राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सुरु, देशभित्रैको रोजगारीलाई जोड

 असार १५, २०७६ आइतबार १८:३२:५० | उज्यालो सहकर्मी

काठमाण्डौ – देशभित्रै रोजगारीका अवसर पहिल्याउने उदेश्यले काठमाण्डौमा दुई दिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सुरु भएको छ । 

स्वदेशमै रोजगारी सिर्जना गरी युवालाई देशको आर्थिक, सामाजिक तथा भौतिक विकासमा लगाउने उद्देश्यले सम्मेलन गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

सम्मेलनको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले विकासका लागि देशभित्रै आकर्षक रोजगारीका अवसर सृजना गर्नुपर्ने र यसमा सरकारले काम गरिरहेको बताउनुभयो । 

साथै, श्रम गर्न नहिच्किचाउने देशको नागरिक भएर पनि नेपाली युवाहरु बेरोजगार रहेको भन्दै उहाँले दुःख प्रकट गर्नुभयो । 

देशमा आकर्षक रोजगारी नभएकाले युवाहरु काम गर्न विदेशिएको भन्दै उहाँले भन्नुभयो, ‘सीप अनुसारको आकर्षक रोजगारी भएन भने युवाहरु जहाँ आकर्षण छ त्यतै जान्छन्, रोजगारका अवसरहरु आकर्षक बनाउनुपर्छ, रोजगारीका अवसरहरु हेरेर मात्रै तालिम दिइनुपर्छ ।’

यस्तै औद्योगिकरण र आधुनिकीकरणमा ध्यान नगएको भन्दै उहाँले त्यसतर्फ अग्रसर हुनुपर्नेमा पनि जोड दिनुभयो । प्रधानमन्त्री ओलीले देशका दुईतिहाई नागरिक कृषिमा अल्झिएको र त्यसले अल्परोजगार मात्र सिर्जना गरेको भन्दै आधुनिक ढाँचाको कृषि पद्धति अपनाउन आग्रह गर्नुभयो । 

‘श्रमका अन्य अवसरहरु सिर्जना नगर्ने पुरानो ढाँचाको कृषिले अल्परोजगार मात्र सिर्जना गरेको छ, यसलाई पूर्णता दिन कृषिमा आधुनिकीकरण गर्नु जरुरी छ’, उहाँले भन्नुभयो, ‘हामी थोरै उत्पादन गर्छौं बिक्री भएन भनेर बाटोमा लगेर फालिदिन्छौँ, धेरै उत्पादन गरेर विदेश निर्यात गर्नसक्ने गरी उत्पादन गरौं ।’

यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारीका अवसर सृजनाका लागि सरकारसँग समन्वय गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो । ‘आगामी आर्थिक वर्षको बजेटले थप पाँच लाख रोजगारी सिर्जना गर्नेछ, त्यसको लागि निजी क्षेत्रले पनि यो लक्ष्यमा सँगसँगै अगाडि बढ्नुपर्नेछ,’ उहाँले भन्नुभयो ।

सम्मेलनमा श्रम तथा रोजगार विषयका विज्ञहरुको पनि उपस्थिति छ । विज्ञ डिल्लीराज खनालले आर्थिक तथा राजनीतिक घटबढले रोजगारीलाई के असर पार्छ त्यसको अध्ययन गर्न सुझाव दिनुभयो । यस्तै उहाँले धेरै रोजगारी सिर्जना गर्ने कम्पनीलाई केन्द्रित गरेर दीर्घकालीन रुपमा कार्ययोजना बनाएर अगाडि बढ्न सरकारसँग आग्रह गर्नुभयो ।

यस्तै उद्याेग परिस‌ंघ नेपालका पूर्वअध्यक्ष तथा उद्योगी हरिभक्त शर्माले देशको उत्पादनको अवस्थाप्रति दुःख प्रकट गर्नुभयो । आफू पनि उद्योग व्यवसायी भएको र आफ्नो कम्पनीले गर्ने उत्पादन बिक्री नहुने तर त्यही उत्पादन विदेशबाट नेपाल आयात गरिएको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयभो, ‘म त्यस्तो देशको उद्यमी हुँ, जो आफ्नै देशमा खुलेको उद्योगले सामान उत्पादन गर्न पाउँदैन, तर त्यही सामान विदेशबाट आयात गर्छ ।’

आन्तरिक श्रममा युवाको आकर्षण बढाउने, श्रम सम्बन्ध सुदृढ बनाउने, श्रम र रोजगारीका नवीनतम र सिर्जनात्मक पाटा उजागार गरी यस क्षेत्रको विकासबाटै  गतिशील अर्थतन्त्र निर्माण गर्दै मुलुकको समृद्धिमा योगदान पुर्‍याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । 

सोमबारसम्म चल्ने सम्मेलनमा श्रम तथा रोजगारका क्षेत्रमा सरकारले चाल्नुपर्ने कदम, निर्माण गर्नुपर्ने ऐन, कानून, नीतिलगायत विषयमा छलफल हुनेछ । श्रम, रोजगार क्षेत्रका चुनौति, रोजगारी तथा सीपको सम्भाव्य क्षेत्र पहिचान गर्ने विषयमा पनि छलफल हुनेछ ।

सम्मेलनको पहिलो दिन आज आइतबार श्रम तथा रोजगारसम्बन्धी नीति पुनरावलोकनका पक्ष, श्रम आप्रवासन तथा विदेशबाट फर्किएका युवाको पुनः एकीकरण र कामको भविष्यका सम्बन्धमा सम्बन्धित क्षेत्रका जानकारले कार्यपत्र प्रस्तुत र सम्बन्धित विज्ञले टिप्पणी गरेका छन् ।

भोलि सोमबार नेपाली श्रम बजार र आय स्थितिको सिंहावलोकन, कार्य संस्कृति र श्रम मर्यादा, नेपालमा युवा उद्यमशीलता, रोजगारी र सूचना प्रविधि, श्रम उत्पादनशीलता, राष्ट्रिय अर्थतन्त्र र रोजगारीका लागि सीप विकास विषयमा सामूहिक छलफल हुनेछ ।

सम्मेलनबाट प्राप्त सुझावका आधारमा श्रम तथा रोजगार क्षेत्रमा थप रणनीतिक कार्यक्रम सञ्चालन गर्न सघाउ पुग्ने सरकारको विश्वास छ । सम्मेलनले आन्तरिक रोजगारी सिर्जनाका उपाय पहिचान गरी नीतिगत सुधार तथा कार्यान्वयनको पक्ष सुदृढीकरणका लागि साझा धारणा तयार गर्नेछ । 

सम्मेलनमा सरकारी निकाय, निजी क्षेत्र, विभिन्न ट्रेड युनियन, श्रम तथा रोजगार क्षेत्रका विज्ञ, विकासका साझेदार र गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • Nischal budaha magar

    June 30, 2019, 7:01 p.m.

    यो सबै शब्दमा मात्र सीमित छ /मिडियाले काम नपाएर खबर बनाएको मात्र हो , किनकि मैले यस्तै बेरोजगारी काम गर्नको लागि मलेसिया पछि नेपालमा २ बर्ष संघर्ष गरें , कतै पाइनँ काम /फलस्वरूप आज फेरि कामको सिलसिलामा भौतारिंदै दुबई आउनुपरेको छ / बोलेर भन्दा पनि गरेर देखाउनुस /

  •  0 Reply

तपाईको प्रतिक्रिया