अहिलेको वर्षा ३० वर्ष यताकै ठूलो

 असार ३०, २०७६ सोमबार १४:४२:२२ | विनाेद पराजुली
unn.prixa.net

असार २६ को साँझदेखि विशेष गरेर मध्य र पूर्वी क्षेत्रमा मौसम निकै सकृय बन्यो । सकृय बनेको मौसमका कारण निरन्तर परेको वर्षाले भोलिपल्ट शुक्रबार बिहानै मध्य र पूर्वी क्षेत्रका विभिन्न भूभागमा बाढी पहिरो तथा डुबानको अवस्था निम्तियो । 

बाढी पहिरो तथा डुबानले जन धनको क्षति पुर्‍यायाे । त्यो दिनमा २४ घण्टाको अवधिमा झण्डै ४ सय मिलिमिटरभन्दा बढी वर्षा भएको विभिन्न जलमापन केन्द्रहरुले देखाएका छन् । यो भनेको अत्यन्तै भारी वर्षा हो । अनि यो पनि धेरै ठूलो क्षेत्रमा परेको छ । खासगरी प्रदेश १, २ र ३ को धेरैजसो भूभागमा बाढी गएको छ । चुरे र तराईका क्षेत्रमा ठूलो डुबान हुन पुग्यो । सँगै काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँ पनि डुबानमा पर्‍याे । 

विशेष गरेर बागमती नदी जलाधारको तराईको क्षेत्र, कमला नदी जलाधार अन्तर्गत तराईको क्षेत्र र तराईबाट बहने अन्य लालबकैया, रातु, खाडो, गागन, त्रियुगा लगायतका खोलानालाहरुमा बहाब खतरा तहभन्दा माथि पुग्यो । बहाब अझै कायमै रहने अनुमान छ । 

खतराको अवस्था देशैभर छ । खासगरी नेपालको तराईको क्षेत्रमा मनसुनी न्यूनचापीय रेखा नजिक रहेकाले यस किसिमको बिपत आइपरेको हो । अहिले पनि मौसमी न्यूनचापीय रेखा नेपालको तराई क्षेत्रमा खासगरी मध्य र पूर्वी क्षेत्रमा स्थिर भएर बसेको छ । यसले भारी वर्षा र बाढीको अवस्था अझै छ भनेर देखाएको छ ।  

३० वर्ष यताकै ठूलो वर्षा

अहिले आएको वर्षा तुलनात्मक रुपमा यति ठूलो क्षेत्रफल ओगट्ने गरी आएको मौसमी प्रणाली ३० वर्ष यताकै सम्भवत पहिलो पटक हो । यसअघि २०५० सालमा नेपालको मध्य क्षेत्रमा यस्तै किसिमको वर्षा भएको थियो । विपतको घटना भएको थियो । खासगरी बागमती, कमला र पूर्व राप्ती जलाधार क्षेत्रमा मात्रै २ दिनभित्रमा बाढी, पहिराे र डुबानमा परेर झण्डै १३ सय जनाको त्योबेला मृत्यु भएको थियो । 

अहिलेको मनसुनी प्रणाली त्यो भन्दा पनि धेरै दिनसम्म रहेको र ठूलो क्षेत्रफल ओगटेकाले त्योबेलाको भन्दा पनि ठूलो रहेको भन्ने प्रारम्भिक अनुमान छ । यो भनेको २५/३० वर्षको सेरोफेरोमा एक पटक आउन सक्ने ठूलो विपतको अवस्था भने हो ।  

अहिले आएको वर्षा तुलनात्मक रुपमा यति ठूलो क्षेत्रफल ओगट्ने गरी आएको मौसमी प्रणाली ३० वर्ष यताकै सम्भवत पहिलो पटक हो ।

हामीले क्षतिलाई दुई किसिमले हेर्ने गर्छौँ । मानवीय क्षति र भौतिक क्षति । अहिले भौतिक क्षति ठूलो रुपमा भएको हुन सक्छ । किनकी धेरै भौतिक संरचना यो बीचमा निर्माण भएका छन् । बाढीले धेरै कुराहरु अहिले बगाएको छ । भौतिक क्षति पहिलाभन्दा अहिले बढेको छ ।

तर मानवीय क्षति भने उल्लेख्य रुपमा घटेको हो । २०५० सालमा १३ सय दुई दिनभित्र ज्यान गएको थियो । तर अहिलेको अवस्था त्यस्तो छैन । 

प्रविधिको प्रयोगले क्षति कम

मानवीय क्षति कम गर्ने सवालमा भने अहिले प्रयोग भइरहेको प्रविधि नै मुख्य कारण हो । खासगरी दुई किसिमबाट प्रविधिको प्रयोग हामीले गरिरहेका छौँ । पूर्व अनुमान र पूर्व सूचना प्रणाालीमा रहेर हामीले काम गरिरहेका छौँ ।

अहिले जल तथा मौसम विज्ञान विभाग आफैँ पनि प्रविधियुक्त बनेको छ । २०५० सालमा हामी तीन दिनको पूर्वानुमान गर्न सक्ने अवस्थामा थिएनौँ । मुश्किलले एक दिनको अनुमान हुन्थ्यो । तर त्यो पनि पूर्व सूचनाको रुपमा जनस्तरसम्म पुर्‍याउने कुनै किसिमको संयन्त्र थिएन ।

सञ्चारमाध्यम पनि त्यो बेला प्रभावकारी थिएनन् । सञ्चारमाध्यमको प्रयोग गर्न सक्ने नागरिक पनि थिएनन् । टेलिफोन, मोबाइल प्रयोग त लगभग त्योबेला शून्य जस्तै थियो ।  त्यसैले त्योभन्दा ठूलो वर्षा र त्यसले विपत् निम्त्याउँदा पनि मानवीय क्षति कम गर्न सक्यौँ ।  

पूर्वानुमान

तत्काल पूर्वानुमानका निमित्त हामीले मौसमी मोडलहरु संचानमा ल्याएका छौँ । ती मोडलहरुले तीन दिनको मौसमी सूचना दिन्छ । यो भनेको मान्छेले गर्न नसक्ने काम हो । 

नेपालको कुन क्षेत्रमा कति मिलिमिटर वर्षा हुन सक्छ भनेर मान्छेले भन्न सक्ने अवस्था हुँदैन । पानी पर्छ वा पर्दैन भनेर मान्छेले अनुमान लगाउला तर ठ्याक्कै यति पानी पर्छ भनेर प्रविधिबाट मात्रै अनुमान गर्न सम्भव छ । 

बाढी पूर्वानुमानका लागि पनि त्यही मौसम पूर्वानुमान मुख्य आधार हो । भोलि यति मिलिमिटर वर्षा हुँदैछ भनेर मौसम पूर्वानुमान मोडल अर्थात कम्युटर मोडलहरुले दिएको रिजल्ट छ त्यही रिजल्ट हेरेर नै हामीले बाढीको पूर्वानुमान गर्ने हो ।

जलाधारको क्षेत्रमा भोलि पर्न सक्ने वर्षाको आधारमा आज नै मोडल रन गरेर बाढीको आंकलन गर्ने गरिन्छ । जलविज्ञानका मोडलबाट कम्युटर सफ्टवेयर टुलबाट पूर्वानुमान गर्न सहज बनाएको छ । 

पूर्वसूचना 

पूर्वानुमान हुँदैमा त्यो कुरा सबैकोमा पुर्याउन सकिँदैन । सूचना सबैकोमा नपुगे त्यो पूर्वानुमानको अर्थ नै रहँदैन । त्यसैले हामीले पूर्वानुमान गरेका सूचना सबैकोमा पुर्‍याउन हामीले नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा काम गरेका छौँ ।

हामीले गरेको पूर्वानुमान ११५५ नम्बरबाट संभावित जोखिमयुक्त क्षेत्रमा बस्ने हरेकका मोबाइलामा सतर्क रहन र सुरक्षित ठाउँमा बस्न भन्दै सचेतनामूलक म्यासेज पठाउने गरेका छाैँ ।

हामीले सम्बन्धित जोखिमयुक्त क्षेत्रमा बस्ने वा भनौं प्रभावित हुन सक्ने व्यक्ति सबैलाई एकै पटक आफ्नो हातमा रहेको मोबाइलमा पूर्व सूचना पुग्ने व्यवस्था मिलाएका छौँ । 

हामीले गरेको पूर्वानुमान ११५५ नम्बरबाट संभावित जोखिमयुक्त क्षेत्रमा बस्ने हरेकका मोबाइलामा सतर्क रहन र सुरक्षित ठाउँमा बस्न भन्दै सचेतनामूलक म्यासेज जाने गरेको छ । त्यस्तै टोलफ्रि नम्बर ११५५ मा टेलिफोन गरेर पनि जो कोहीले आफ्नो नजिक रहेको नदी वा खोलाको अवस्थाको बारेमा सूचना लिन सक्ने अवस्था छ । 

यो सबै कुरा प्रविधिकै देन हो । प्रविधिको यो अवस्था हुँदैन थियो भने प्रभावकारी रुपमा बाढीको पूर्व सूचना प्रणाली संचालन गर्न सक्ने अवस्था हुँदैन थियो । यस्तै सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र महाशाखाकै वेबसाइटमा हामीले आवश्यक सबै सूचनाहरु संम्प्रेषण गर्ने पनि गरिएको छ । खोलामा खतराको तह पार गर्नेबित्तिकै साइरन बज्ने व्यवस्था हामीले वेभसाइटमा नै राखेका छौँ । 

नेपालमा बढी प्रचलित फेसबुक र ट्वीटरमार्फत हामीले हरेक सूचना निरन्तर अपडेट गरिरहेका छौँ । यस्ता सूचना सबै सरोकारवाला र नागरिकहरुले पाइरहनुभएको छ । यस किसिमबाट प्रविधिको प्रयोगले पूर्व सूचना दिन र सचेत बनाउन सहज बनाएको छ । 

नदीको अलर्ट कसरी ?

हामीलाई सबैभन्दा पहिलो चाहिने भनेको तत्कालको समयमा के भइरहेको छ भन्ने तथ्यांक हो । त्यो डाटा हामीले दूरदराजदेखि संकलन गर्नुपर्छ । अब तमोर नदीमा अहिले कति बहाब छ भन्ने सूचना तत्काल आए मात्रै हामीले आवश्यक निर्णय गर्न सक्छौ कि अब यो बाढी तल्लो तटीय क्षेत्रका लागि कति खतरनाक बाढी हो भनेर ।

त्यसको लागि हामीले नेपालभरका करिब १ सय ओटा नदीमा स्वचालित उपकरण राखेका छौँ । त्यो उपकरणमा एउटा सेन्सर हुन्छ । त्यो सेन्सरले साउण्ड वेभ फाल्छ । त्यसले नदीको सतहको हरेक मिनेटको तथ्यांक मापन गर्न सक्छ ।

नेपालभरका करिब १ सय ओटा नदीमा स्वचालित उपकरण राखेका छौँ । त्यसले नदीको सतहको हरेक मिनेटको तथ्यांक मापन गर्न सक्छ ।

मापन गरेको तथ्यांक उसँगै रहेको डाटा सेन्टरमा डाटा लकरमा लक गर्न सक्छ । त्यसरी लक भएको डाटा कम्युनिकेशन मोडममार्फत हामीकहाँ आइपुग्छ । त्यो मोडममा पनि नेपाल टेलिकम र एनसेलको सीम प्रयोग गरिएको हुन्छ ।

यदि मोबाइल नलाग्ने ठाउँ छ भने त्यहाँ भू–उपग्रह प्रविधिको प्रयोग गरिएको छ । यसरी दूरदराजका तथ्याँकहरु नियमित हाम्रो सर्भरमा आइरहन्छ । र त्यो हाम्रो वेभसाइटमा डिस्प्ले भइरहेको हुन्छ । ती मापन केन्द्रहरुबाट डाटा लिनका लागि पनि हामीले प्रविधि प्रयोग गरिरहेका हौँ । 

यो प्रविधिको प्रयोग सन् २०१० मा परीक्षण स्वरुप हामीले पहिलो पटक ५ वटा नदी खोलामा राखेका थियौँ । अहिले त्यसलाई बढाउँदै १ सय ओटामा पुगेको छ । प्रमुख जोखिम ठानिएका खोला नदीहरुमा हामीले यो प्रविधि राखेका छौँ । अन्य खोलाहरुमा पनि हामीले क्रमशः यो प्रविधि राख्ने कामलाई तिब्रता दिइरहेका छौँ ।

हुन त अहिले तराईमा मात्रै नभइ अब पहाडी क्षेत्रका नदी खोलामा पनि यस्तो प्रविधि राख्नु पर्ने देखिएको छ । हिम नदीहरु फुट्न सक्ने सम्भावना देखिएको छ । पहाड खस्केर नदी थुनिन सक्ने अवस्था छ । हामीले बिस्तारै तराईबाट पहाडी क्षेत्रमा भएका नदी खोलामा स्वचालित प्रविधिको विस्तार गर्दै आइरहेका पनि छौँ ।

काठमाण्डौ उपत्यकामा विभिन्न चार ठाउँमा यस्तो बाढी पूर्वानुमान प्रविधिको जडान गरिएको छ । 

आउँदो वर्ष यसलाई बढाएर १ सय ५० ठाउँमा पुर्याउने योजनामा छौँ । निकट भविष्यमा नै देशभरका ५ सय नदी खोलामा यस्ता प्रविधि जडान गर्नुपर्ने आंकलन गर्दै सरकारसँग आवश्यक बजेट पनि हामीले माग गरेका छौँ ।  

काठमाण्डौका चार खोलामा प्रविधि जडान

काठमाण्डौ उपत्यकाको कुरा गर्दा विभिन्न चार ठाउँमा यस्तो बाढी पूर्वानुमान प्रविधिको जडान गरिएको छ । बागमती नदीको मुख्य सुन्दरीजल, गौरीघाट र खोकनामा गरी तीन ठाउँमा यस्तो प्रविधि जडान गरिएको छ । त्यस्तै नख्खु खोलामा नख्खु बुङ्मतीमा यो प्रविधि जडान गरिएको छ । यसलाई अझै विस्तार गर्दै लैजानु पर्ने देखिएको छ । 

बल्खु खोलाले यो पटक डुबानको समस्या ल्यायो । हामीले मध्य नेपालको क्षेत्रमा भारी वर्षा हुँदैछ, काठमाण्डौ र यसको आसपासमा पनि वर्षा हुन्छ र यसबाट प्रभाव पर्छ भनेर पूर्वानुमान गरेको थियौँ । स–साना सबै खोलामा बाढी जान्छ पनि भनेका थियौँ । तर स्वचालित रुपमा नाप्ने प्रविधि बल्खु खोलामा भने थिएन ।

बल्खु खोलामा त्यति ठूला बाढी आउला भन्ने त्यो खालको आंकलन नै थिएन । तर पनि हामीले एक किसिमको सूचना भने दिएका थियौँ । सतर्क रहाैँ भनेर भनेका थियौँ । तर निश्चित ठाउँ किटेर भन्न भने हामीले सकेनौँ । यो–यो क्षेत्र डुबानमा पर्छ भनेर भन्न सकेनौँ । अझै पनि हामीले आफ्नो सूचना प्रविधिलाई विस्तार गर्दै सुधार गर्दै लैजानु पर्ने अवस्था छ ।  

तर भइराखेका होचा स्थानका घरहरु, त्यो ठाउँमा बनेका ढलका कारण पनि डुबान हुने अवस्था रहन सक्छ ।  अब आगामी वर्षमा यसले के संकेत गर्यो भने काठमाण्डौ उपत्यकाको बल्खु खोला, धोवी खोला, हनुमन्ते खोला, शालिनदी लगायतका खोलामा यस खालका प्रविधि अनिवार्य जडान गर्नु पर्छ । 

सूचना कसरी पुग्छ कतिको प्रभावकारी छ ?

हामीले गरेको पूर्वानुमानको पूर्व सूचनाले क्षति कम गर्न निकै प्रभावकारी बनेको छ ।  यसलाई अझ प्रभावकारी बनाउन खोजिरहेका छौँ । ताकी सबैसँग पुगोस् ।  
नेपालमा यो प्रविधि नयाँ छ । नयाँ भएकाले यो बारेमा सबैलाई अझै पनि थाहा छैन ।

नदीको तटीय क्षेत्रमा बस्नेहरु अझै पनि प्रविधि मैत्री नभइसकेकाले हातमै म्यासेज आइपुग्दाखेरी पनि उहाँहरु अन्यौलमा रहने अवस्था छ । सूचना कसरी पढ्ने अनि सुरक्षित ठाउँमा जाने भनेको कहा जाने भनेको हो भन्ने कन्फ्युजनहरु छन् । अहिले फोनमा म्यासेज जानेबित्तिकै यो के भन्न खोज्नु भएको हो बुझाउनुस् भनेर हामीलाई सम्बन्धित व्यक्तिहरुले फोन गर्ने पनि गर्नु भएको छ । 

कोशी, गण्डकी र कर्णाली जस्ता सबैभन्दा ठूला नदीहरु ठूला विपत्का कारक हुन् । 

हामीले यो बारेमा अझै बुझाउन बाँकी छ । यसरी प्रवाह भएका सूचना हाम्रै लागि हो भन्ने भयो भने हाम्रै जीउधन जोगिन्छ भनेर बुझाउनु जरुरी छ । भर्खरै प्रयोग भएको प्रविधिमा अभ्यस्त हुन केही समय त लाग्छ नै । 

कुन कुन नदी बढी खतरनाक ?

देशभरका अलि बढी खतरनाक नदी भनेका ठूला नदी नै हुन् । तिनै ठूला नदी ठूला विपतका कारक हुन् । कोशी, गण्डकी र कर्णाली जस्ता सबैभन्दा ठूला नदीहरु ठूला विपत्का कारक हुन् । 

ति नदीमा बहाबले खतराभन्दा धेरै माथिको तह पार गर्यो भने थेगी नसक्नुको विपत् आउन सक्छ । त्यो अझै भएको छैन । अहिलेको विपत् भनेको मझौला विपत् हो । यो पटक कमला र बागमती नदी खतराभन्दा माथि पुग्यो । 

तर कोशीले बाँध फुटाएको अवस्था, कर्णालीले समग्र तराइ डुवाएको अवस्था, गण्डकीले चितवन र नवलपरासी अनि सुस्ता डुबाएको अवस्था अहिले होइन । यो विकराल अवस्था त हो तर ठूलो नदीको बाढी अझै पसेको चाहिँ होइन । 

सयौँ वर्षको इतिहास केलाएर हेर्ने हो भने यो भन्दा अझै ठूलो विपत् नेपालमा आउँदैन भन्न सक्ने अवस्था छैन । प्राकृतिक विपत्तिका कारण क्षति हुने, डुबान हुने बाढी आउने त छँदैछ । तर अर्काे भनेको जथाभावि भौतिक संरचनाका कारण पनि क्षति भएको छ ।

सूचना जारी गरिसकेपछि वा यो नदी खतरा छ भनेर पूर्वसूचना दिइसकेपछि सम्बन्धी नदी तटमा रहेका मानिसहरुको स्थानान्तरणको काम हुनु जरुरी छ । 

नदीको बहाब जुन प्रकारले हुनु पर्ने थियो त्यो छेकिएर डुबान र बाढीको खतरा भएको हो । यो भनेको मानव सिर्जित डुबान । अर्काेतर्फ सीमा क्षेत्रमा भारतले बनाएका तटबन्धले पनि तराई डुबानमा पारेको छ । बढ्दो जनसँख्या पनि यसको कारक हो ।  

प्रतिकार्यका लागि पूर्व तयारी आवश्यक

हरेक वर्ष विपत्ती आउँछ । तर यसको न्यूनिकरणको काम जुन रुपले हुनु पर्ने हो, त्यो हुन सकेको छैन । तर पनि न्यूनिकरणको प्रयासहरु भने नभएको होइन । सरकारले यसका लागि दुई ओटा कुरा समानान्तर रुपमा अघि बढाएको छ । एउटा नदी तटीय क्षेत्रमा तटबन्ध निर्माण गर्ने र अर्को पूर्वानुमानको पूर्व सूचना समयमा नै पुर्याउने । 

तटबन्धले नदी खोलाका बाढी बस्तीमा पस्न रोक्न सहयोग गर्छ । तर तटबन्ध नै सबै समाधान होइन । तटबन्ध त भत्कन पनि सक्छ । त्यसैले न्यूनिकरणलाई अझ कम गर्न पूर्व सूचना प्रणाली नै प्रभावकारी बनाउनु जरुरी रहन्छ । केही दिन अगावै पूर्वसूचना दिन सके सम्बन्धित प्रभावित क्षेत्रका व्यक्तिहरु सतर्क भएर बस्न सक्नुुहुन्छ । वा सुरक्षित ठाउँमा जानसक्नुहुन्छ । 

हामीले अहिले गरिरहेको काम पनि अझै अपुग छ । यसलाई अझ बढी प्रभावकारी बनाउँदै लैजानु पर्ने अवस्था छ । सूचना जारी गरिसकेपछि वा यो नदी खतरा छ भनेर पूर्वसूचना दिइसकेपछि सम्बन्धी नदी तटमा रहेका मानिसहरुको स्थानान्तरणको काम हुनु जरुरी छ । 

सूचना प्रवाह र प्रतिकार्य तयारी सँगसँगै हुन सक्यो भने मात्रै यस्ता क्षतिहरु न्यूनिकरण गर्दै लैजान सकिन्छ । जलतथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेर पूर्व सूचना पुर्याउने हो । प्रतिकार्य गृहमन्त्रालयको भूमिका हो । हामीले पूर्वानुमान गरेर पूर्वसूचना दिने काम गरिरहेका छौँ ।

हाम्रा पूर्व सूचना अहिले पनि हामीले तीनै तहका सरकारलाई दिने गरेका छौँ । हामीले ती सबै निकायहरुलाई सूचना दिएर आवश्यक सतर्कता तथा तयारीका लागि भन्ने गरिरहेका छौँ । प्रतिकार्यको पूर्व तयारी उहाँहरुले गर्नुपर्छ । 

(बाढी पूर्वानुमान शाखाका वरिष्ठ जलविद् पराजुलीसँग नवराज फुयाँलले गरेकाे कुराकानीमा आधारित)
 

अन्तिम अपडेट: भदौ ३, २०७६

विनाेद पराजुली

पराजुली बाढी पूर्वानुमान शाखाका वरिष्ठ जलविद् हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया