कांग्रेसको केन्द्रीय प्रतिनिधिसँगकाे छलफल १५ घण्टा २५ मिनेटसम्म चल्ने

 असार ११, २०७६ बुधबार १५:११:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसले पार्टीको ‘जागरण अभियान’मा देशभर खटेका केन्द्रीय प्रतिनिधिसँग बुधबारदेखि छलफल सुरु गरेको छ । ‘राष्ट्रिय जागरण अभियान’ को पहिलो चरणमा खटिएका ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधिसँग छलफल सुरु गरेको हो । 

कांग्रेसले पहिलो चरणमा वैशाख २५ देखि जेठ २५ गते एक महिनासम्म ‘हिमाल, पहाड, तराइ-मधेश’ नाम दिएर राष्ट्रिय जागरण अभियान चलाएको थियो । 
अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिका अनुभव र उनीहरुले तयार पारेको प्रतिवेदनमा रहेर छलफल सुरु गरिएको कांग्रेस सभापति शेरबहादुर देउवाले बताउनुभयो ।  

बिहान ११ बजेदेखि सुरु हुने भनिएको भए पनि बैठक २ घण्टा ढिलो गरी १ बजेबाट मात्रै सुरु भएको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छलफलमा विभिन्न जिल्लाका प्रतिनिधिहरुले आफ्ना धारणा राख्ने क्रम सुरु भएको छ । दुई दिनसम्म चल्ने छलफलमा ७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले आफ्ना धारणा राख्नुका साथै तयार पारिएको प्रतिवेदन प्रस्तुत गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।   

छलफलको उद्घाटन गर्दै पार्टी सभापति शेरबहादुर देउवाले पार्टीले सञ्चालन गर्ने दोस्रो र तेस्रो चरणको कार्यक्रमलाई यो छलफलले थप परिष्कृत, प्रभावकारी र परिणाममूखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

१५ घण्टा २५ मिनेट छलफल

कांग्रेसले छलफलमा सहभागी हुने जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिलाई आफ्नो धारणा र प्रतिवेदन पेश गर्न १० मिनेटको समय छुट्याएको छ । 
केन्द्रीय प्रतिनिधिहरुले लिखित प्रतिवेदन पनि बुझाइसकेको र त्यसमा थप आफ्नो धारणा पनि राख्ने भएकाले हरेकलाई १० मिनेटको समय छुट्याएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो । 

जागरण अभियानमा खटेका हरेक केन्द्रीय प्रतिनिधिहरुलाई १० मिनेट समय दिँदा पनि सबै बोलिसक्न झण्डै १३ घण्टा समय लाग्ने पनि महामन्त्री खड्काले बताउनुभयो । सबै प्रतिनिधिले आफ्नो धारणा राखिसकेपछि पार्टी पदाधिकारीहरुले पनि त्यसमाथि आफ्नो रायसहितको धारणा राख्नुहुने भएकाले १० मिनेटकै समय छुट्याउँदा पनि छलफल कार्यक्रम झण्डै १५ घण्टा २५ मिनेटसम्म चल्ने महामन्त्री खड्काले भन्नुभयाे । 

छलफलमा देशैभरका पार्टी कार्यकर्ता तथा शुभेच्छुकका भावना केन्द्रीय प्रतिनिधि मार्फत एक आपसमा आदानप्रदान हुनुका साथै पार्टीलाई गति दिन महत्वपूर्ण हुने खड्काले विश्वास लिनुभएकाे छ ।  

कांग्रेसले जागरण अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रम आगामी भदौ २४ देखि असोज ७ गतेसम्म सुरु गर्दैछ । त्यो अभियानलाई पनि छलफल कार्यक्रमले अझ प्रभावकारी बनाउने उहाँले बताउनुभयो । 

त्यस्तै अभियान अन्तर्गत तेस्रो चरणको कार्यक्रम भने पुस ७ देखि सुरु भई १६ गते मेलमिलाप दिवसका दिन समापन हुनेछ । 

उज्यालाेले तयार पारेकाे भिडियाे स्टाेरी हेेर्नुहाेस्ः

 

अन्तिम अपडेट: बैशाख ४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया