‘परदेश गएका पतिका नाममा’

 असार ९, २०७६ सोमबार १९:१३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल प्रज्ञा प्रतिष्ठानको ६२ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सवमा कवि हेम प्रभास प्रथम भएका छन् । धादिङ घर भएका कवि हेम प्रभासको ‘परदेश गएका पतिका नाममा’ शीर्षक कविता प्रथम भएको हो । 

त्यस्तै डोटीका कवि सुभाषचन्द्र भण्डारीको ‘किनाराका अलिखित संवेगहरु’ शीर्षकको कविता दोस्रो भयो । 

लमजुङका कवि प्रज्ज्वल अधिकारीको ‘पाठशाला’, काठमाण्डौका कवि प्रकाश बस्नेत ‘गफाडी’को ‘इन्द्रधनुष’ र शान्ति शर्माको ‘उज्यालोको गीत’ शीर्षकका कविता तेस्रो भए ।

प्रथम भएका हेम प्रभासको कविता

परदेश गएका पतिका नाममा

मेरो हजुर
मैले यी आँखाहरुमा हजुरलाई सजाएकी छु, 
हजुर खस्नुहुन्छ कि सोचेर आजसम्म रोएकी छैन

सम्झन्छु– यतिखेर मर्मत गर्दै गर्नुहोला हजुर–
अग्ला सपिङ सेन्टर
कति चुहिएको होला पसिना– त्यो बिरानो ठाउँमा
रुमाल छ कि छैन होला गोजीमा ?
मेरो हजुर
फुस्रा भित्ताहरुमा कमेरो पोत्न डराउने मान्छे
त्यति अग्लो घरमा झुण्डेर कसरी लगाउनुभयो होला रङ ?
फोटो देखेपछि खुब आत्तेको छ यो मन ?

हजुर नभएपछि बाँझो पल्टियो गैह्रीखेत
सुक्दै गए सुन्तलाका बोटहरु
क्यालेन्डरमा गोलो लगाएर, नङले भित्तो कोतरेर
औँलाहरु भाँचेर दिन गन्न थालेको पनि वर्षौँ भयो
आकाशतिर हेर्छु – चराजस्ता बादलहरु ओहोरदोहोर गरिरहेछन्
फाँटतिर हेर्छु – बतासको लहर आउँदैजाँदै गरिरहेछन्
मेरो राजा,
मेरा आँखाभरि खुसीको आँसु भरिनेगरी हजुर कहिले आउनुहुन्छ ?

बरु, चाहिँदैन मलाई आइफोन
चाहिँदैन मलाई सुनको चुरा
अलिकति रङ लिएर आउनुहोस्
र, खुइलिन लागेको झन्डालाई सिँगारिदिनुहोस्
हजुरलाई मेरो सिउँदोको रातो सिन्दूरको कसम
हजुरलाई मेरो सौभाग्यको चुरापोतेको कसम
हजुरलाई मेरो जिन्दगीको कसम
मेरो परान
मैले मात्र होइन,
आज यो देशले पनि हजुरलाई पर्खिरहेछ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया