बिरामीको मृत्युपछि नोबेल अस्पतालमा तनाव: आफन्त भन्छन् डाक्टरकाे लापर्वाही, अस्पताल भन्छ हृदयाघात

 साउन ५, २०७६ आइतबार १३:३:३ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - उपचारको क्रममा बिरामीको ज्यान गएपछि विराटनगरमा रहेको नोबेल अस्पतालमा तनाव सिर्जना भएको छ ।

गएकाे बिहीबार उपचारका लागि अस्पताल भर्ना भएका सुनसरीको दुहबी नगरपालिका-६ का अनिल कुमार साहको  ज्यान गएको थियो । खुट्टामा सामान्य चोट लागेपछि अघिल्लो बिहीबार नाेबेल अस्पतालमा गएका अनिललाई अस्पतालले सामान्य ब्याण्डेज गरेर औषधी दिएकाे र एक हप्ता पछि आउन भनेकाे आफन्तकाे भनाइ छ ।

त्यतिले खुट्टा ठिक नभएपछि याे बिहीबार फेरि अस्पतालमा आएका उनकाे डाक्टरहरुकाे सुझाव अनुसार शुक्रबार अप्रेसन भयाे । अप्रेसन गर्नुभन्दा अगाडि सामान्य रहेका अनिल अप्रेसनपछि बेहोस भएको मृतकका भाई प्रदिप साहले बताउनुभयाे ।

शुक्रबार अप्रेसन गरिएका अनिललाई आइतबार बिहान मृत घोषित गरिएको थियो । अनिलको आइतबार बिहान ६ बजे नै मृत्यु भएको पुष्टि गरेको भए पनि आफन्तलाई ९ बजेपछि मात्र जानकारी दिइएकाले चिकित्सकको लापर्वाही भएको मृतकका भाइ प्रदिपको आरोप छ ।

अस्पतालका डाक्टरको लापर्वाहीका कारण अनिलकाे ज्यान गएको बताउँदै अप्रेसन गरेर ल्याएपछि अनिलको आँखामा पट्टी बाँधिएको र हेर्न खोज्दा देखाउन समेत नमानेकाे मृतकका परिवारको आरोप छ ।

अनिलकाे मृत्यु भएपछि अहिले नोबेल अस्पतालमा बिरामीका आफन्तले घेराउ गरेर प्रदर्शन गरिरहेका छन् । डाक्टरलाई कारबाहीको माग गर्दै उनीहरुले अस्पतालाई मान्छे मार्ने लाइसेन्स नभएको भन्दै नाराबाजी समेत गरेका छन् । अस्पतालमा सुरक्षाका लागि व्यापक प्रहरी परिचालन गरिएको छ।

अस्पताल प्रशासनले भने अनिलको हृदयाघात ज्यान गएको बताएको छ । अस्पतालका प्रशासन प्रमुख नारायण दाहालले बिरामीको हृदयघातका कारण मृत्यु भएको बताउँदै समस्या समाधानको प्रयास जारी रहेको बताउनुभयाे । बिरामीको मृत्युको बारेमा अस्पताल प्रशासनले वार्ताको पहल गरिरहेको भए पनि मृतकका आफन्त भने कारबाही नहुँदासम्म आन्दोलन नरोक्ने पक्षमा देखिएका छन् । 

अन्तिम अपडेट: बैशाख १, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया