कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो, पानीको सतह घट्दै

 असार २९, २०७६ आइतबार ९:८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । सप्तकोशी नदीमा पानीको वहाब १० वर्षपछिकै सबैभन्दा धेरै प्रति सेकेन्ड ३ लाख ७१ हजार १ सय १० क्यूसेक पुगेपछि सबै ढोका खोलिएको हो । तर ढोका पुरै भने कुनै पनि खोलिएको छैन । 

एउटा ढोका २२ फिटसम्म खोल्न मिले पनि एक फिट देखि १५ फिटसम्म मात्र खोल्ने गरेको पाइएको छ । पुलको सबै ढोकाबाट ९ लाख क्यूसेक पानी जाने क्षमता छ । तर सबै ढोका खोलिए पनि पूर्ण रुपमा नखोल्दा कोशी ब्यारेजको उत्तरी क्षेत्रमा पानी सञ्चय भएर बस्दा सुनसरी, सप्तरी र उदयपुरलाई क्षती गर्दै आएको स्थानीयले गुनासो गरेका छन् । अहिले पानी पर्न कम भएसँगै कोशीमा पानीको बहाव घट्दै गएको छ ।

यस्तै रौतहटको दशगजामा रहेको तटबन्धको ४ मध्य दुई वटा ढोका खोलेपछि अहिले सदरमुकाम गौर सहितका ठाउँमा पानीको निकास भैरहेको छ । अहिलेसम्म झण्डै ८० प्रतिशत पानी निकास भएपछि स्थानीयबासिन्दा सरसफाइमा जुटेका छन् ।

लालबकैया र बाग्मती नदीलाई जोडेर भारतीय पक्षले बनाएको बाँधले सदरमुकाम गौरसहितका क्षेत्र डुबानमा परेको थियो । तर अहिले पानी पर्न पनि कम भएको तथा दुई वटा ढोका पनि खोलिएकाले पानीको सतह कम हुँदै गएको छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया