सुत्केरीको मृत्यु प्रकरण : किन बोलाइयो डडेल्धुरा अस्पतालका चिकित्सकलाई काठमाण्डौ ?

 असार २, २०७६ सोमबार १३:४३:१७ | तपेन्द्र बिष्ट
unn.prixa.net

डडेल्धुरा – शुक्रबार डडेल्धुरा अस्पतालमा अमरगढी नगरपालिका–६ छचोडा गाउँकी २६ वर्षीया गीता ताम्राकारको ज्यान गएपछि उत्पन्न तनाबमा सरकारी चिकित्सक संघ (गोदान) ले अस्पतालमा कार्यरत सबै चिकित्सकलाई काठमाण्डौ बोलाएको छ ।

संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै डाक्टरहरुको सुरक्षाको ग्यारेन्टी नभएसम्म र दोषीलाई तत्काल हिरासतमा लिएर अनुसन्धान नगरिएसम्म यहाँ कार्यरत चिकित्सकलाई आत्मरक्षाका लागि केन्द्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर हुन आग्रह गरेका हुन् ।

साथै, संघले यसबाट सिर्जित सम्पूर्ण परिस्थितिको जिम्मेवार स्थानीय निकाय, प्रशासन र स्वास्थ्य मन्त्रालयको हुने भन्दै घटनापछि उत्पन्न परिस्थितिमा स्थानीय निकाय र प्रशासनको रबैयामाथि पनि प्रश्न उठाएको छ । ‘चरम मानसिक तनाव र असुरक्षाकाबीच चिकित्सक तथा स्वास्थ्यकर्मीहरु रहनु परेको र यस्तो अवस्थामा स्वास्थ्य सेवा प्रवाह गर्न असम्भव छ ।’ अध्यक्ष पाण्डेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

संघले चिकित्सक तथा स्वास्थ्यकर्मी उपर दुर्व्यवहार तथा हातपात गर्ने स्थानिय प्रसाशनको निकम्मापन भएको ठहर गरेको छ । अराजकता मच्चाउने अपराधीलाई कारबाही गर्नुको सट्टा अस्पताल सञ्चालन गर्न चिकित्सकलगायतलाई दबाब दिनु स्थानीय प्रशासनको चरम कमजोरी भएको बताइएको छ ।

‘उच्च साहसका साथ डडेल्धुराजस्तो विकट ठाउँमा समेत उपचार सेवा संलग्न चिकित्सकहरु को उच्च मूल्यांकन हुनुपर्ने ठाँउमा यस्तो चरम मानसिक यातना दिइनु दुर्भाग्यपूर्ण रहेको र यसको असर कालान्तरसम्म त्यहाँका स्थानीयले भोग्नुपर्ने भएकाले त्यहाँ कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको व्यवस्था स्थानीय सरकारको समेत रहेको ध्यानाकर्षण गराउँदछौँ’ गोदानको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘सुरक्षाको सत् प्रतिशत ग्यारेन्टी नभएसम्म र दोषीलाई तत्काल हिरासतमा लिएर अनुसन्धान नगरिएसम्म त्यहाँ कार्यरत चिकित्सकहरुलाई आत्मरक्षाका लागि केन्द्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर हुन आग्रह गर्दछौँ । यसबाट सिर्जित सम्पूर्ण परिस्थितिको जिम्मेवारी मूकदर्शक बनेर बसेको स्थानीय निकाय, प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय को हुनेछ ।’ विज्ञप्तिमा भनिएको छ ।

अमरगढी नगरपालिका–६ का धर्मराज ताम्राकारकी २६ वर्षीया श्रीमती गीता ताम्राकारको सुत्केरी भएको १४ दिनसम्म पनि रगत जान नरोकिएपछि शुक्रबार अस्पतालमा नै ज्यान गएको हो । 

सुत्केरीको अवस्था गम्भीर भएपछि उनलाई अन्यत्रै अस्पतालमा लैजान अस्पतालले हेलिकप्टरको समेत व्यवस्था गरिदिएको थियो । तर बिरामीको अवस्था सामान्य रहेको भन्दै चिकित्सकहरुले हेलिकप्टर फिर्ता पठाएका थिए । 

शिशुको अवस्था भने सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । पीडित पक्षले पनि चिकित्सकले लापर्वाहीले गर्दा सुत्केरीको ज्यान गएको पीडित पक्षको आरोप रहेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपेन्द्र बिष्ट

डढेलधुराका उज्यालो सहकर्मी तपेन्द्र विष्ट रेडियो अमरगढीमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया