्न आउँछन् सोध्छन्, जान्छन्, केही पनि दिएका छैनन् । उहाले भन्नुभयो– आफूसँग पैसा छैन । अब साहुसँग मागेर भए पनि बनाउनु पर्ला । अहिलेसम्म कुनै नेता पनि हेरेका छैनन् । केही गरेका छैनन् ।

जिल्ला विपद व्यवस्थापन समितिको बैठकले प्रभावित स्थानका स्थानीय तहका वडाध्यक्षले विवरण संकलन गर्दै राहतका आवश्यक सामाग्री वितरण गर्ने निर्णय गरेको थियो । तर वडाध्यक्षहरुले विवरण दिन बेवास्ता गरेका कारण धेरै पीडितहरुको अवस्था दयनीय बन्दै गएको हो ।

गएको बिहीबार आएको हावाहुरीले दुई जनाको ज्यान जानुका साथै ८४ जना घाइते भएका छन् । ७ हजार ८ सय ४४ घरधुरी प्रभावित भएको र दुई हजार दुई सय १६ घर पूर्ण रुपमा क्षति भएको जिल्ला आपतकालीन सञ्चालन केन्द्र कैलालीको तथ्यांक रहेको छ ।

अहिलेसम्म एक हजार तीन सय ४८ थान त्रिपाल मात्रै राहत स्वरुप बाँडिएको छ । कुनै पनि खाद्य सामाग्री वितरण भएको छैन । बढी क्षति भएका स्थानीय तहले मेस सञ्चालन गरेर खानाको व्यवस्था गर्ने भनेकोमा पीडितहरुलाई खानाको व्यवस्था हुन सकेको छैन भने सम्बन्धित वडाध्यक्षहरुकै बेवास्ता कारण पीडितहरुले राहत सामाग्री पाउन सकेका छैनन् । 

‘सुरुमा स्थानीय तहहरुले आफैँ खानाको व्यवस्था गर्छौँ भनेर बैठकमा भनेपछि हामी गैरखाद्य राहत सामाग्रीतिर लाग्यौ अहिले खान नपाएको गुनासो आएकोले अब त्यसको व्यवस्थापनतिर लाग्छौँ’, कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका संयोजक मोहनराज जोशीले भन्नुभयो । राहत उद्धारका लागि वडामा गठन गरेको समिति मार्फत वडाध्यक्षलाई आवश्यक सामानको विवरण ल्याउन र आवश्यकता वितरणका लागि योजना बनाउछौँ भनेका छौँ । वडाध्यक्षले चाहेमा आएर आवश्यक सामान लैजान सक्नुहुन्छ । 

नयाँ संरचना अनुसार स्थानीय र प्रदेश सरकार घर आँगनै आएको भए पनि कैलाली कञ्चनपुरका हावाहुरी पीडितहरुले अहिलेसम्म त्यसको अनुभुति गर्न पाएका छैनन् । देशका अन्य भागमा आएको हावाहुरी पीडितलाई तत्काल राहत स्वरुप सहयोग गर्ने घोषणा गरेको प्रदेश सरकारले आफ्नै प्रदेशबासीन्दाका लागि निर्णय गर्न तीन दिन लगाएको तर पाउने आशासमेत नरहेको हावाहुरी पीडितहरुको गुनासो छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया