कवितामा नूतन नजिर

 असार १४, २०७६ शनिबार ९:१३:० | डा. नवीन भट्ट
unn.prixa.net

नेपाली साहित्याकाशमा केही समयदेखि छाइरहेको गुणस्तरको शून्यतालाई चिर्दै 'शून्य प्रहरको साक्षी' कविता सङ्ग्रह लिएर कवि महेश पौड्याल आएका छन् ।

महेश पौड्याल, कविभन्दा पनि समालोचक, अनुवादक एवं कथाकार भनेर बढी चिनिएको नाम हो । तर १०८ कविता सङ्ग्रहित 'शून्य प्रहरको साक्षी' ल्याएर उनले आफ्नो कविको परिचयलाई सिद्ध गर्नुका साथै सबै पाठकहरूलाई यसको साक्षी समेत बनाएका छन् । 

'शून्य प्रहरको साक्षी' संवेदना, दर्शन, आदर्श र यथार्थको बेजोड सम्मिलन हो । यसभित्रका कविता सटिक छन् तर स्पष्ट छन् । छोटा छन् तर पूर्ण छन् । सरल छन् तर गहन छन् । सभ्य छन् तर व्यङ्ग्यचेतपूर्ण छन् । हरेक कविताका आफ्नै श्रृङ्गार छन् जसबाट नवीन कविताहरू सिर्जना गर्न सकिन्छन्, बहुअर्थी हाङ्गा कविताहरू निकाल्न सकिन्छन् । 

कलात्मक शैलीमा पस्किइएका पौड्यालका हरेक कविताले मृदुल मुटुमा च्वास्स बिझाउँछन् र एक सर्को नवीनतम् विचार सोच्न बाध्य तुल्याउँछन् । 

उनी 'बच्चाको खेल' कवितामा भन्छन्,

बच्चाको खेल भनेर नहियाऊ, काजी !
तिमी नदी किनारमा सत्रपटक
खेलेर पनि बिहेको खेल
कुमार रहिरहन सक्छौ ? 
तिमी मध्य दिनमा, मध्य सडकमा
नाङ्गै हिँड्न सक्छौ ? 

त्यस्तै अर्को कविता 'जूनकिरी' मा कहन्छन्, 

जूनकिरी,
सायद समयले लेख्छ हाम्रो अस्तित्व ।
तिमीले दिनमा जति चम्कन खोजे पनि
आफू चिनिन
रात नै पर्खनुपर्छ । 
 
पौड्यालका यी कविताहरू आफैमा पूर्ण छन् । यिनले कवितामा उब्जिएका प्रश्नहरूको उत्तर पाठकको जिम्मामा छोडिदिएका छन्। यी उत्तरमा विचार र विमर्श हुन्छ जुन कुराको उत्तर गणीतीय हुँदैन । त्यहाँ सोच र संवेदना भरिएको हुन्छ । समाजका विविध मूल्य मान्यताको माथमा भइरहेको राजनीतिमाथि विचार र भावनाको औँला ठड्याउने सामर्थ्य राख्दछन् । 

मान्छेका संवेदनालाई उजागर पारेर रौं ठाडो पार्न सक्ने खुबी छ पौड्यालका कवितामा । भौतिक रूपमा कोरिएका सिमानाहरूभन्दा धेरै माथि मानवीय संवेदनाका रेखाहरू छन् भन्ने सन्देशसहित रचिएको 'सिमाना' कविता यसको उच्चतम दृष्टान्त हो । 

वाघा सीमानजिकै उभिएर
त्यहाँ कागज जलाइरहेका एकजना वृद्धलाई मैले सोधेँ,
"बा, भारत-पाक सिमाना कहाँ पर्छ?"
उनी मतिर फर्किए, गम्भीर भए
र दाहिने हातको माझ औँलो
मेरो छातीमा राखेर भनेँ, "यहाँ !"
उनका दुवै खुट्टा खरानीमा उभिएका थिए । 

त्यसैगरी, कवि पौड्यालले प्रेम, श्रृङ्गार र करुणाको लयलाई समेत मन छुने किसिमले पस्केका छन् । 

'आँसु र तिमी' कवितामा उनी भन्छन्,  

आँखैका डिलबाट तप्प झर्ने
आँसुसँग त संवाद गर्न सकिनँ
र मौन झर्यो
अनुहारको बाटो
टाढाबाट हात हल्लाउने तिमीसँग
के सकुँला
कुनै संवाद गर्न ?

त्यस्तै भाव व्यक्त गर्छ उनको 'आँखाको प्रेम संवाद' कविता ।

एउटा आँखो, अर्कोलाई  भन्छ,
"यति नजिक छ्यौ प्रिया
तर मैले संसार देखेँ
तिमीलाई कहिल्यै देखिनँ । 
तर थाह छ- 
तिमी रूँदा
मैले पनि सधैँ झारिरहेँ 
मौन आँसु ।
त्यो नासिक पर्वतले हामीलाई छेकेर के भो 
हाम्रो मायालाई छेक्न सकेन आखिर ।"

अस्तित्वको संवेदनशीलतामा कटिबद्ध कवि पौड्यालले आफ्ना कवितामा बिम्बचेतको उत्तम प्रयोग गरेका छन् । शब्दहरूको उत्कृष्ट चयन, भावमा निखारता, लयमा मिठास, गतिमा एकरूपता उनका कविताका सबल पक्ष हुन् ।

सियो 

नाङ्गो हुनु त सियोजस्तो । 
सर्वाङ्ग नाङ्गै छ 
तर युगौँदेखि
मानिसको लाज छोप्ने लुगा
सिइरहेछ, निःशब्द । 

जमिन

जमिन नछोड साथी 
टेक्ने ठाउँ चाहिन्छ । 
प्वाँख छन् भन्दैमा कहाँ आकाशमा बास बस्छन् र 
चराहरू ? 

हेर, बादल पनि त घर फर्कन्छ 
बर्सात बनेर । 
जमिन नछोड साथी
टेक्ने ठाउँ चाहिन्छ । 

कवि पौड्यालका प्रत्येक कविताहरू हृदयभित्रै प्रवेश गर्छन् । उनका कविताले कसैलाई गाली गर्दैन । तर उनको व्यङ्ग्यचेत बुझ्नेले भने लाजले शिरै निहुराउँछन् । यसरी सभ्य तरिकाबाट असन्तुष्टिहरू माथि प्रहार गर्नसक्नु उनको प्रशंसनीय खुबी हो ।

बुद्ध र म

जन्मँदा ऊ र म ससाना पृथ्वी थियौँ 
उसले आफ्ना वरिपरिका पर्खाल भत्काउँदै गयो 
र बुद्ध भयो 
म आफ्ना वरिपरि पर्खाल लगाउँदै गएँ 
र धूलो भएँ । 

हार-जित

सगरमाथामाथि 
अर्जुनदृष्टि दागेर अघि बढ्नेहरू
विजयी भए ।
घरि सगरमाथा 
र घरि हत्केलाका रेखा हेर्दै
मौसमसँग विलौना गर्नेहरू 
पराजित भए ।

महेश पौड्यालका कविताहरू यथार्थ समाजका आँखीझ्याल हुन् । उनका कवितामा समाजका सबैथ तहका मान्छेको उपस्थिति भेटिन्छ । सीमान्तकृतहरूको प्रतिध्वनि सुन्न सकिन्छ ।  विभिन्न पात्र र परिवेशका माध्यमबाट जीवनको अस्तित्वलाई नजिकबाट नियाल्न सक्नु टापटिपे कुरा होइन । यस अर्थमा पनि उनका कविताहरू सबल छन् ।  

पौड्यालको कविता पढ्दा दर्शनको गहिराइमा पुगेको पत्तै हुँदैन । यद्यपि, दर्शनको अधिक प्रयोगले उनका कविता सबैले नबुझ्लान् कि भन्ने पीर भने हुन्छ । त्यसैगरी, सङ्ग्रहमा  सङ्ग्रहित कविताहरू, जस्तैय 'जन्मदिन'र 'संविधान' को शीर्षक र विषयको तालमेलमा निकै गहनता भेटिन्छ जुन कुरा जो कोहीले ठम्याउन सक्ने देखिँदैन । यस अलावा, पुस्तकमा रहेका एकाध हिज्जे त्रुटि बाहेक, कुनै ठाउँमा औँला ठड्याउन सकिने ठाउँ भेटिँदैन ।  

उनको अघिल्लो कथासङ्ग्रह 'त्यसपछि फुलेन गोदावरी'मा जसरी उनले लेखेका कथाहरू छोटा र सरल छन् तर सार लामो र गहिरो छ, त्यसैगरी छन् उनका यो कविता सङ्ग्रहका कविताहरू । 'त्यसपछि फुलेन गोदावरी'मा जसरी उनले नेपाली समाजको यथार्थ धरातलको चित्रण गरेका थिए, त्यसैक्रमलाई 'शून्य प्रहरको साक्षी'मा समेत निरन्तरता दिएका छन् ।  

समग्रमा भन्नुपर्दा कवि महेश पौड्यालद्वारा लिखित 'शून्य प्रहरको साक्षी' कविता सङ्ग्रहले कविता साहित्यको इतिहासमा एउटा नूतन नजिर स्थापना गर्ने कुरामा कुनै दुई मत छैन । विवरण र वर्णनका निरस थुप्रोलाई निरुत्साहित गर्दै विचरण र विमर्शको कलेवर समाई कविता लेखनमा नयाँ धार स्थापित गरेका कवि महेश पौड्यालको यो कविता सङ्ग्रह उनको काव्यिक क्षमताको उत्कर्ष हो भन्दा अत्युक्ति हुँदैन । 

अन्तिम अपडेट: असोज २३, २०७६

डा. नवीन भट्ट

पेसाले चिकित्सक भट्ट कला साहित्यमा कलम चलाउनुहुन्छ ।

1 Comments

  • Deepak

    June 29, 2019, 11:23 a.m.

    समिक्षा सारै राम्रो लाग्यो /

  •  0 Reply

तपाईको प्रतिक्रिया