घाटबाट फर्काइएकी नर्मताको स्वास्थ्यमा सुधार, श्रीमान र छिमेकी भन्छन् : चमत्कार भयो

 साउन ९, २०७६ बिहिबार १७:३१:५ | देव पचभैया
unn.prixa.net

पाल्पा – अन्तिम संस्कारका लागि घाटमा  लगिएकी एक महिलाको फेरि उपचार सुरु भएको छ ।

घाटबाट फर्काएर अस्पताल लगिएकी रैनादेवी छहरा गाउँपालिका–१, पाल्पाकी ३६ वर्षीया नर्मदा (नर्मता) ज्ञवालीको बुधबारदेखि लुम्बिनी मेडिकल कलेज, प्रभासमा मिर्गौलाको डायलाइसिस सुरु भएको छ ।

लुम्बिनी मेडिकल कलेजका डाक्टर सर्वेशराज शर्मा

अस्पतालका डाक्टर सर्वेशराज शर्माका अनुसार बिरामीको स्वास्थ्यमा सुधार हुँदै आएको छ । तन्नामा पोको पारेर ल्याइएको बिरामीको अवस्था सुरुमा निकै जटिल भए पनि बिस्तारै औषधिले काम गर्न थालेको डाक्टर शर्माले जानकारी दिनुभयो । 

‘अस्पताल ल्याउँदा प्रेसर र स्वाशप्रश्वास निकै कम थियो’, डाक्टर शर्माले भन्नुभयो, ‘भेन्टिलेटर र आईसीयूमा राखेर औषधि चलाएपछि आशा जागेको हो ।’ 

झाडापखालाबाट सिकिस्त भएपछि तानसेनमा रहेको युनाइटेड मिशन अस्पतालमा १२ दिनसम्म नर्मताको उपचार भएको थियो । धेरै दिनसम्म उपचार गर्दा पनि निको हुने छाँटकाँट नदेखिएको भन्दै परिवार आत्तिए ।  

रोगले झनझन च्याप्दै गएपछि आफन्तले माया मारेरै सोमबार अस्पतालबाट बिरामीलाई डिस्चार्ज गरी घर फर्काउने भन्दै रिडीघाट पुर्‍याएर कालीगण्डकीमा अर्धजल चढाएका थिए । 

‘खुट्टाको औँला नदीमा डुबाइयो, आशै मारेको मान्छेमा आलौकिक शक्ति आयो’, रिडीघाट पुगेका छिमेकी कृष्णप्रसाद पन्थले भन्नुभयो, ‘त्यसपछि रिडीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याएका हौँ  ।’  

छिमेकी कृष्णप्रसाद पन्थ

भेला भएका गाँउले र नर्मताका श्रीमानले समेत बिरामी निको नहुने भन्दै घर लैजाने भन्दै कर गरे । तर स्वास्थ्य केन्द्रले पनि तत्काल अस्पताल लगेमा बिरामी सन्चो हुने सुझाव दियो ।  स्वास्थ्य केन्द्रका डाक्टरले धेरै पटक हात जोडेर अनुरोध गरेपछि अस्पताल लगिएको पन्थको भनाइ छ । 

‘दिनदिनै उनको अवस्था नाजुक हुँदै गएको कुरा थाहा थियो, अस्पतालमा रहेकी नर्मतालाई रिडी ल्याइँदै गरेको खबर  गाउँमा आयो । उनी बितिन् भन्ने खबर भएपछि गाउँलेहरु मलामीकै रुपमा दाउरा लिएरै घाटमा पुगेका हुन्’, कृष्ण पन्थले जानकारी दिनुभयो । 

आशै मारेर घर फर्काएका हौँ : नर्मताका श्रीमान 

१२ दिनसम्म उपचार गर्दा पनि निको नभएपछि सबैको सल्लाहमा श्रीमतीलाई डिस्चार्ज गरिएको नर्मताका श्रीमान सूर्यचन्द्र ज्ञवालीले बताउनुभयो ।

‘बिरामीलाई यहाँ गर्न सकिने सबै उपचार गरियो, अब डायलाइसिस गर्नुपर्छ, त्यो यहाँ छैन भनेर मिशनका डाक्टरले भने’, सूर्यचन्द्रले भन्नुभयो, ‘थप उपचार गर्न पैसा पनि भएन, माया मारेरै उनलाई फर्काएको हो ।’ 

नर्मताका श्रीमान सूर्यचन्द्र ज्ञवाली

‘आशै मारेर उनलाई घर फर्काएको हो’, उहाले भन्नुभयो, ‘ठूलै अस्पतालमा उपचार गर्दा पनि निको नभएपछि मैले नै आशा मारेको हुँ । 

घर लाने क्रममा गंगाजल चढाउन छिमेकीले  नदी किनारमा लगेपछि आफू भने बजारमै बसेको उहाँको भनाइ छ । ‘म आफै बिरामी थिएँ, बाटैमा बसेँ । पछि एम्बुलेन्समा राखेर उनलाई ल्याएपछि म पनि अस्पताल आएको हुँ’, उहाँले भन्नुभयो, ‘आशै मारेको मान्छेलाई सबैको सहयोगमा अहिलेसम्म बचाउन सकिएको छ ।’ 

चमत्कार भयो : छिमेकी 

युनाइटेड मिशन अस्पतालबाट नर्मदालाई डिस्चार्ज गरी घर फर्काउँदा सँगै एम्बुलेन्समा गएका छिमेकी ठानेश्वर कँडेलले बिरामीमा अलौकिक शक्ति प्राप्त भएपछि यस्तो भएको बताउनुभयो । 

छिमेकी ठानेश्वर कँडेल

‘नाकबाट अक्सिजन चुँडाएपछि झन् हैरान परियो’, कँडेलले भन्नुभयो, ‘अक्सिजन थुतेपछि बाँचिनन् भन्ने अवस्थामा पुगेकी मान्छेमा एकाएक सुधारको चमत्कार आयो ।’ 

‘चिन्नै नसकिने बनेकी नर्मताको खुट्टा पानीमा चोबलेपछि फुलिएको शरीर एकैपटक घट्यो, सबैको आँखामा हेरेर उनी बोल्न खोजिन्’, कँडेलले बताउनुभयो । त्यति बेलासम्म नर्मतालाई एउटा तन्नामा भुईँमा सुताइएको थियो । 

‘अस्पतालका डाक्टरले पनि अब सम्भव छैन, बिरामीको मुखबाट अक्सिजन छुटाएको केही बेरमा बिरामीलाई जे पनि हुन सक्छ भनेका थिए’, कँडेलले भन्नुभयो, ‘नर्मताको ग्रह बलिया रैछन् ।’ 

युनाइटेड मिशन अस्पताल पाल्पाले भने नर्मतालाई अन्यन्त्रै उपचार गर्नका लागि आफन्तकै आग्रहमा डिस्चार्ज दिइएको विज्ञप्तिमार्फत जनाएको छ । केही समाचारमा अस्पतालका बारेमा भ्रामक खबरहरु आएको भन्दै मिशन अस्पतालले विज्ञप्ति निकालेर भ्रममा नपर्न समेत सबैसँग अपिल गरेको छ । 

अस्पतालकाे विज्ञप्ति

नर्मताको उपचार भैरहेको लुम्बिनी मेडिकल कलेजका प्रवक्ता कृष्णप्रसाद पराजुलीले उहाँको स्वास्थ्यमा सुधार हुँदै गएको जानकारी दिनुभयो । 

‘उपचारमा कुनै कसर बाँकी राखेका छैनाैँ', उहाँले भन्नुभयो, ‘सबैको कामना पनि यही छ, उहालाँई पुरानै अवस्थामा फर्काउन सकौँ ।’ 

घर भन्दै बिरामीलाई घाटमा पुर्‍याइयो : एम्बुलेन्स चालक कुँवर

मिशन अस्पताल तानसेनबाट बिरामीलाई घर लाने भनिएको एम्बुलेन्स चालक मोहनीलाल कुँवरले बताउनुभयो ।  

‘शुरुमा मलाई बिरामीको गाँउ सिद्धेश्वर जाने हो भनिएको थियो, रिडी पुगेपछि बिरामीलाई अर्धजल दिने भनियो’, उहाँले भन्नुभयो ‘आफन्तले पहिले नै अक्सिजन झिकिदिन खोजेका थिए, मैले हुँदैन गाडीमै मर्छ भनेपछि एकछिन रोकिएका हुन्’, एम्बुलेन्स चालक कुँवरले भन्नुभयो । चालक कुँवरका अनुसार बिरामीसँगै एम्बुलेन्समा रहेका एक जना आफन्तले गाउँमा फोन गरेर बिरामी एक डेढ घण्टामा मर्छ, सबैजना रिडी आउनु भनेर फोन गरेका थिए । 

त्यही फोनकै कारण गाँउलेहरुले दाउरा बोकेर रिडी घाट आएका हुन् । ‘मान्छे मरेकै छैन, दाउरा र घाट’ भन्दै रिडीका स्थानीय महिलाले पनि गाली गरेका थिए’, चालक कुँवरले घटनाका बारेमा सुनाउनुभयो । 

को हुन् नर्मता ?

नागरिकतामा नर्मदा नाम भए पनि उहाँलाई गाउँ र स्कुलमा सबैले नर्मता भनेर बोलाउँछन् । स्थानीय सिद्धेश्वर महादेव प्राविमा ७ वर्षदेखि पियन पदमा कार्यरत नर्मताका सोह्र, सत्र वर्षका दुई छोरा र ७ वर्षीया एक छोरी छन् ।  

दूषित पानीका कारण गाँउभरि फैलिएको झाडापखालाबाट बिरामी परेकी नर्मतालाई व्यथाले च्यापेपछि  मिशन अस्पताल भर्ना गरिएको थियो । 

याे पनि पढ्नुहाेस्

अन्तिम अपडेट: चैत १५, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया