एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
नैकाप भञ्ज्याङबाट उकालो लाग्दा बाटोको छेउछाउमा लटरम्म आरु र आरुबखडा । छेउछाउमा लहलह मकै र फर्सीमुन्टा । टनेलभित्र गोलभेंडा, घिउसिमी, करेला र अरु व्यवसायिक तरकारी खेती । साँघुरो, तर पिच र ग्राभेल गरिएको बाटो । ठाउँठाउँमा कलकल पानी झर्दै गरेका सार्वजनिक धारा । जति उकालो चढ्यो, उति रमाइलो । हाम्रो गन्तव्य थियो – स्विजरल्याण्ड पार्क, नागदह र काजी कालुपाण्डेको समाधीस्थल ।
पेरिसडाँडा पुगे पनि स्विजरल्याण्ड पार्कको चाहिँ नाम मात्रै सुनेको हो । विदेशका सुन्दर भनिने ठाउँको नामबाट राखिएका काठमाण्डौका ठाउँ कस्तो होला भनेर हेर्ने रहर पहिलेदेखि नै लागेको हो । तर जाने मौका जुरेको थिएन । यसपटक योग कक्षाले अवसर जुराइदियो ।
...................
घर नजिकै विष्णुदेवी मन्दिरमा हरेक दिन बिहान योग कक्षा हुन्छ । बिहान उज्यालो नहुँदै ओछ्यानबाट उठ्ने, हातमुख धोएर मन्दिरसम्म पुग्ने, अनि स्कुलमा पिटी खेलेजस्तै एकछिन बाहिर उफ्रने र हलभित्र थरिथरीका योगासनमा बसेर शरीर तन्काउने र ध्यान गर्ने । नियमित जान थालेपछि आफैँले थाहा पाइयो कि बिहान चाँडो उठ्नु मात्र होइन, हिँडडूल र योग गर्नु स्वास्थ्यको लागि अनिवार्य रहेछ ।
गएको मंसिरताका भर्खर योग जान थाल्दा प्राकृतिक चिकित्सकसमेत रहेका योगगुरु डा. लक्ष्मीकान्त पाण्डेले चन्द्रागिरी भ्रमण जाने प्रस्ताव गर्नुभयो । प्राकृतिक भ्रमणमा प्राकृतिक भोजन मात्रै गर्ने उहाँको कुरा नौलो लाग्यो । घरमै तयार पारेको खानेकुरा लैजाने, त्यसमा पनि टुसा उमारेको गेडागुडी हुँदा अझ राम्रो भन्ने उहाँको कुरा सुन्दा जाउँजाउँ लागेको थियो । तर त्यतिबेला समय जुरेन ।
यसपटक फेरि योगगुरु पाण्डेसँगै योग कक्षाका अग्रजहरुले स्विजरल्याण्ड पार्क जाने प्रस्ताव गर्नुभयो । ‘बाटोमा खानेकुरा नकिन्ने, होटलमा नखाने, सबैले घरबाट केही न केही बनाएर लैजाने, अनि सँगै बसेर खाने’ डा. पाण्डेले थप्नुभयो, ‘बाटोमा आरु, आरुबखडा या अरु फलफूल देख्यो भने नसोधी नखाने ।’ स्कुले केटाकेटीलाई शैक्षिक भ्रमणमा लैजान लागेजसरी गुरुले सम्झाउनुभयो । हामीले आज्ञाकारी भएर मुन्टो हल्लायौं ।
..............
शनिबार बिहानै नैकाप भञ्ज्याङमा जम्मा हुँदा एकजन्ती मान्छे भयौं । केटाकेटी, किशोरकिशोरी, अधवैंशे र बुढाबुढी गरी ५० जनाभन्दा बढी । सबैको झोलामा खानेकुरा र पानी ।
बाटोको छेउछाउमा लटरम्म आरु र आरुबखडा देख्दा अघिल्लो दिन गुरुले भनेको याद आयो – नसोधी नटेप्नु । गुरुले नभनेको भए पनि नसोधी त कसले पो टिप्थ्यो र ! तर सोधेर टिप्न त पाइन्छ नि ।
‘कस्तो मजाले फलेको है आरु’ घरको आँगनमा उभिरहेका आरुधनीले सुन्नेगरी एउटाले सोधे । ‘खानुहुन्छ भने टिपेर खानुहोस्’ आरुधनीले भन्न नभ्याउँदै नजिक पुगेकाहरु आरुको बोटतिर कुदे । भएजति सबैलाई दुई दुई दानाभन्दा पनि धेरै नै पुग्यो । तर खाँदा चाल पाइयो, आरुधनीले किन सित्तैमा टिप्नु भनेछन् भन्ने कुरो । टर्रो न टर्रो, टोक्नै नसक्ने ।
‘त्यही भएर पो खाउ भनेका रहेछन् त, खान पनि नमिल्ने, बिक्दा पनि नबिक्ने’ खाइसकेपछि एउटाले भने । ‘धन्न मनकारी रहेछन्, अरुले भएको भए यसो पनि भन्दैन थिए, बोटमै कुहिएर जान्थ्यो’ अर्कोले जवाफ फर्काए ।
आरुको स्वाद खल्लो भए पनि मौसम चाहिँ रमाइलो । न घाम, न पानी । न ठाडो उकालो । अलिअलि तेर्सो, अलिअलि उकालो हुँदै माथितिर उक्लँदै गर्दा झन्झन् रमणीय दृश्य । बादल र कुहिरोले काठमाण्डौ शहर पुरै देखिएन । तर थानकोट, मच्छेगाउँ, कीर्तिपुर, सीतापाइला, स्वयम्भू, रानीबन लगायत काठमाण्डौका पश्चिम कुनामा रहेका ठाउँहरु चाहिँ नियाल्न पाइयो ।
..............
नैकाप भञ्ज्याङबाट डेढ घण्टाजति उकालो चढेपछि सल्लाघारी पुगियो । सल्लाघारीको फेदमै रहेछ, एउटा गुम्बा । गुम्बामा पुगेपछि खानेकुरा चाख्ने क्रम सुरु भयो ।
योग कक्षाका सबैभन्दा पाका र रमाइला तुलसीराम डुम्रे र प्रतिभा डुम्रेले एकभाँडो चना उसिनेर लैजानुभएको रहेछ । एक जन्ती मान्छेलाई एक–एक मुठी बाँड्दा पनि बढी भएर थप्न समेत पुग्यो । कति मीठो चना भनेपछि तुलसी बुबाले भन्नुभयो, ‘यो सामान्य उसिनेको चना होइन, बनाउनको लागि विशेष सीप चाहिन्छ ।’ तर कस्तो सीप चाहिन्छ भनेर चाहिँ सोधीखोजी गर्न भ्याइएन ।
...................
सल्लाघारी कटेपछि हाम्रो पहिलो गन्तव्य आइपुग्यो–स्विजरल्याण्ड पार्क । वरपर जंगलैजंगल, तलतिर काठमाण्डौका पश्चिम भेगमा पर्ने रमाइला बस्ती । सिरसिर हावा र कुहिरो । मध्यअसारमा पनि चिसो ।
बाटोको छेउमा ठूलो पार्क । अलि पर बिन्दबासिनी मन्दिर । साँच्चैको स्विजरल्याण्ड नदेखे पनि उताको स्विजरल्याण्ड पनि यस्तै होला भन्ने मनमा लाग्यो । पार्कको छेउमा एकजना स्थानीय भेटिए । उनले स्विजरल्याण्ड पार्कको अर्थ लगाए–केही वर्षअघि ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा स्विजरल्याण्डका ठूला मान्छे पनि मरेका रहेछन्, अनि उनीहरुकै नाममा यो पार्क बनाइएको हो । उनले थपे–पहिले त थाकलचौर भन्थे, थाकलचौरबाट स्विजरल्याण्ड भएपछि घुम्न आउने बढेका छन् ।
त्यो त पक्कै हो । विदेशी नाम राख्दा स्कूल, कलेजमा त विद्यार्थी बढ्छन् । अब स्विजरल्याण्ड भनेपछि हेर्न जाने त बढ्ने नै भए । जे होस्, जे निहुँमा भए पनि घुम्नेहरु बढ्नु भनेको त त्यो ठाउँको विकासका लागि महत्वपूर्ण टेवा पनि हो ।
पार्कको ठाउँठाउँमा बसेर खान मिल्ने टहरा रहेछन् । हामी छेउकै टहरामा बस्यौं । योगगुरु डा. पाण्डेले भन्नुभयो, ‘अब हामी यहाँ अमृत भोजन गर्छौं, अरु खानेकुरा खाँदैनौं, अमृत भोजन मात्रै खान्छौं ।’
योग जान थालेदेखि अमृत भोजनको बारेमा थाहा भएको हो । अंकुरित खानेकुरा जस्तै मुङ्गको गेडा, चना, भटमास, बोडी, मेथीको दाना लगायतका गेडागुडीमा गाजर, सलगम लगायतका खाद्य पदार्थ मिसाएर बनाइको स्वादिष्ट र स्वास्थ्यवर्द्धक खानेकुरा ।
डा. पाण्डेको परिवारसँगै योग कक्षाका अग्रजहरु शान्तराज, नवराज र मोहनजीका परिवारले मिलेर बनाएको हुनुपर्छ यो अमृत भोजन । कसले बनाएर ल्याएको हो भनेर सोध्ने कुरा भएन । ५० जनाभन्दा बढी मान्छेको आँत मात्र होइन, पेट नै भरिने गरी अमृत भोजन पुग्यो । झोलामा आआफूले बनाएर लगेको खानेकुरा त बाँकी नै छ ।
..................
अमृत भोजनको स्वाद लिएपछि फेरि हामी अगाडि बढ्यौं । कालु पाण्डेको समाधीस्थलभन्दा अल तल रहेछ इन्द्रदह र दहचोक गढी । पृथ्वीनारायण शाहले नेपाल एकीकरणको सिलसिलामा काठमाण्डौ उपत्यका विजय गर्न आफ्ना सेना तैनाथ गर्ने उदेश्यले बनाएको दहचोकगढी पुरै भग्नावशेषमा परिणत भैसकेको रहेछ ।
इन्द्रदहको हालत पनि उस्तै । छेउछाउको पर्खाल भत्किएर पुरिन लागेको । झारले छोपिन लागेको । पुननिर्माण हुँदै रहेछ, तर कहिलेसम्म इन्द्रदहको इन्द्रेणी फेरिन्छ भन्ने थाहा छैन । इन्द्रदहको पानी तत्कालीन गोर्खाली सेनाहरुले प्रयोग गर्ने गरेको इतिहास छ ।
इन्द्रदहभन्दा अलिकति माथि छ, काजी कालु पाण्डेको समाधीस्थल । त्यहाँबाट काठमाण्डौ उपत्यकासहित धादिङ, नुवाकोट र गोरखा जिल्लाका बिभिन्न ठाउँ समेत देख्न सकिन्छ । पहेंलो धातुबाट बनेको कालु पाण्डेको पूर्ण कदको शालिक ।
शालिकभन्दा अगाडि समाधीस्थल । नजिकै भ्यू टावर पनि बनिरहेको छ । त्यहीँ रहेको टेलिकमको टावरमा २० वर्षअघि पोखराबाट काठमाण्डौ आउँदै गरेको जहाज दुर्घटना हुँदा १५ जनाको ज्यान गएको थियो ।
कलंकीबाट झण्डै १० किलोमिटरको दूरीमा पर्ने यो थुम्को साँच्चै ऐतिहासिक ठाउँ रहेछ । कालु पाण्डेको समाधीस्थल, इन्द्रदह, स्विजरल्याण्ड पार्क, अनि जहाज दुर्घटनास्थल पनि । रमणीय मात्र होइन, इतिहास पनि सम्झाउने स्थल । त्यहाँ केहीबेर भुलेपछि हाम्रो टोली फेरि स्विजरल्याण्ड पार्कतिरै फर्कियो ।
.................
अघि अमृत भोजन खाएकै ठाउँमा बसेर फेरि खानेकुरा खाने सल्लाह भयो । सबैले आआफ्नो घरबाट खानेकुरा बनाएर लगेका थियौं, आफूलाई पुग्ने र अलिअलि बढी । आफूले लगेको आफैंले मात्र खाने हो कि, अरुलाई पनि बाँड्नु पर्ने हो ? आफूले मात्रै खाँदा पनि सुहाउँदैन, सबैलाई बाँड्न पनि पुग्दैन ।
झोलाबाट प्लेट झिकेर अलमल गर्दै गर्दा खानेकुराको वर्षा हुन थाल्यो । रोटी, खिर, करेला र भिन्डीको अचार, पुलाउ । सबैले एकएक चम्चा बाँड्दै जाँदा सबैको प्लेट भरियो । कला दिदी र हामीले परबरको तरकारी र पुलाउ मिलाएर लगेका थियौं । हामीले अरुलाई बाँड्न नभ्याउँदै हाम्रो प्लेटमा खानेकुराको थुप्रो लाग्यो ।
त्यही बेला योग कक्षाकी सबैभन्दा सक्रिय सीता जी ‘ल गोर्खे अचार’ भन्दै आइपुग्नुभयो । काँक्रो, गाजर, मूला, काउली, करेला, भिन्डी लगायत धेरैथरी मिसिएको अचार । खाँदा अलि फरक, तर निकै स्वादिलो ।
यसलाई किन गोर्खे अचार भनियो त ? पूर्व गोर्खा सैनिक समेत रहेका योग गुरु डा. लक्ष्मीकान्त पाण्डेले प्रष्ट्याउनुभयो – ‘लडाईंमा जाँदा सैनिकलाई पकाएर खाने फुर्सद हुँदैन । त्यसैले काँचै खान मिल्ने बन्दा, गाजर, मूला, काउली लगायतका तरकारी एकै ठाउँमा मिसाएर त्यसमा नुन, बेसार, मसला, छोप राखेर बनाउँदा अचार मात्र होइन, तरकारीको पनि काम गर्छ । गोर्खा सैनिकहरुले बनाउने अचार भएकाले यसलाई गोर्खे अचार भनिएको हो ।’
गुरुको व्याख्या मात्र होइन, ‘गोर्खे अचार’ को स्वाद पनि मीठो । त्यसमाथि ५० जनाभन्दा बढीले बनाएर ल्याएका खानेकुराको स्वाद । ‘८४ ब्यञ्जनको नाम मात्रै सुनिएको थियो, आज साँच्चै ८४ ब्यञ्जन खाइयो’ छेउमा बसेर खाँदै गर्नुभएकी कला दिदीले भन्नुभयो ।
...............
स्विजरल्याण्ड पार्कमा ‘गोर्खे अचार’ सहित ‘चौरासी ब्यञ्जन’को स्वाद चाखेपछि एकछिन नाचगान र रमाइलो भयो । त्यसपछि हाम्रो टोली बिन्दबासिनी मन्दिर हुँदै फर्कियो । थुम्कोमा मन्दिर । वरपर काफल, लालीगुराँस सहितका वनजंगल । मौसम सफा हुँदा देखिने काठमाण्डौको कंक्रिट जंगल ।
बाटोमा अंगेरी पनि भेटियो । उबेला सानोमा गोठालो जाँदा अंगेरी खाएर मुख कालै बनाएको सम्झना आयो । ‘के हो यो अंगेरी भनेको ?’ स्कुल पढ्दै गरेका मोहनजीको छोराले सोधे । ‘यो खानेकुरा हो, खाएपछि जिब्रोको कलर राम्रो देखिन्छ’ मैले ठट्टा गरें । उनले स्वाद मानेर अंगेरी खाए, अनि कालो जिब्रो अरुलाई देखाएर रमाइलो माने ।
यस्तै रमाइलो, ठट्टा र ज्ञान प्राप्त गरेर हाम्रो टोली नैकाप भञ्ज्याङ झर्यो । अब कुनै दिन यसैगरी अर्को ठाउँमा प्राकृतिक भोजनसहितको प्राकृतिक भ्रमण गर्ने बाचा सहित आआफ्नो घरतिर लाग्यौं ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।
Hari Baral
July 5, 2019, 3:41 p.m.यत्रो बर्णन पछि जाने वाटो समय समेत दिन पाएको भए कति जाती हुन्थ्यो /