प्रतिपक्षले ढ्यापढ्याप गरेपछि सभामुखले सुन्नुपर्थ्याे : सांसद कर्ण

 असार ३, २०७६ मंगलबार १५:४७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले संसदमा प्रतिपक्षी दलको आवाजलाई कुण्ठित गर्न नहुने बताउनुभएको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि संघीय संसद भवनमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले विपक्षी दलले समय मागेपछि उपलब्ध गराइनुपर्ने बताउनुभएको हो । प्रमुख प्रतिपक्षी दलले ढ्यापढ्याप गरिसकेपछि सभामुखले उसको कुरा सुन्नुपर्ने तर्क उहाँले गर्नुभयो । संसदमा प्रतिपक्षी दलको आवाजलाई कुण्ठित गर्नु नहुने भन्दै उहाँले संसद सधै ‘प्रतिपक्षी दलको हो ’भन्ने मान्यतालाई पनि नबिर्सन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, 'प्रतिपक्षीले ढ्यापढ्याप गरेपछि किन ढ्यापढ्याप गरे भनेर त्यो कुरा सभामुखले सुन्नुपर्थ्याे, नसुनेको कारणले गर्दा संसको अवस्था यस्तो भयो । रोष्ट्रम घेरियो । स्थगित पनि भो । प्रधानमन्त्रीले मात्रै बोल्ने संसदीय अभ्यास होइन । कुनै बेला दमन ढुंगानाले संसद प्रतिपक्षीको हो भन्ने पनि रुलिङ गरेका थिए । त्यसलाई पनि हामीले आफ्नो परम्परामा लिनुपर्छ । बोलिसकेपछि के हो त्यो जवाफ दिने सयम प्रधानमन्त्रीलाई छदै थियो नि । प्रतिपक्षीको आवाजलाई कुण्ठित गर्नु हुँदैन ।'

त्यसैगरी पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सत्ता पक्ष र प्रतिपक्ष दुवै गैरजिम्मेवार भएको टिप्पणी गर्नुभयो । प्रतिनिधिसभा जनताको हितमा सर्वोत्तम अभ्यास गर्ने थलो भएकाले प्रक्रियागत रुपमा कसले अगाडि बोल्ने भन्ने विषयमा बैठक अवरुद्ध गर्दा जनताको अभिमतको दुरुपयोग भएको भन्दै घटनाको भर्त्सना गर्नुभयो ।

उहाँले भन्नुभयो, 'गैरजिम्मेवार व्यवहार ठान्दछु म सत्तापक्ष प्रतिपक्ष दुवैको । प्रक्रियागत रुपमा कसले अगाडि बोल्ने र कसले पछाडि बोल्ने भन्ने विषयमा बहुमूल्य समय खेल फाल्नु  जनताको अभिमतको दुरुपयोग हो । र म चाही यसको तीव्र भर्त्सना गर्दछु ।'

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया