फ्रान्स र नर्वे फिफा महिला विश्वकपको अन्तिम १६ मा

 असार ३, २०७६ मंगलबार ७:८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फ्रान्स र नर्वे फिफा महिला विश्वकपको नकआउट चरणमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा फ्रान्सले नाइजेरियालाई हरायो भने नर्वेले दक्षिण कोरियालाई निराश पार्‍यो । 

फ्रान्सले नाइजेरियालाई १–० ले हरायो । विवादास्पद खेलमा फ्रान्सले दुई पटक पेनाल्टी हान्ने मौका पाएको थियो । भिभियान असेईलाई फल गरेका कारण फ्रान्सले पेनाल्टी पाएको थियो । यो पेनाल्टी पोस्टमा लाग्न पुग्यो । तर नाइजेरियाकी गोलकिपर चियामाका सिट्ठी बज्नुभन्दा नै अघि बढेपछि फ्रान्सले अर्को पटक पेनाल्टी हान्ने मौका पायो । जसलाई रेनार्डले गोलमा परिणत गरिन् ।

पराजयको बाबजुत नाइजेरियाको नकआउट चरणमा पुग्ने आशा अझै कायमै छ । उत्कृष्ट उपविजेताका रुपमा नाइजेरिया प्रिक्वार्टर फाइनलमा पुग्न सक्नेछ । शतप्रतिसत जित निकाल्दै फ्रान्स समूह एको विजेता बनेको छ ।

एसियाली टिम दक्षिण कोरिया एउटा पनि खेल नजिति घर फर्किएको छ । अन्तिम खेलमा दक्षिण कोरिया नर्वेसँग २–१ ले पराजित भयो । नर्वेविरुद्ध हानेको यही गोल नै दक्षिण कोरियाको पहिलो तथा अन्तिम गोल बन्न पुग्यो । उसले कुल आठ गोल खाएको छ ।

नर्वेले दुवै गोल पेनाल्टीमा गरेको थियो । खेलको पाचौं मिनेटमा क्यारोलिजन ह्यान्सेन र ५१औं मिनेटमा इसाबेल हलोभ्सेनले पेनाल्टीमा गोल गर्दै नर्वेलाई दुई गोलको अग्रता दिलाए ।

यओ मिन जीले ७८ औं मिनेटमा गोल गर्दै दक्षिण कोरियालाई खेलमा फर्काइन् । तर थप गोल हुन नसक्दा दक्षिण कोरिया पराजित भयो भने नर्वे समूह उपविजेता बन्दै अन्तिम १६ मा पुग्यो ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया