संसदीय परिपाटीअनुसार प्रधानमन्त्रीले भनेको कुरा प्रतिपक्षले सुन्नुपर्छ : वरिष्ठ नेता नेपाल

 असार ३, २०७६ मंगलबार १४:१९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीलाई सम्बोधन अवरोध गरेर प्रतिपक्षी दलले गलत गरेको टिप्पणी गर्नुभयो । 

संघीय संसद भवनमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया नेता नेपालले प्रमुख प्रतिपक्षी दलले गलत संसदीय नजिर बसाल्न खोजेको बताउनुभएको हो । प्रधानमन्त्रीले बोल्ने भनिसकेपछि संसदीय परम्पराअनुसार उहाँको कुरा सुन्नुपर्नेमा अवरोध सिर्जना गर्नु नाजायज भएको टिप्पणी उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो, 'प्रमुख प्रतिपक्षी दलको माग नाजायज थियो । प्रधानमन्त्री बोल्ने भनिसकेपछि संसदीय परम्परा र संसदीय परिपाटीअनुसार प्रधानमन्त्रीले भनेको कुरा सुन्नुपर्छ । त्यसपछि प्रतिपक्षले बोल्ने कुराको सन्दर्भमा बोल्न पाउनुपर्छ । सभामुखको रुलिङ नमानेर गलत संसदीय नजिर बसाल्न खोजेको देखिन्छ ।'

त्यस्तै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदको कार्यसूचीविपरीत गएर प्रमुख प्रतिपक्ष दल नेपाली का‌ंग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा बैठकमा बोल्न नदिएको बताउनु भएको छ । 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्नका लागि रोष्टममा उभिनु भएका प्रधानमन्त्री ओलीलाई बोल्न नदिएपछि उपनेता नेम्वाङले कांग्रेसको त्याे गतिविधि संसदको कार्यसूचीविपरीत रहेको प्रतिक्रिया दिनु भएको हो । उहाँले संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ संसदीय परिपाटीमा संसदको नेता, सत्तापक्षका नेता, प्रधानमन्त्रीलाई बोल्नका लागि समय उपलब्ध हुने उल्लेख गर्दै तर बोल्नका लागि रोष्टममा पुग्नु भएका प्रधानमन्त्रीलाई बोल्न नदिइएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो ।

पूर्व सभामुखसमेत रहनु भएका नेम्वाङले प्रधानमन्त्रीलाई बोल्न नदिइएको त्यस विषयमा निधार खुम्च्याएर सोच्न पनि आग्रह गर्नु भयो । ‘हाम्रो संसदीय प्रणाली अनुसार प्रधानमन्त्रीले बोल्नका लागि समय माग गर्नु भएको हो, सभामुखले उहाँलाई बोल्नका लागि समय दिनु भएको हो, समय दिइएअनुसार रोषट्रममा बोल्न जाँदा उहाँले बोल्न पाउनु भएन’, उपनेता नेम्वाङले भनाइ थियो, यसलाई लिएर म अरु टिप्पनी गर्न चाहन्नँ, यस बारे सबैले निधार खुम्च्याएर सोचौं ।’

उपनेता नेम्वाङले संसदीय परिपाटीमा संसदमा बोल्न समय माग गरेपछि प्रधानमन्त्रीलाई बोल्न समय उपलब्ध हुने र त्यसपछाडि मात्रै प्रतिपक्ष दलका नेताले बोल्न पाउने पनि बताउनु भयो ।

 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया