नेकपाका विप्लवकाे आगजनी बाट अछाममा दुई वडा कार्यालय ध्वस्त

 असार १०, २०७६ मंगलबार १९:१२:९ | चन्द्र थापा
unn.prixa.net

अछाम - नेकपा विप्लवले गरेकाे आगजनीबाट अछाममा दुईवटा वडा कार्यालय ध्वस्त भएका छन ।

पञ्चदेवल विनायक नगरपालिका–३ को वडा कार्यालय र ढकारी गाउँपालिका ५ को वडा कार्यालय विप्लव समूहले गरेकाे आगजनीबाट ध्वस्त भएका हुन् ।

पञ्चदेवल विनायक–३ को वडा कार्यालयमा आगलागीबाट कार्यालयमा रहेका सामग्रीहरु जलेर नष्ट भएका छन । वडा कार्यालयका कागजातहरु जलेर नष्ट भएको अछाम प्रहरीले बताएको छ । मंगलबार बिहान २ बजेको समयमा भएको आगजनीबाट कम्प्यूटर, फर्निचर र कागजातसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामका कार्यालय प्रमुख डीएसपी जनकबहादुर शाहीले बताउनुभयो ।  ‘घटनास्थलमा पेट्रोल हालिएको बोतल भेटिएको छ’, घटनास्थल पुगेका प्रहरी निरीक्षक कलेन्द्र शाहीले भन्नुभयाे, ‘घटनाको छानबिन कार्य सुरु भएको छ ।’

यस्तै ढकारी गाउँपालिका वडा नम्बर ५ तिखानमा रहेको  वडा कार्यालयमा पनि मंगलबार बिहान ४ बजेतिर भएको आगजनीका कारण कार्यालय नै ध्वस्त भएको छ ।

आगलागीबाट वडा  कार्यालयसहित भित्र रहेका सम्पूर्ण सामान र कागजात नष्ट भएको प्रहरीले जनाएको छ । वडाले स्थानीय गगन थापाको २ तले घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको थियाे ।

प्रारम्भिक अनुसन्धानबाट दुवै आगलागीका घटनामा प्रतिबन्धित विप्लव समूहको संलग्नता रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । हालसम्म घटनाको कुनै पक्षले पनि जिम्मेवारी भने लिएको छैन । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया