त्रिभुवन विमानस्थलको धावन मार्ग मर्मत: रातभर काम, तर तोकिएको समयमा सक्न मुश्किल

 असार ११, २०७६ बुधबार १९:१२:२८ | अर्जुन पोख्रेल
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतको काम तोकिएको समय अर्थात असार १८ गतेभित्र नसकिने भएको छ ।

३ हजार ५० मिटर लामो धावनमार्गको पुरानो पिच उप्काएरनयाँ हाल्ने काम असार १८ गतेभित्र सक्न प्रयास भएपनि चुनौतीपूर्ण रहेको आयोजनाका निर्देशक बाबुराम पौडेलले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

धावनमार्गको पिच फेर्नकै लागि राति १० बजेदेखि विहान ८ बजेसम्म विमानस्थल बन्द हुँदै आएको छ । अहिले रातभर विमानस्थलको धावनमार्गमा चिनिया कम्पनीले काम गरिरहेको हुन्छ । अहिलेसम्म १९ सय मिटर धावनमार्गमा पुरानो पिच भत्काएर नयाँ पिच हाल्ने काम सम्पन्न भएको छ । अझै ११ सय मिटर क्षेत्रमा पिच फेर्ने काम बाँकी रहेको छ ।

‘हामीले तोकिएको समयमा नै काम सक्ने योजना बनाएका थियौँ, तर बीचमा बेमौसमी पानीले कामलाई प्रभावित बनायो, त्यै पनि हामी असार १८ गतेभित्रै काम सक्न जुटिरहेका छौँ’, निर्देशक पौडेलले भन्नुभयो, ‘अबको २-४ दिनको मौसमले हाम्रो काम समयमै सकिने र नसकिने भन्ने टुंगो लगाउनेछ ।’

यसअघि गएको जेठ ११ गते आयोजनाले पहिलो चरणको काम अन्तरगत बीचको भाग अर्थात जहाज गुड्ने ठाउँको पुरानो पिच हटाएर नयाँ पिच हाल्ने काम सकेको थियो । पहिलो चरणमा सेन्ट्रललाइनका वरपर अर्थात जहाँ जहाज उड्ने क्रममा र बस्ने क्रममा गुड्छन् त्यहाँ वरपरको पिच उप्काएर नयाँ पिच हालिएको थियो । 

मौसमको ‘च्यालेञ्ज’

७५ वर्ष पुरानो धावनमार्ग फेर्ने काम गएको चैत १८ गतेदेखि सुरु भएको हो । त्यसको लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गरिँदै आएको छ । राति १० बजे विमानस्थल बन्द हुनेबित्तिकै धावनमार्ग भत्काउने र नयाँ पिच हाल्ने काम हुन्छ । जुनसुकै हालतमा पनि रात भत्काएको पिच अर्को दिन बिहान ८ बजेसम्म ठिकठाक बनाउनुपर्ने चाप हुन्छ । ठाउँ हेरेर ३० देखि ५० सेन्टिमिटर गहिरोसम्म खनेर पुरानो पिचको ठाउँमा नयाँ पिच हालिन्छ । 

सम्झौता अनुसार असारको १८ गतेभित्र धावनमार्गसहित ट्याक्सी वे को पनि पुरानो पिच भत्काएर नयाँ पिच हालिसक्नुपर्नेछ । तर यसको लागि बेमौसमी वर्षा चुनौती बनेको छ । काम सुरु भएको पहिलो हप्ताभर पनि रातl पानी परेकोले काम हुन पाएको थिएन । अहिले पनि कहिलेकाहीँ राति पानी पर्दा समस्या हुनेगरेको छ । 
‘कहिलेकाहीँ राति पानी पर्छ, त्यसले हाम्रो सेड्युल नै तलमाथि पार्ने डर हुन्छ, पिच टाल्ने बेलामा पानी पर्‍यो भने त झनै तनाव हुन्छ, अर्को दिन ८ बजेसम्म त हामीले जसरी पनि विमानस्थल ठिकठाक पार्नुपर्छ, त्यसैले वर्षा नै चुनौती बनेको छ’, आयोजनाका सूचना अधिकारी दीपेन्द्र श्रेष्ठले भन्नुभयो । 
अहिलेसम्म निर्माण सामग्री र अरु व्यवस्थापकीय कुराका कुनै कमी नभएको तर मौसम नै कहिलेकाँही बाधक बनेको उहाँको भनाइ छ । 

७० वर्षपछि पिच फेर्न जुरेको साइत 

खासमा हरेक १०÷१२ वर्षमा विमानस्थलको पिच परिवर्तन गर्नुपर्ने हो । अन्तर्राष्ट्रिय उदाहरण हेर्ने हो भने पनि बढीमा १५ वर्षभित्र सबैजसो विमानस्थलले पुरानो पिच भत्काएर नयाँ राख्छन् । तर हामीकहाँ ४६ वर्षसम्म पनि पिच फेरिएको छैन । ७० वर्षअघि सञ्चालनमा आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सन् १९७५ अर्थात् आजभन्दा ४४ वर्षअघि विस्तार गरिएको थियो । रन वे ३ हजार ५० मिटर बनाइयो र पिच गरियो । त्यतिखेर पनि पुरानो पिच फेरिएन विस्तार गरेको क्षेत्रमा मात्रै नयाँ पिच हालियो । 

विमानस्थलमा बेला बेलामा धावनमार्गमा चिरा पर्ने समस्यालाई टालेर समाधान गरिँदै आएको थियो । ८ बर्षअघिदेखि भने समस्या बढ्दै गयो । दिनमै ३ पटकसम्म धावनमार्गमा चिरा देखिन थाल्यो । पछिल्ला २ वर्षमा त धावनमार्ग धेरै नै फाटन थाल्यो ।

धावनमार्गकै कारण जहाज आकासमा होल्ड हुन थाले । 
त्यसपछि तात्तिएको नेपाल नागरिक उडड्न प्राधिकरणले चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनियरिङ कर्पोरेशनसँग चार अर्ब २७ करोड रुपैयाँमा सम्झौता गरेर काम थालेको हो ।

उज्यालाेले तयार पारेकाे भिडियाे स्टाेरी हेेर्नुहाेस्ः

 

 

अन्तिम अपडेट: चैत ६, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया